‘एक पटक मात्र हैन, पटक पटक रक्तदान गर्छौं’

-राधेश्याम विश्वकर्मा

भैरहवा । रुपन्देही सियारी गाउँपालिकाकी २१ बर्षीया कौशिल्या गुप्ता पहिलो पटक रक्तदान गर्ने क्रममा उनको मुहारमै अलि डराएको अनुभति रहेको हेर्न सकिन्थ्यो ।

रक्त संकलन गर्ने थैलो बोकेकी गुप्ताको पालो आएपछि त्यो डर बिस्तारै बढ्दै गयो । रगत संकलन गर्ने प्राविधिकको सान्तवनाका कुराले उनलाई केही आवश्सन दिएकोले नै होला अन्ततः गुप्ता पहिलो पटक रक्तदान गरिन । ‘के के न होला जस्तो लागेको थियो, सबै नर्मल नै रहेछ त’,रक्तदान पछि गुप्ताको पहिलो प्रतिक्रिया रहेको थियो ।

सियारीकी गुप्ता मात्र हैन पहिलो पटक रक्तदानको लागि लुम्बिनीबाट भैरहवा आएकी जगमति गुप्ताको पनि रक्तदानबारे उस्तै सोचाई थियो । सुरुमा केही डराएको जस्तो देखिएकी उनी रगत दिई सकेपछि हर्षित मुद्रामा देखिन्थिन । ‘रगत दिंदा गर्दा कमजोरी हुने, चक्कर लाग्ने जस्तो कुरा सुनेको थिएँ, त्यस्तो त केही भएन’, उनले भनिन् ।

रक्तदानबारे अझै पनि मधेश बाहुल्य क्षेत्रमा धेरै भ्रमहरु रहेको छ । महिलाको त कुरै छाडौं सामान्य स्वस्थ अवस्थाका पुरुषहरु पनि रक्तदान गर्न त्यति अग्रसर देखिदैनन् । यस्तो अवस्थामा गुप्ता जस्ता महिलाहरुको रक्तदानमा भएको अग्रसरतालाई ठूलो उपलब्धि मान्नुपर्ने नियमित रक्तदाताहरुको भनाई छ । आफ्नै स्वस्थ्यको लागी गरिने रक्तदानबारे अझै पनि दाताहरु त्यति सचेत हुन नसकेको उनीहरुको भनाई छ ।

हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदानबारे जनचेतना फैलाउने उद्देश्यले आफ्नो १३ औं स्थापना दिवसको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरेको थियो । यसमा बिशेषगरी पहिलो पटक रक्तदान गर्ने युवाहरुलाई सचेत गरी रक्तदान गर्न उत्प्रेरित गरिएको संस्थाका अध्यक्ष बसन्त कुमार लाल कर्णले बताए ।

उनले संस्थाका शेयर सदस्य, कर्मचारी र अन्य सर्वसाधारण गरि २६ जनाले रक्तदान गरेकोमा पहिलो पटक रगत दिनेको सहभागिता पनि उल्लेख्य रहेको बताए । ‘सहकारीले सँधै नयाँनयाँ काम गरी रहेको छ यस पटक रक्तदानमा युवालाई सचत गरौ न भन्ने लागेर पहिलो पटक रक्तदान गर्न प्रेरित गरेका हौं’, कर्णले भने ।

रुपन्देहीमा अहिले नेपाल रेडक्रस सोसाइटी अन्र्तगत दुईवटा ब्लड बैंकहरु रहेका छन् । एउटा बुटवलमा र अर्को भैरहवाकै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा रहेको ब्लड बैंकमा यथेष्ट रगत कहिल्यै हुँदैन । त्यसकारण यस्ता रक्तदान कार्यक्रमलाई रेडक्रसले पनि जोड दिएको नेपाल रेडक्रस सोसाईटीको रुपन्देही उपसभापति दिपक क्षेत्री न्यौपानेको भनाइ छ ।

उनले अझै पनि अस्पतालमा आउने बिरामीको लागि चाहिएकोरगतलाई शोध भर्नाको लागि आग्रह गर्दा कतिपय बिरामीका आफन्तहरु हच्किने गरेको बताए । समाजमा धेरै किसिमको दान हुन्छ ती सबै दानहरुमा अरुलाई जीवनदान दिने रक्तदान नै महान दान भएको न्यौपानेको भनाई छ ।

यस्तो अवस्थामा बिभिन्न संस्थाहरुले रक्तदान प्रति सचेतना फैलाउन आवश्यक रहेको उनले औल्याए । बिशेषगरी रुपन्देही जिल्लाको हकमा मधेशी समुदाय अर्था महिलाहरुले रक्तदानमा अग्रसरता देखाउनुले यसप्रति सकारात्मक सन्देश फैलाएको उनले बताए । पहिलो पटक रक्तदान गर्ने गुप्ताद्वयले पनि अब आफु भित्र रहेको डर हटेकोले अब पटक पटक रक्तदान गर्ने प्रतिवद्वता जनाए ।

टिप्पणी थप्नुहोस्