धानको बियाँ

-पुण्यसागर मरहट्टा

डाउनटाउन टोरोन्टोमा गाडी कुदाउनै सारो छ त्यसैले सित्तिमित्ति म गाडी लिएर शहर पस्दिन । पस्नै पर्दा पनि शनिवार, आइतवार वा सार्वजनिक बिदाका दिनमा घंचमंच कम हुने दिनमा पस्छु । आज त झन् यस्तो ठाउँमा आउनुथियो, मैंले गाडी कुदाएर यति वर आउने चाह नगरेकै हो । रोजगारदाताको नियामानुसार पाउने सुबिधाले ट्याक्सी खर्च पाउने हुँदाहुँदै किन रिक्स र टेन्सन लिनु ? यस्तै सोच थियो र त आज यो कथा भन्नु पाइयो ।

म हरिराम खतिवडा । साँस्कृतिक रुपले नेपाली । जन्मेको रे गुवाहाटी, असममा । खोई किन पो हो जतिखेर मैंले आफुलाई चिनें, म त बेलडाँगीमा बस्थें । तर जतिखेर बाबा मारिनु भयो ,त्यतिखेर हामी भुटान गेलेफुबाट उत्तर जिग्मेछोलिंगमा बस्थिम अरे । आज क्यानेडियन मेन्टल हेल्थ एसोसिएसनको न्यासनल कन्फरेन्सबाट घर फर्किंदै गर्दा जुन ट्याक्सी बोलाइयो, त्यो ट्याक्सीको ड्राइभरसँग करीव ४५ मिनेटको सहयात्राले मलाई यो कुरो सम्झिन उल्क्यायो ।

‘आई ह्याउ एंजिनृङ्ग डिग्री फ्रॉम पंजाब एंजिनृङ्ग कॉलेज एण्ड वाज प्रैक्टिसिंग इट अंटिल आई गॉट इम्मीग्रेटेड टू कनाडा ।’ गुरकीरत सिंह आहलूवालिया भन्ने नेमट्याग झुण्डयाईएको ट्याक्सीको चालकले भन्यो। सयकडा असी उसको दाह्री सेतो थियो । कुरो रोचक लाग्यो र सोधें–हम वैसे तो नेपाल से हैं, इंजीनियर भी हैं नही मगर जानते हैं उस कलेजकी आन, बान और शानको। डिग्रीमे कोई खामियां थी क्या ? नहीं तो इंजीनियर तो लाखों हैं टोरोंटोमें जो इंजीनियरिंग काम जो कर रहे हैं । स्वाभाविक चिढ़ र पंजावी थेगो सहित जवाफ आयो ‘बैण’ इस शहरका हरकोई बन्दा कहानी बगैरका हो नहीं सकता ।’ खुल्दुली जगाउन काफी हुन्छन यस्ता छोटा छोटा यात्रा समेत ।

खुल्दुली लागेरै पनि बेसी सोध्ने मन थिएन मलाई । किनभने मलाइ थाहा छ–केश बनाउने हजाम, गुवा बनाउने पन्वारी र ट्याक्सी चालकलाई बोल्नु दिनु भनेको आफु मन लागि नलागी सुन्न तयार हुनु हो । आहलुवालियाजी गाडी असी किमी प्रतिघन्टामा कुदाएर सोही रफ्तारमा आफ्ना कथा सुनाउन लागे । सन् दुई हजारको दशकको सुरुवातीमा क्यानाडा आइपुगेका उनी सुरुमा एक निर्माण कम्पनीमा काम गर्थे अरे । कम्पनी राम्रै चल्दै थियो अरे । क्युबेक राज्यको कोनी कता बाटोको सुपरभिजन समेत गरे अरे।

सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीका उनले काम गर्ने कम्पनी टाट उल्टियो रे । उनी लगायत ३८ इन्जिनियर एकैबाजी बेगारी हुन पुगे अरे । ठेट पन्जाबी उच्चारण र हल्का छाडा शव्द साथ गुरकिरतले जे जे सुनाए, त्यो सबै सुनाउँदा त एक बेजोडको कथा बन्दो हो, जम्मा आदी घण्टाको हाइवे ड्राइभमा उनले जे सुनाए गाडीकै रफ्तारमा, त्यसको लघुकथा रुप यहि थियो ।

