कुश बस्नेतको सहयोगमा पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान

पदक विजेता बक्सिङ खेलाडीलाई सम्मान, बेलायतबाट बस्नेतले पठाए पुरस्कार
काठमाडौं । नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई विहीबार नगदसहित सम्मान गरिएको छ ।

सागअन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो । जसमा भूपेन्द्र थापामगर, सुनिल शाही र मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका हुन ।

उनीहरुलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले सम्मान गरेका हुन । सम्मानस्वरुप उनीहरुले जनही रु २५ हजार प्राप्त गरे ।

बेलायतमा बस्दै आएका पूर्वबक्सिङ खेलाडी तथा नेपाली जनसम्पर्क समिति बेलायतका सहकोषाध्यक्ष कुश बस्नेतले सागमा स्वर्ण विजेतालाई सम्मान गर्न उक्त रकम नेपाल बक्सिङ सङ्घलाई पठाएका थिए । कार्यक्रममा बक्सिङका रजत र कास्य पदक विजेतालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सदस्य–सचिव सिलवालले पुरस्कार राशीलाई सानो–ठूलो भनेर तुलना गुर्न भन्दा पनि खेलाडीलाई सम्झनु मुख्य कुरा भएको धारणा व्यक्त गरे ।

पुरस्कार राशी उपलब्ध गराउने बस्नेतले आफू काम विशेषले बेलायतमै रहेपनि आफ्नो मन नेपालमै रहेको र बक्सिङ खेलप्रति नै नजिक रहेको भन्दै देशको नाम राख्ने खेलाडीलाई हौसला प्रदान गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् ।

टिप्पणी थप्नुहोस्