ग्रहण लाग्ने दिन सार्वजनिक बिदाको घोषणा

-राधेश्याम विश्वकर्मा

भैरहवा । भोली (विहीबार)हुने खण्डग्रास सूर्यग्रहणमा रुपन्देहीका स्थानीय तहले सार्वजनिक बिदा दिने घोषणा गरेका छन् । ग्रहणको समयमा स्वास्थ्यलाई नकारात्मक असर पार्ने किरणहरु निस्किने भएकाले सो दिन बिदा घोषणा गरिएको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र मायादेवी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् भने बुटवल उपमहानगरपालिकाले विद्यालयलाई मात्र स्थानीय बिदाबाट कट्टि हुनेगरी बिदा दिने निर्णय गरेको छ । सुर्यग्रहणको समयमा कतिपय दैनिक क्रियाकलाप निषेध गरिएको र यसले स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने हुँदा बिदा दिने निर्णय गरेको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए ।

यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने छ । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुने, बिहान १०ः०१ मा मध्य हुने र ११ः३१ मा समाप्त हुन्छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको जानकारहरुको भनाई छ । ग्रहणका बेलामा खानपिन लगायत महत्वपूर्ण काम निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे किरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

यसपालिको ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

टिप्पणी थप्नुहोस्