कसरी उनी क्यानाडा आए, के कति कारणले यो सेवा क्षेत्रमा आए, ती सबै त भन्न भ्याए, तर ती सबै कतै न कतै हरेक आप्रवासीले भन्ने कथासँग मिल्थ्यो । मैंले सुनेका आधारमा उनको कथाको निचोड ‘मेहेनत गर्न छोड्नु हुन्न, ईश्वरले परिक्षा लिई रहन्छन । आफु डग्नु हुन्न र त्यहि लगनका कारण एक दिन अवश्य आफुले चाहेको नतिजा पाईन्छ’ भन्ने नै रह्यो । गुरकिरतकि जेठी छोरी दक्षिण अफ्रिकामा मेडिकल रेसिडेन्सी गर्दै छिन् रे, छोरो तान्जानियामा इन्जिनियरिङ काम गर्दैछ रे, । कान्छी लुधियानामा मेडिकल थर्ड एअर पढ्दै छिन् रे ।

एउटा दक्षिण एसियाली परिवार जसको सपना छोरी डाक्टर र छोरो इन्जिनियर बनाउने हुन्छ, पुरा हुँदै भएकोले होला, गुरकिरत किञ्चित दुखित थिएनन् । सरदार, भोकै बस्छ, मागेर खाँदैन बरु जुनसुकै श्रम पनि मेहेनत साथ गर्छ समेत भन्न भ्याए । मिटरमा उठेको पैसा तिरेर न उत्रिउञ्जेल उनी रेडियोकर्मी माफीक बोलिरहे, फरक यति थियो, यस कार्यक्रममा कमर्सियल ब्रेक थिएन।

घरमा पस्नासाथ सबैभन्दा पहिले बलेले स्वागत गर्न आयो । बले हाम्रो परिवारको चारखुट्टे सदस्य ल्याब्राडोर जातिको । हातगोडा धोएर एक कप कफी बनाएर बसें काउचमा । बल्ल साँझको साढे पाँच हुँदै थियो । अवन्थिका आउनु अझै डेढ घन्टा बाँकी होला । यस्तै सोच्दै थिएँ म, कुनबेला आफ्नो बिगतमा फर्किएँ, पत्तै भएन। म उता जिग्मेछोलिंग उतिसारो सम्झिन्न । मन नपरेर होइन कि मेरो उमेर सानै भएकाले। मुश्किलले त्यहाँको हिन्दु स्कुल, गेलेपु जाने घुमाउरो बाटो, आर्मी आएको, आमाले मलाई पिठ्यूँमा बोकेर रातारात हिडेको, हिन्नु नसक्दा ठुल्दिदी, सान्दिदी र माल्दाजुलाई ठुल्दाजुले, तल्लाघरे आले बडाले र प्रधान बाजेले पालैपालो बोकेको सम्झिन्छु। अहिले लाग्छ पाँच बर्षे मैले त्यति सम्झिनु पनि लाखै होला हौ ?

मलाई बाबालाई किन र कोल्ले मारे पनि थाहा छैन् । किन हामीले आफ्नो माटो छोडेर खेदिनु परेको हो पनि थाहा छैन । किन बेलडाँगीमा स-साना झुप्रामा आफ्ना र आफन्तका सपना उमारेर बस्नु परेको थियो पनि थाहा छैन ।

जब काका बडाहरुले, दाजु दिदीहरुले बेलडाँगीमै स्कुल बनाउनुपर्छ भनेर लागे, रतुवा तरेर बाँसका भाटा, सिरु बोक्नु गाको, जुकाले खाएको, मद्धम मद्धम सम्झना चैं छ। पढ्नुपर्छ भन्ने चेत शायद त्यसैले घुस्यो पो होला । सन् २००२ तिर क्याम्पको स्कुलले धित मरेन । म र तिलक क्याम्पबाट भागेम र दमक गएम। दमकका एकजना ढकालथरी बाबैकोमा खाना बनाउन भाँडा माझ्नु बसें म, तिलक त्याँ देखि पर सिलीगुडी जान्छु भनेर हिनो, कता पुगो चालमाल थाहा भएन नि पछिसम्म । ढकाल बाबै मजाका हुनुहुन्थ्यो, छोराछोरी दुवै अष्ट्रेलियामा थिए उहाँका । भेटको पहिलो दिन नै कहाँ हो घर भन्नु भएको थियो बाबैले ।

