रुपन्देहीका १६ उद्योग विद्युत प्राधिकरणको शिकार

-राधेश्याम विश्वकर्मा

भैरहवा । नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ्गले अर्को बर्ष देखि खपत नभएको विद्युत बेच्ने योजना बनाइरहँदा प्राधिकरणकै गलत नीतिका शिकार रुपन्देहीका १६ वटा उद्योग बनेका छन् ।

विद्युत प्राधिकरणले उद्योग नै बिस्थापित हुने अवस्थामा पुर्‍याएको उद्योगीहरुले गुनासो गरेका छन् । विद्युत प्राधिकरणले उद्योगीलाई झुक्याएर अनावश्यक विद्युत महशुल लादेको उनीहरुको आरोप छ ।

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक समस्या मिलान गर्ने क्रममा बुटवल-भैरहवा करिडोरमा रहेका १६ वटा उद्योगलाई ठूलो जरिवाना लगाएको खुलेको छ ।

२०७५ सालदेखि नेपाल विद्युत प्राधिकरणले यी १६ वटा मध्ये १४ उद्योगबाट २७ करोड बढी रुपैंयाँ विद्युत वक्यौता बाँकी रहेको बताउँदै पत्र काटेको छ । २०७४ साल चैत्रमा नेपाल विद्युत प्राधिकरणले आन्तरिक लोड ब्यवस्थापन गर्न रुपन्देहीका भरौलिया सब स्टेशनलाई अमवा सब स्टेशनमा जडान गर्ने क्रममा १६ वटा उद्योगलाई ट्रंकलानमा जोडेको थियो ।

यसअघि साविक सुविधामै उद्योग संचालन गर्दै आएका उद्योगीलाई यसले कुनै अतिरिक्त शुल्क नथपिने तत्कालिन बितरण केन्द्र प्रमुख उमेश कुमार झाले आवश्वसन दिएका थिए । बिद्युतको आन्तरिक समस्या भएको कारण उसले भार मिलान गर्दा उद्योगीलाई पनि समस्या भएन ।

तर ट्रंकलाइनको लागि उद्योगीहरुले कुनै माग नै नराखे पनि २०७४ सालमा सो लाईनमा जोडिएका उनीहरु अहिले २०७६ सालमा आएर नियमित शुल्क भन्दा करिब ६७ प्रतिशत बढी शुल्क तिराउन बाध्य पारिएको छ ।

यति मात्र हैन ट्रंकलाईन जोडिएको अवधि देखि नै विद्युतले पठाएको बिल भुक्तान गरी रहेको उद्योगीलाई करोडौं बाँकी रहेको बक्यौता तिर्न पनि ताकेता गरिएको छ । उद्योगीहरुले ट्रंकलाइनको लागि दिएको २४ घण्टे सुविधा उपभोग गरेका कारण शुरुको मितिदेखि नै उनीहरुले बिल तिर्नुपर्ने विद्युत प्राधिकरणको जिकिर छ ।

यता उद्योगीहरुले उक्त कुरा मानेका छैनन् । उनीहरुले विद्युत कार्यालयले तोकेको शर्त बमोजिम नै विद्युत उपभोग गरेको दावी गरेका छन् ।

बुटवल–भैरहवा उद्योग करिडोरका १६ उद्योगले नेपाल विद्युत् प्राधिकरणले एकतर्फी रुपमा लगाएको ट्रंकलाइन विद्युत आफूहरूलाई आवश्यक नभएको भन्दै जबर्जस्ती लाद्न खोजे उद्योग नै बन्द गर्ने चेतावनी दिएका छन् ।

एभरेष्ट रोलिङ इण्डस्ट्रिज (एभरोल)का प्रबन्ध निर्देशक एवं सिद्धार्थ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अरुण गोयनकाले एकतर्फी रुपमा लगाइएको ट्रंकलाइन र त्यसको महशुल तिर्न आफूहरू बाध्य नहुने र जबर्जस्ती गर्न खोजिए उद्योग नै बन्द गरी तालाचाँबी सरकारलाई बुझाउने बताए ।

आफूहरूलाई ट्रंकलाइनको विद्युत् आवश्यक नभएको र पुरानै ३३ केभीएको साधारण लाइनबाट पुरानै दरमा विद्युत् महशुल भुक्तानीको व्यवस्था मिलाउनुपर्ने माग त्यस करिडोरका उद्योगीहरूको छ ।

पञ्चकन्या स्टिलका महाप्रबन्धक देवेन्द्र साहुले पनि प्राधिकरणले कुनै जानकारी मंसिर महिनाको बिलमा ट्रंकलाइन अनुसारको महशुलको बिल पठाएको बताए । उनले ट्रकलाई जोडेको बताए पनि उद्योगले अहिले पनि बिद्युत अनियमितताका नोक्सानी ब्यहोरेको गुनासो गरे ।

सरकारले राजस्व मा हेरेको उद्योगीहरुको अरोप छ । सरकारको यो कदमले यस करिडोरमा रहेका उद्योगको २५ अर्ब बढी लगानी जोखिममा परेको उद्योगीहरुको भनाई छ ।

यता नेपाल बिद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले ट्रंकलाई बारे उद्योगीहरुलाई जानकारी गराएको दावी गरेका छन् । उनले उद्योगीहरुले पिक आवरमा पनि उद्योग सञ्चालन गरेकोले नेपाल बिद्युत प्राधिकरणको सञ्चालक समितिको निर्णयले नै बक्यौता सहित ट्रंकलाईनको महशुल असुल उपर गर्न पत्राचार गरिएको बताए । उनले कार्तिक १६ गते बसेको प्राधिकरण सञ्चालक समितिको ८ सय ९ औं बैठकले बक्यौता रकम असुल गर्न निर्णय गरेको जानकारी दिए ।

भैरहवा–बुटवल उद्योग करिडोरमा पञ्चकन्या समूहको प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल उद्योग, सोना प्याकेजिङ, एसआर स्टिल, नव नेपाल प्लास्टिक, शुभलक्ष्मी पोलिमर्श, नेशनल ट्रेड रबर इन्डस्ट्रिज, जय दुर्गा प्लास्टिक, सोना पोलिमर्श, यशोधा फुड, प्रिया प्याकेजिङ, एजिहेल्थ इण्डस्ट्रिज, एभरेष्ट रोलिङ, लुम्बिनी फ्लोर मिल, फेरोस्टिल प्रालि, लुम्बिनी पिएसी इण्डस्ट्रिज लगायत रहेका छन् । भैरहवाको पडसरीदेखि मधौलिया क्षेत्रको आठ किलोमिटरमा यी उद्योगहरू छन् ।

टिप्पणी थप्नुहोस्