मानव बेचविखन नियन्त्रण गर्ने नीति बनाउँदै स्थानीय

-सिराज खान
नेपालगन्ज । मानवबेचविखनले विकराल रुप लिंदै गएपछि नियन्त्रणका लागि बाँकेका विभिन्न स्थानीय तहहरुले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति निर्माण गर्न सुरु गरेका छन् ।

सो क्रममा सबैभन्दा पहिले खजुरा गाउँपालिकाले एक कार्यशालाको आयोजना गरेर मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि नीतिको मस्यौदा तयार गरेको छ । नीति निर्माण सम्बन्धि विशेषज्ञको सहभागितामा खजुरामा दुईदिने कार्यशालाको आयोजना गरेर नीतिको मस्यौदा तयार पारेको गाउँपालिकाले जनाएको छ ।

नीति निर्माण सम्बन्धी विशेषज्ञ रत्नाकाजी बज्राचार्यको उपस्थितिमा गाउँपालिकाका उपाध्यक्ष, कार्यकारी प्रमुख, वडा अध्यक्ष र सदस्य, गाउँ कार्यपालिकाका सदस्यहरु, न्यायिक समितिका सदस्यहरु, बाल क्लब र किशोरी क्लबका प्रतिनिधि, प्रहरी तथा महिला शाखाका प्रतिनिधि लगायत विभिन्न संघसंस्था प्रतिनिधिहरुको सहभागितामा दुई दिने कार्यशालाबाट नितिको मस्यौदा तयार पारिएको गाउँपालिकाका निमित्त अध्यक्ष एकमाया विकले बताइन् ।

मस्यौदालाई गाउँपालिकाको आगामी परिषदबाट पारित गरिने तथा कडाईका साथ कार्यान्वयनमा ल्याइने उनले जनाइन् । मानव बेचविखन नियन्त्रणका लागि कडा नीति आवश्यक रहेकोले काम अघि बढाइएको उनको भनाइ छ ।

मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धि नीति निर्माणका लागि आयोजना गरिएको दुईदिने कार्यशालाको समापनमा बोल्दै निमित्त अध्यक्ष विकले सो कुरा बताएकी हुन् । सोही अवसरमा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत बम बहादुर केसीले मानव बेचविखन समाजका लागि गम्भीर समस्या बन्दै गएकोले अब सबैले मिलेर कडाईका साथ नियन्त्रणमा जुट्नु पर्ने आवश्यकता औंल्याए ।

बाँके युनेस्को क्लबका सह निर्देशक साजिद अलि सिद्दिकीले समाजका लागि कलंक बन्दै गएको मानव बेचविखन जस्ता जघन्य अपराधलाई रोक्न नीति बनाएर कडाईका साथ पालना गर्नुपर्ने बताए ।

खजुरा गाउँपालिका महिला शाखाका कार्यक्रम संचालिका सुशिला न्यौपानेले ३२ जना आवश्यक सरोकारवालाहरुको सहभागितामा तयार गरिएको नीतिको मस्यौदा उत्कृष्ट रहेको बताइन ।

नीति निर्माण गर्ने कार्यमा बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको सहयोग कार्यशालाको आयोजना गरेको थियो । साथै बैजनाथ र कोहलपुर नगरपालिकामा पनि नीति तयार गर्ने योजना रहेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।

सीमावर्ती जिल्लाहरुमा मानव बेचविखन तथा ओसार पसार दिनदिनै बढ्दै गएको बेला स्थानीय तहले यस्ता निति निर्माण गर्नु निकै सकारात्मक कार्य भएको जनाउँदै यसले बेचविखन र ओसारपसार रोक्न अहम भूमिका खेल्ने माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए ।

टिप्पणी थप्नुहोस्