मेरो घर थिएन, जता भन्दा पनि भैजान्थ्यो तैपनि बाहुनडाँगी क्याम्प भनेको हुँ मैंले । लु, भागेका पो रहेछन क्यारे, अप्ठेरो पो पर्ने हो कि भन्ने जस्तो भो बाबैलाई । मैंले बुझें र भनें–‘बाबा, म त टुहुरो हुँ, बाबालाई उतै पोलेर हिँडेको। ठुल्दाजु गुरिल्ला बनिर्छन, आमालाई रोगले गाँजी पो सको, उता फिर्किने छाँट देखिन । पढेर ठुलो मान्छे हुने धोको छ । मलाई भाँडा मोल्ने, खाना पकाउने काम दिनुस कि, तलब चाहिन्न, बोडिंग पढ्छु, पढाईदिनु ।’ बाबैलाई आफ्ना सन्तान नपढेको तोड थियो । मेरो कुरो घत लाग्यो, भन्नुभो- हेर केटा, यहाँ त सानो ठाउं ,सबैले सबैलाई चिन्छन । मेरो काठ्मान्डुको घरमा बसेर उतै पढ्ने हो भने बिचार गरौँला ।’ मलाई जहाँ गएर होस् पढ्नु थियो, नर्कै पनि किन नहोस् । भोलिपल्टै नाइटबसमा चढेर बाबै र म काठमान्डौ गयौं । मैले त्यहींको एउटा लोकल स्कुलबाट एसएलसी गरें र प्लस टु समेत सकें। प्लस टु पढ्न नेपाली कागजात चाहिन्थ्यो, ढकाल बाबैले सिफारिस गरिदिनुभयो। म उहाँको आफन्ती भएको एउटा प्रमाण ताप्लेजुङ्ग तिरबाट झिकाइदिनुभयो । सहि गलत जे गर्नु भयो, मेरो भविष्यकको लागि गरिदिनुभयो। मैले प्लस टु समेत सक्दा सम्म बाबैको घर बसें। एकदिन बाबैले नै भन्नुभो-हेर् केटा,अब तँलाई मैले बिदा गर्नैपर्छ। म सँग यसरी बस्दा तेरो भविष्य अब यहाँ भन्दा उज्यालो हुँदैन। अझ चम्काउने हो भने अब तैंले घरायसी नभई कुनै ब्यबसायिक काम गर्दै पढ्दै गर्नु बेस हुन्छ।’

बाबैका कुराले मलाइ छुयो। म निस्किने भएँ । एकबाजी क्याम्प गएँ, आमालाई सेलाउन गएझै भयो । अथवा आमाको सास मलाई कुरेर बसेको रहेछ भन्दा पनि भयो । म पुगेको दोस्रो दिन बिहानै आमा गईन, ठुल्दाजु बिपत्ता भैसकेका थिए । दिदीहरु कोइ कता कोइ कता क्याम्पकै मान्छेहरुसँग गएर सेट भैसकेका थिए । आमा सेलाउन भेनाहरुले पनि सघाए । आमाको किरिया गरीवरी म फर्किंदा खोइ किन हो कुनै ग्लानि भएन। एक प्रकारको फुक्काफाल अनुभव पो भयो । आमा पोलेर हिँडेको खुसी कसैलाइ हुँदैन, मलाई पनि थिएन। तर, लाग्यो, आमा हुन्जेल मलाइ घर नामक यो क्याम्पले बोलाउँछ । अब त गए माइल्दाजुको हात टिको लगाउन जानु हो कि त दिदी-भेनाहरुको हातको ।

अचम्म लाग्यो, घर भन्ने त्यस्तो चिज हुने रहेछ। आफ्नै माटोमा बनेको, आफ्नै बाउआमा भेटिने पो घर, अरु सबै झुप्रा । यस्तै कुरा मनमा खेलाउंदै म काठमाडौँ उत्रें। काठमाडौँमा अब ढकाल बाबैकोमा यसो पर्व छोप्न बाहेक अरुबेला जाने कुरो थिएन। तर काठमाडौँ ढकालबाबै जस्तो दयावान किन होस् ? मैले काठमाडौँको अत्यन्त कुरुप, विभेदकारी र स्वार्थी रुप समेत देखेको छु । तथापि मैंले परिश्रम गर्ने नाममा सबथोक गरें । होटेलको बेरा बनें, लोकल रोटी दोकानहरुमा रोटी पोलें । ठमेलका होटेलहरुमा हाउसकिपिंङको काम गरें। पढाई छोडिन। मेरो घर थिएन तर पढ्न घर बाधक थिएन। निकै रात कहिले कसैको, कहिले कसैको कोठामा पुगेर बिताएको छु । हाउस किपिंङको काम गर्ने हुँदा होटेलमा सुतेको पनि निकै याद आउँछ।

