कांग्रेसले १४औं महाधिवेशनको मिति तोक्यो

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको मिति तोकेको छ । असन्तुष्ट पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरिरहेका बेला मिति तोकिएको हो ।

शुक्रबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा असन्तुष्ट समूहको अनुपस्थितिबीच बसेको केन्द्रीय समिति बैठकले २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्नेगरी मिति घोषणा गरेको हो ।

यस्तै, बैठकले केन्द्रीय विभागहरु थप्ने निर्णय गरेको छ भने भातृसंगठन तरुण दलको म्याद ६ महिना थपेको छ । बैठकमा २८ बाट बढाएर ४१ विभाग गठन गर्ने सभापति शेरबहादुर देउवाको प्रस्ताव पनि पारित भएको छ ।

नेविसंघबारे निर्णय गर्ने अधिकार भने पार्टी सभापति शेरबहादुर देउवालाई दिएको जनाइएको छ । आन्तरिक विवाद समाधान नभएको भन्दै असन्तुष्ट पक्षले शुक्रबार पनि केन्द्रीय समितिको बैठक बहिस्कार गरेको थियो ।

आन्तरिक विवाद समाधान नभएसम्म बैठकमा सहभागी नहुने भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बोलाएको बैठक बहिस्कार गरेको हो ।

दिउँसो पूर्वमहान्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको असन्तुष्ट पक्षका नेताहरुको बैठकले सभापति देउवा विवाद समाधान गर्न तत्पर नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेको थियो ।

गएको मंसिर २६ गते बसेको बैठकमा सभापति देउवाले प्रस्ताव गरेका विभागहरु, विभागको नेतृत्व र भातृसंगठनको तदर्थ समिति गठनलगायतका विषयमा इतर पक्षको असहमति छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला समुहले बैठक बहिस्कार गरेपछि बसेको यो बैठकमा निर्णय गर्दा पनि वरिष्ठ नेता पौडेल र सिटौला पक्षधर नेताहरु भने सहभागी थिएनन्।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री