‘अब हामी सशक्त प्रतिपक्षमा’

काठमाडौं । समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीका दुई नेताले मन्त्रीबाट राजीनामा दिएको दोस्रो दिन आज(बुधबार) पार्टी अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सशक्त प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिए ।

संविधान संशोधन गर्ने सहमतिसहित सरकारमा सहभागी भए पनि आफ्नो मुद्दामा कुनै सुनुवाइ नभएपछि सरकारमा रहिरहनुको औचित्य समाप्त भएको निष्कर्षसहित पार्टीले समर्थन फिर्ता लिएको आज सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत उनले जानकारी दिए

“आज बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ, अब हाम्रो पार्टी प्रतिपक्षको भूमिकामा बस्ने जानकारी गराउँछु” अध्यक्ष यादवले पार्टीको निर्णय सुनाउँदै भने ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल २०७५ जेठ १४ गते सरकारमा सामेल भएको थियो । सरकारमा उक्त पार्टीबाट अध्यक्ष यादव उपप्रधानमन्त्री एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री थिए भने अर्का नेता मोहम्मद इस्तियाक राई शहरी विकासमन्त्री थिए । यसअघि यादव उपप्रधानमन्त्रीसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत भएका थिए ।

समाजवादी पार्टीद्वारा जारी विज्ञप्तिमा यही पुस ७ गते संविधान संशोधनका लागि आवश्यक गृहकार्यका लागि संविधानविद् सम्मिलित विज्ञ सुझावसमिति गठन गर्न मन्त्रिपरिषदमा गरिएको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरी दुईबुँदे सहमतिबाट पछाडि हटेकाले सरकारबाट बर्हिगमन भएको उल्लेख छ ।

अबको बाटोबारे पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले संसद प्रतिपक्षमा रही रचनात्मक र सिर्जनात्मक रुपले सकारात्मक भूमिका निर्वाह गर्ने बताए । मुद्दा स्थापित गर्न सदन र सडकबाट शान्तिपूर्ण र अहिंसात्मकरूपमा प्रस्तुत हुने उनको भनाइ छ । यसअघि पटक–पटक प्रधानमन्त्रीलाई भेटेर मागपत्र दिएको तथा संसद्, मन्त्रिपरिषद्, पार्टी–पार्टीबीच कुराकानी भए पनि संविधान संशोधनको विषयमा कुनै सुनुवाइ नभएको यादवले जिकिर गरे ।

पत्रकार सम्मेलनमा सोधिएको अर्को जिज्ञासामा अध्यक्ष यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सरकारमा जान्छ भन्ने आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए ।

टिप्पणी थप्नुहोस्