बेलहिया नाकामा पर्यटकलाई स्वागत, लुम्बिनी भ्रमणमा छुट

-राधेश्याम विश्वकर्मा

भैरहवा । नेपाल भ्रमण बर्षको अवसर पारी भैरहवाका पर्यटन ब्यवसायीले बेलहिया नाका हुदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई स्वागत गरेका छन् ।

सरकारको तर्फबाट कुनै प्रयास नभए पनि सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवा र सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्सले संयुक्त रुपमा नेपाल भित्रिने पर्यटकलाई स्वागत गरेका हुन ।

अंग्रेजी नयाँ वर्ष सन् २०२० लाई स्वागत गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा पनि गरिएको हो । लुम्बिनी विकास कोषले एक कार्यक्रमको आयोजना गरी लुम्बिनी भ्रमणमा आएका भुटानी र चिनियाँ पर्यटकहरुको एक टोलीलाई स्वागत सत्कार गर्दै नेपाल सम्पर्क एवं सूचना प्रमुख हरिध्वज राईले पर्यटकको टोलीलाई लुम्बिनीबारे विस्तृत व्याख्या गर्दै मायादेवी मन्दिरको भ्रमण गराएका थिए ।

यस्तै लुम्बिनी बिकास कोषले पहिलो दिन मायादेवी मन्दिर दर्शनको लागी आउने पर्यटकलाई प्रवेश निशुल्क गरेको थियो । कार्यक्रममा लुम्बिनीका पर्यटन व्यवसायीले पनि पर्यटकको टोलीलाई स्वागत गर्दै डुङ्गा शयर, लुम्बिनीको चिनो वितरण, पथप्रदर्शन एवं यातायातको सुविधा निशुल्क प्रदान गरेका थिए ।

लुम्बिनी बिकास कोषको निमित्त सदस्य सचिव सरोज कुमार भट्टराईले नेपाल भ्रमण बर्षको अवसरमा बृहद लुम्बिनी गुरुयोजना अब समापनतर्फ लागेको जानकारी दिए ।

लुम्बिनीका होटल ब्यवसायीहरुले नेपाल भ्रमण बर्षको अवसरमा तीन रात र चार दिनको बिशेष प्याकेजको पर्यटकिय प्याकेज घोषणा गरेका छन् । ६ हजार ५ सय रुपैया देखी ७ हजार ५ सय रुपैया सम्ममा स्वदेशी वा बिदेशी नागरिकले उक्त प्याकेज खरिद गर्न सक्ने लुम्बिनी होटल संघ नेपालका महासचिव लिलामणि शर्माले जानकारी दिए । प्याकेजमा होटलको बसाई, खाना, देखी बुद्ध सर्किटको लागी तोकिएको बस शुल्क समेत समावेश गरिएको छ ।

प्याकेजमा लुम्बिनी मात्र नभई कपिलवस्तु र लुम्बिनी आसपासका ग्रामीण क्षेत्रलाई पनि समेटिएको शर्माले जानकारी दिए । लुम्बिनी आसपासका ११ वटा बौद्धकालीन गाउँहरु भ्रमण गराउने, चरा दृश्यावलोकन, बिभिन्न पुरातात्विक साईटहरुको अवलोकन, कपिलवस्तु लगायतका बुद्ध संग सम्बन्धित क्षेत्र अवलोकन, लुम्बिनीमै रहेको बिभिन्न गुम्बाहरु अवलोकन लगायतको कार्यक्रमहरु प्याकेज अन्र्तगत समावेश लुम्बिनी होटल ब्यवसायी एशोसिएसनका महासचिव लिलामणि शर्माले बताए ।

संघमा आवद्ध लुम्बिनी क्षेत्रका ८० वटा होटलले ४ हजार २ सय सैयाको सुविधा प्रदान गरेका छन् । लुम्बिनीका पर्यटन व्यवसायीहरुले सन् २०२० मा पर्यटकहरुलाई होटल, यातायात, उपहार साम्रगी, पथप्रदर्शन लगायतमा १० देखि २० प्रतिशतसम्म छुटको समेत घोषणा गरेका छन् ।

टिप्पणी थप्नुहोस्