कहिलेकाहीं त लाग्थ्यो र आज पर्यन्त लागिरहन्छ- घर हुन कि त्यहाँ आमा हुनुपर्छ कि जहान परिवार। नत्र घर केवल रित्तो कोठाहरुको संग्रह हो । जस्तो अहिले किनभने अवन्थिका कामबाट फर्किसकेकी छैनन्। बले छ, तर बले अल्छी मानेर मेरो खुटा मुनी लमतन्न सुतेको छ । म उठेर हिंड्दा पछिपछि लाग्नु बाहेक बलेलाइ अरु गर्ने जाँगर छैन । यति भन्दैगर्दा मूलढोकामा साँचो घुसाएको आवाज आयो, बले हुत्तिदै ढोकामा पुग्यो । हामीले थाहा पायौं–अवन्थिका आइन । अवन्थिका कुमारालिङ्: मेरी जीवनसाथी। मेरी अर्धाङ्गिनी, उनैको प्रेमले तानिएर म क्यानाडा आइपुगें । अरु थुप्रै मेरा आफन्तजनको भन्दा अलग छ मेरो क्यानाडा आगमन र यहाँको स्थाई बसाई।

सन् २००८ तिरै हो हाम्रा क्याम्पका मान्छेहरुलाई आइओएमले तेस्रो मुलुकमा लग्न थालेको । तर, खोइ धेरैलाई अन्यौल थियो, केही उडे, धेर छुटे । त्यस्तै भो । म त काठमाडौँमै थिएँ, माल्दाजु २००९ तिर अष्ट्रेलिया तिर गए। त्यसको लगत्तैजसो दुई दिदीका जोडीले नै नर्वे भेटे अरे भन्ने सुनें । भान्जा भान्जी लिएर उनीहरुपनि २०१० तिर नर्वे गए । काठमाडौँ एअरपोर्टमा भेटेर छाँद हालेर रोइयो नि हौ ? गर्नु सक्ने अरु केहि भा पो । भान्जा भान्जीलाई एक छाक मिठो मसिनो खुवाउनु पनि नसक्ने आफुलाई धिक्कारें । तर पढ्नु छोडेको थिइन। साइकोलोजी मेजर लिएर मास्टर्स पढ्दै थिएँ । एकदिन ठमेलमा हिंड्दै गर्दा जेपी स्कुलको गेटैनेर एक बान्की परेकी धमीलो वर्णकी उतै झापातिर कि सन्थाल जस्ती तर चिटिक्क लुगा लगाएर हिंडेकी केटीसँग अनायास आँखा जुध्यो ।

आम नेपाली केटीहरु भए या त आँखा झुकाएर वा धारे हात लगाएर आफ्नो बाटो लाग्दा हुन्, यी केटीले त्यसो गरिनन् । उल्टै अंग्रेजीमा सोधिन– तिमीसँग कथा छ, तिम्रा आँखा मलाई त्यहि सुझाईरहेछन । हिमालयन जाभामा बसेर मलाइ त्यो कथा सुनाउने फुर्सद छ ? म अझै उनलाई नेपाली मान्दै थिएँ र नेपालीमा जवाफ दिएँ । उनले भंगीमा मात्र देखाइनन, भनिन पनि– मैले तिम्रो भाषा बुझिन, तिमी अङ्ग्रेजी ह्यान्डल गर्न सक्छौ ? म विश्वस्त भएँ, यी नेपाली होइनन् तर कुइरे पनि होइनन्। यिनै थिइन् अवन्थिका जो केटाकेटी छँदै विधुवा आमाको पछि लागेर क्यानाडा पुगेकी थिइन् एक तमिल शरणार्थीका रुपमा ।

