नयाँ बर्षमा पौवाको नयाँ कार्यक्रम

भैरहवा । बजार बिस्तारमा आक्रमक देखिएको होटल पौवा भैरहवाले अंग्रेजी नयाँ बर्षसंगै नयाँ योजनाहरु सार्वजनिक गरेको छ ।

बिशेषगरी सरकारले तोकेको नेपाल भ्रमण बर्ष २०२० र प्रदेश ५ सरकारको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई लक्षित गर्दै पर्यटकमैत्री योजनाहरु पौवाले सार्वजनिक गरेको छ ।

यसको सुरुवात अंग्रेजी नयाँ बर्षसंगै हुने होटल पौवामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । होटल पौवा भैरहवाले अंग्रेजी नयाँ वर्ष २०२० को पूर्वसंध्यामा नयाँ वर्ष बिशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत तथा संस्कृति संरक्षण गर्ने भन्दै होटल पौवाले सांस्कृतिक कार्यक्रम गर्न लागेको जनाएको छ ।

होटल स्थापनाको वर्षदेखि नै विविध सांस्कृतिक कार्यक्रमहरु गर्दैै आएको होटल पौवाले यसवर्ष राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुका साथमा सांस्कृतिक कार्यक्रम गर्न लागको होटलका महाप्रबन्धक विष्णु भण्डारीले बताए ।

भण्डारीका अनुसार राष्ट्रिय गायक प्रमोद खरेल, लोकदोहोरी गायिका टिका प्रसाईं, हास्य कलाकार राजा राजेन्द्रले कार्यक्रममा आ–आफ्नो प्रस्तुती राख्नेछन् । त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहनेछ । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था रहेको पौवाले जनाएको छ ।

यसका साथै भ्रमण बर्षलाई लक्षित गरि नेपालका रैथाने खानाको परिकारका साथ पर्यटकलाई सेवा गर्न आफुहरु आतुर रहेको शुभ ओम कम्पनी प्रालिका अध्यक्ष हरि बहादुर थापाले बताए ।

उनले अहिले पौवामा भएका खानाहरुलाई परिमार्जन गरी नेपालकै खानाहरुको बारे बिदेशी पाहुनालाई जानकारी गराउने उद्देश्यसहित रैथाने खानाको ब्यवस्था गर्न लागिएको जनाए ।

प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण बर्षको अवसरमा प्रवद्र्धन गरेको सुजाता खीरलाई पनि होटलले आफ्नो नियमित परिकारमा समेटने बताएको छ । होटलले खीर सहित २० प्रकारका रैथाने परिकारको व्यवस्था गरेको र आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष छुटको व्यवस्था गरिएको होटल पौवा प्रालिका प्रबन्ध निर्देशक विष्णु प्रसाद ज्ञवालीले बताए ।

होटल पौवाले प्रदेश ५ पाँचका विभिन्न ८ ठाँउबाट सेवा प्रदान गर्दै आएको छ । पाल्पाको तानसेनमा केही दिनमै सेवा सुरु गर्ने तथा गुल्मीको रेसुङ्गामा पनि अन्र्तराष्ट्रिय स्तरको रिसोर्ट बनाउने तयारी सहित काम अगाडी बढाएको पौवाले आगामी १०/१५ वर्षमा देशभरैमा एक सय शाखा खोल्ने तयारीका साथ कम्पनी अगाडि बढेको प्रबन्ध निर्देशक ज्ञवालीले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्