अस्पतालमा मनपरी : महिनौंदेखि डाक्टर नै ‘गायब’

-राधेश्याम विश्वकर्मा

भैरहवा । रुपन्देही जिल्ला अस्पतालमा दरबन्दी भएका चिकित्सक नहुँदा बिरामीहरु सेवाबाट बञ्चित हुने अवस्था आएको छ । भैरहवास्थित जिल्लाको सरकारी अस्पताल भीम अस्पतालका स्त्रीरोग बिशेषज्ञ डा. ज्वाला थापा महिनौदेखि कार्यालयमा जानकारी नै नगराई गायब रहेको पाइएको छ ।

स्त्रीरोग बिशेषज्ञको रुपमा दरबन्दी भएको उनी यहाँ नभएको कारण उपचारमा अप्ठ्यारो आएको अस्पताल प्रशासनको भनाई छ । पछिल्लो समय निकै सुधारात्मक अवस्थामा देखिएको भैरहवा भीम अस्पतालको सेवा थापाकै कारण ओझेलमा पर्दैछ । दरबन्दी कायम रहेकाले सो पदमा करारमा पनि चिकित्सक राख्न नमिल्ने अस्पतालका मेडिकल सुपरिडेन्टेन नविन दर्नालको भनाई छ ।

दरबन्दी अनुसारका चिकित्सक भने नौं महिना हुँदा पनि ४४ दिन मात्र हाजिर गरिएको देखिएको छ । २०७४ साल कार्तिकमा डा. ज्वाला थापा स्त्रीरोग बिशेषज्ञ र उनका पति डा. विप्लव सापकोटा मेडिकल सुपरिडेन्टेनको रुपमा अस्पतालमा आएका थिए । २०७५ को चैतसम्म संगै काम गरेका उनीहरु चैतमा मेडिकल सुपरिडेन्टेन काठमाडौं काजमा गएकोले ज्वालाको पनि हाजिर अनियमितता बढदै गएको छ ।

२०७५ चैत्र १ गते देखि २०७६ बैशाख ३ गतेसम्म असाधारण बिदा बसेको उनी बैशाख महिनाभरि आठ दिन अस्पतालमा बसेकी थिइन । बैशाखको २९ गते देखि जेठको ६ गतेसम्म उनको हाजिर काटिए पनि डा.थापाले जवरजस्ती हाजिर गरेको अस्पतालको हाजिर पुस्तिकाबाट देखिन्छ । असार महिना प्रसुति काज लिएकी उनले उक्त महिनामा ३ दिन हाजिर गरेकी छन् ।

साउन महिनामा पनि तीन दिन नै हाजिर गरेकी थापा बाँकी दिन घर बिदा लिएर बसेको देखिन्छ । भदौ दोस्रो साता हाजिर भएकी उनी एक साता पछि पुनः काठ्माडौ काजमा गएको अस्पतालका प्रशासन शाखा प्रमुख गोविन्द ज्ञवालीले जानकारी दिए । भदौ पहिलो साता काजमा गएकी थापा अहिलेसम्म सम्पर्कमा नरहेको अस्पताल प्रशासनको भनाई छ । उनले न बिदा लिएकी छिन न कुनै प्रकारको काज नै छ ।

डा. ज्वाला थापा चैत्र पछि नै अस्पतालमा न आएको श्रोतको भनाई छ । बिच बिचमा एकदिन आउने, हाजिर गरेर जाने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन् । डा. ज्वालाको यो क्रियाकलापको कारण बिस्तारै सुधार हुँदै गरेको अस्पतालको सेवा फेरी प्रभावित भएको छ ।

एकजना स्त्री रोग बिशेषज्ञ दरबन्दी रहेको अस्पतालमा अहिले दरबन्दी अनुसारको चिकित्सक रहेपनि सो सेवा भने प्रभावित बनेको छ । स्त्री रोग सम्बन्धी सेवा अहिले अस्पतालमा कार्यरत अन्य मेडिक अधिकृतहरुबाट गराउनु परेको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट नविन दर्नाले बताए ।

“बैशाख देखि नै नियमित नभएको कारण उनको तलब रोकिएको रहेछ, तलब भुक्तानी भएको छैन,” दर्नालले भने । दर्नाल आफैं पनि स्त्रीरोग बिशेषज्ञ भएको कारण अस्पतालको प्रशासनिक काम देखि प्रसुतिसम्म आफैंले हेर्ने गरेको बताए ।

यसअघि अस्पतालमा बालरोग बिशेषत्रको दरबन्दी रहेको र दरबन्दी अनुसारको चिकित्सक नरहेकाले अस्पतालले करारमा बालरोग बिशेषज्ञ भर्ना गरेको छ । तर स्त्रीरोगमा भने चिकित्सक भर्ना गर्न कठिनाई आइरहेकोले अस्पताललको सेवामा समेत असर देखिएको छ ।

यस बिषयमा काठमाण्डौंमा रहेकी डा. ज्वाला थापाले आफु समायोजनमा परेर प्रदेश नम्बर ३ मा आएको बताइन । भदौदेखि नै अस्पतालमा हाजिर नभएको भन्ने प्रश्नमा उनले बिदा लिएको दावी गरेपनि अस्पताल प्रशासनले यस्तो कुनै बिदा नलिएको जानकारी दिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री