अवन्थिका वास्तवमा नेपाली द्वन्द्वका कथा, त्यसले समाजमा पारेको दुरगामी प्रभाव र समग्रमा सामाजिक मनोविज्ञान बारे अध्ययन गर्ने उद्देश्यले काठमाडौँ आएकी रहिछन । सन् २०११ मा काठमाडौँका सडकहरुमा द्वन्द्वपीडित बग्रेल्ती भेटिन्थे, अहिले पनि भेटिंदा हुन् । ती सबैका आँखा पढ्नु अवन्थिकाको बसको कुरो शायद नहुँदो हो । तथापि उनले गरेको यो प्रयास सह्रानीय थियो । जब हामी हिमालयन जाभामा कफी लिएर गफिने भयौं, मेरो पहिलो प्रश्न नै उनलाई त्यहि थियो-म तिम्रा आँखामा कसरी परें ? ‘मनोविज्ञानको बिद्यार्थी हुँ, आँखा पढ्ने अनुभव छ,’ उनले भनिन्। तर, तिमीले त द्वन्द्वपीडित खोजेकी, मेरो त्यो अनुभव छैन । म वास्तवमै टेक्ने धरावीहिन एक यायावर हुँ । म तिमीले खोजेको जस्तो द्वन्द्वपीडित होइन ।

अवन्थिका आफ्नो अनुसन्धानको खातिर कसार जस्ती जब्बर रहिछन, मेरो लुसुक्क भाग्ने मेलो कर्कलाको डांठ जस्तो भयो। काठमाडौँको कोलाहलमा मैंले एकपल्ट फेरी सुस्तरी भन्नुपर्‍यो-म माओवादी द्वन्द्वपीडित होइन । मेरा ठुल्दाजु गएका हुन् भने पनि मलाई त्यो थाहा भएन । म त आफ्नो भाषा, धर्म, संस्कृतिको लागि शहिद भएको एउटा पुस्ताको निशानी हुँ । बाबाहरुको पुस्ताले के गर्नुभो, उहाँहरुनै जान्नु हुन्छ । मैंले अबोध हुँदै बाबा गुमाएँ । आफ्नो माटो गुमाएँ । केही धुमिल सम्झना छन् गाउँका, क्याम्पका, ती सम्झना नआउँदा के बिग्रिंदो हो ? आइबस्छ । पढ्ने ठुलो धोको थियो, पढ्दै पनि छु । अब आमा पनि हुनुहुन्न । दाजु दिदीहरु आ-आफ्नै बाटो लागे । मलाई, तैपनि यो माटो गुमाएको ठिटोवाला परिचयले खेदी पो रहन्छ।

बोल्दाबोल्दै मेरो गला अवरुद्ध हुँदै थियो कि ? अवन्थिकाका आँखाको छेउ चुहिपो सकेछन । उनैले भनिन् -मेरो पनि तिम्रो जस्तै कथा छ । मेरा बाबापनि त्यसरी नै लुटिए जसरी तिम्रा बाबा। मेरी आमाले मलाई क्यानाडा लगिन । मैले त्यहाँ पढ्ने मौका पाएँ । म चाहन्छु- हाम्रो जस्तो माटो गुमाउने बेथा अब कुनै अर्को पुस्तालाइ नलागोस् । के तिमी मलाई यो अनुसन्धानमा सहयोग गर्न सक्छौ ? मेरो सहमतिले हाम्रो मित्रताको चाँजो बस्यो।

अवन्थिका बेलाबेलामा आउँथिन । मैंले पढाइ सकेर जीवन अलि ब्यबस्थित बनाइसकेको थिएँ । पत्तो नपाउंदै अवन्थिका र मेरो मित्रता प्रेममा परिणत भइसकेछ । हामी काम मात्र साथसाथै गर्दैन थियौं । बस्न समेत साथै थियौँ । सन् २०१३ मा अवन्थिकाले एउटा प्रश्न प्रश्न सोधिन-के तिमी र म जीवनसाथी बन्न सक्छौं ? मैंले भनें-म स्पष्टिकरण दिंदा दिंदा हैरान छु, मेरा जे जति कागजात छन् तिनैका कारण मलाई तेस्रो मुलुकमा सेटल हुन समेत चुनौती छ । त्यसैले तिमीले मलाई यहाँबाट क्यानाडा लैजाने शर्तमा मात्र म तिमीसँग जीवनयापन गर्न सकौंला । नत्र मैले यो पराया माटो भुलेर अर्को पराया माटो चाट्न जानुको के अर्थ ?

