‘अबको तीन बर्षमा मर्चवारमा आमूल परिवर्तन आउँछ’

-राधेश्याम विश्वकर्मा
भैरहवा । प्रदेश ५ सरकारले मर्चवार क्षेत्रको बिकासमा बिशेष जोड दिने प्रदेश ५ सरकारका प्रवक्ता एवं भौतिक, पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताएका छन् ।

पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले अहिले बिकासमा नपरेका हुलाकी भन्दा दक्षिणका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । उनले गतबर्ष मर्चवार क्षेत्रमा ५ करोड रुपैयाँ बिनियोजन गरि बाटो निर्माण गरेकोमा यस बर्ष मर्चवारकै लागी १० करोड बजेट छुट्टयाइएको बताए । बेलबासबाट बेथरीसम्मको बाटोलाई मर्चवारको खैराघाटसम्म विस्तार गर्ने लक्ष्य प्रदेश सरकारले राखेको बताए । अब यसको विस्तृत डिपिआर गरि अबको ३ देखि ५ बर्ष भित्र मर्चवारमा आमूल परिवर्तन ल्याउने उनीहरुको योजना छ ।

मर्चवारमा स्थानीयसंग अन्तरक्रिया एवम मर्चवार प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्रीद्वयले एकै स्वरमा मर्चवारको बिकासमा कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले मर्चवारमा रहेको मर्चवारी देवी मन्दिरलाई पनि पर्यटकीय गन्तब्य बनाउन प्रदेश सरकारले बजेट छुट्टयाएको बताए । उनले लुम्बिनी आउने पर्यटकलाई मर्चवारी देवी मन्दिरसम्म पठाउन बिशेष किसिमका योजनाहरु ल्याउने जानकारी दिए ।

यसैबिच मन्त्रीद्वयले निर्माणाधीन बेलबास-बेथरी सडकको अवलोकन पनि गरेका थिए । सडक आयोजना अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले स्थानीय तहलाई अतिक्रमित घर हटाउन निर्देशन दिइएको र साइट क्लियर गरेपछि मात्र सडक निर्माण सहज हुने बताए ।

मन्त्रीद्वयले प्रदेश सरकारले पूर्वाधार विकासमा जोड दिएको उल्लेख गर्दै निर्माणाधीन सडक आयोजनालाई समयमै सम्पन्न गर्न, आयोजनाहरुमा हुने ढिलासुस्ती अन्त्य गर्न र गुणस्तरीय काम गर्नका लागि प्रदेश सरकारले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरिरहेको बताए ।

टिप्पणी थप्नुहोस्