अवन्थिकालाई यो कुरो जंच्यो। उनी मलाई क्यानाडा बोलाउन मन्जुर भइन। त्यसै मुताविक क्यानाडा गएर उनैले निमन्त्रणा पठाइन । मैंले इमान्दारीपुर्वक आफ्ना यथार्थ सहित निवेदन हालें, । भिसा रिजेक्ट भयो। २०१३,१४, १५ तिनै साल भिसा आवेदन दिएँ । रिजेक्ट भयो । कारण देखाइयो मेरो नागरिकता र पासपोर्टको अभाव । हो, बाँच्नको लागि, पढ्नका लागि मैंले अनेकानेक कागजात त बनाएँ, ती कुनैले पनि भिसा दिलाउने हैसियत राख्दैन थिए। ताज्जुब त केसम्म पनि थियो भने मलाई आफन्त परिवार केही नभएका कारण क्यानाडा सरकारले भिजिटिंङ भिसा दिएन । स्पन्सर हुँदा समेत दिएन । सन् २०१५ को भुकम्पपछि त अवन्थिका र मैंले बिहे समेत गर्‍यौं । हिन्दु रिवाज अनुसार लगनखेल बटुक भैरव मन्दिरमा गएर । अहँ, आएन भिसा । अवन्थिका नेपाल बस्नेगरी आउन समेत तयार थिइन् । जुन मेरा कागजातका कारण सम्भव थिएन । हामीसँग क्यानाडा सरकारसँग गिड्गिडाउनु बाहेकको विकल्प के नै बाँकी थियो र ? गिड्गिडाउन छोडिएन ।

सन् २०१६ को जुलाईमा अवन्थिकाको पिएचडी सकियो । विश्वविद्यालयमा नै जागिर खान थालिन् । यतिखेर हाम्रो तयारी गहकिलो थियो । अवन्थिकाको माइती प्रतिबद्ध थियो, अवन्थिकाको जागीर दर्बिलो थियो । फेरी हालियो आवेदन । यो बाजी दिल्ली बोलाए इन्टरभ्यूका लागि। प्रश्न उही थियो- तिम्रा न आफ्ना कोही छन्, न तिम्रो माटो छ, तिमीलाई हामीले कुन कारणले भिसा दिनपर्छ भन्ने लाग्दछ ? म सँग यस्तो प्रश्नको सहज जवाफ हुने कुरै थिएन ।

मैंले तर सहज ढंगले भनें-म त फूलबाट उछिट्टेको पराग जस्तो हुँ । एउटा हावाको झोंकाले उडाइदियो बताससँगै, कहाँ खोजुं म मेरो आफ्नो फुल ? मलाई त सहज छ, फूलमा बस्न पाएछु भने फुल्छु, त्यत्तिकै माटोमा परेछु भने माटिन्छु ।

हाम्रो बिहेको फोटो देखाउंदै मैले भनें– तिम्रो देशमा सहस्र फुल छन्, ति मद्दे एक फूलमा बस्ने भनी यी यस्तो कर्म समेत गरेका थियौं । म त त्यसै फुलको सामिप्यको आशामा यहाँसम्म लतारिएर आएको छु ।

के हो र आफन्त भनेको ? म जस्ता कोही नहुनेका त सबै आफ़्ना। फर्केर हेर्दा अहिले लाग्छ त्यतिखेर मैंले सम्भवतः भावना बोलेको हुँ । आत्मा बोलेको त आँखाको पर्दामा देखिन्छ त । खतिवडा एचआर.हटमेल.कममा भिसा मिल्यो भन्ने खबर आयो काठमाडौँ पुग्ने बित्तिकै । खुशी लागो, उल्कै खुसी लागो। सुनाउने कोई त थिएन वरिपरि । माल्दाजु, दिदी भिनाजुलाई इमेल लेखें र ढकाल बाबैकोमा पुगें, खुट्टा ढोगें र भनें- बाबाहरु जन्म दिने, कर्म दिने, आँट दिने, लोट्न दिने, उठाइदिने विभिन्न थरिका हुने रहेछन । हजुर मेरा लागि जन्म दिने बाहेक सबै थरिका बाबाको सिङ्गो मुर्ति हुनुभो । कुनै दिन सन्जोग मिलेछ भने म हजुरलाई क्यानाडामा बोलाएर हजुरले बस्नु चाहुञ्जेल राख्छु । बाबैको आँखाको डिल चिसियो । शायद सन्तुष्टिको ओस थियो त्यो ।

सन् २०१७को जनवरी ३१ तारिख म टोरोन्टो उत्रिएँ। एयरपोर्टमा झर्नासाथ मैंले सर्सर्ती अनुहारहरु पढें, कुनै एकल जातिको बाहुल्यता थिएन त्यहाँ। लाग्यो-एयरपोर्ट त बहुसाँस्कृतिक देखिन्छ नै । जब ब्यागेज लिएर निस्किएँ-मलाई बालखकाल देखि सिकाइएको रामायणका खलपात्र राक्षस स्वरुपका जुँगामुठे केही पुरुष, केही महिला ‘वेलकम ओम हरी’ लेखिएको प्लाकार्ट बोकेर पुष्पगुच्छासहित लामबद्ध मेरो प्रतिक्षामा थिए । यथार्थमा ती तिनै तमिल थिए, जसको माटो गुमेको थियो र बेघरबार उनीहरु टोरोन्टो आइपुगेका थिए ।

तिनै तमिलकन्या थिइन् अवन्थिका जसले मलाई चामलको रासबाट धानको बियाँ झैं टपक्क टिपेकी थिइन् । माटो खोज्ने क्रममा मैंले रुन भुलिसकेको थिएँ । आफन्त गुमाएको पीडामा मैंले रोएर आँशु निखारिसकेको थिएँ । पटक पटक ‘तेरो माटो छैन, तेरा आफन्त छैनन्, तँ भिसा पाउन तसर्थ अयोग्य छस्,  भन्ने आशयका पत्र पढ्दै रुँदै गर्दा लागेको थियो’, मेरो आँशुको भण्डार रित्तिसकेको छ । आज मेरो आँखाबाट अविरल रतुवा बगिरहन लाग्यो । जसलाई आमाहरुले राक्षस भनेर सिकाए, ती आफन्त निस्के । जो आफन्त भनिन्थे, तिनैले मेरा बाबा खोसे । मेरो माटो खोसे, मेरो पहिचान खोसे । आँशुले लतपत मैंले अवन्थिकालाई छाँद हालेर एकसरो फेरी रोएँ ।

एकजना प्रौढ त्यो जमातबाट अघि बढेर भन्नुभयो- तिम्रो जस्तै मेरो पनि कथा छ। कथा नहुने कोही हुँदैन । अब नरोऊ। यो सम्झ, अब तिम्रो घर छ, तिम्रा मामा छन्, म बाँचुन्जेल तिमीलाई परिवारको कमी महसुश हुन दिने छैन। त्यो दिन हामीले अवन्थिकाको परिवारसँग बसेर खाएको ताजा रावा डोसा र साम्बरको स्वाद मेरो जिब्रोमा झुण्डीरहेकै छ।

हामी क्रमशः ब्यवस्थित हुँदै गयौं । मैंले क्यानाडा आएर मास्टर्स इन सोसल वर्क्स सकें। अहिले सङ्घीय सरकारको आप्रवासी सम्बन्धि विभागमा प्रोग्राम म्यानेजरको रुपमा काम गर्दैछु । अवन्थिका पढाउने काम नै गर्छिन् । आज गुरकिरत सिंह आहलुवालियाको ट्याक्सी चढिन्नथ्यो भने शायद आफ्नो कथा याद आउदैनथ्यो । गुरकिरत सही थिए । यो शहरका हरेक मान्छेका कथा छन् । म त भन्छु, यो संसारका हरेक मान्छेसँग अरुलाई सुनाउन मिल्ने कथा छ । मान्नु नमान्नु पृथक कुरा, मानव सभ्यताको विकासमा हाम्रा हरेक कथाको महत्व छ। मानव जीवन नै बेजोड कथाहरुको पेटारो हो ।

अवन्थिकाले आज उत्तपम बनाउने बिचार गरिछन । बासना त्यस्तै आउँदैछ । हामी उत्तपम र गुन्द्रुकको झोल खान पल्केका छौं अचेल। (डिसेम्बर ३०, २०१९)

टिप्पणी थप्नुहोस्