बेलहिया नाकाको अवस्था दयनीय, पाईलैपिच्छे पर्यटकमाथि ठगी

-राधेश्याम विश्वकर्मा
भैरहवा । सन् २०१८ मा बेलहिया नाका हुँदै नेपाल आउने बाह्य मुलुकका पर्यटकको संख्या १ लाख ६६ हजार २ सय ३५ जना रहेको थियो । यस्तै सन २०१९ को डिसेम्बर २६ तारेखसम्म यो संख्या १ लाख ५९ हजार २ सय ७२ जना पुगेको अध्यागमन कार्यालय भैरहवाको तथ्यांकबाट देखिन्छ ।

नेपाल भ्रमण बर्ष २०१९ लाई लक्षित गर्दै नेपाल आउने पर्यटकको संख्या बढ्दो क्रममा नै रहेको छ । यो त आधिकारीक रुपमा तथ्याकं मात्र हो । भारतबाट बेलहिया हुँदै नेपाल भ्रमणका लागि आउने भारतीय पर्यटकको संख्या यो भन्दा तेब्बर बढी छ । लाखौं पर्यटक भित्र्याउने बेलहिया नाकाको अवस्था भने बिजोग रहेको छ ।

भारतबाट नेपाल प्रवेश गरेको हो कि हैन भन्ने कुनै अन्दाज नै हुन्न । बेलहियामा रहेको शान्तीद्धारमा नेपालको राष्ट्रिय झण्डा बाहेक अन्य केही उल्लेख छैन् । शान्तीद्धारकै छेउमै रहेको पर्यटक सूचना केन्द्रले पनि पर्यटकलाई अहिलेसम्म गिज्याई रहेकै छ । नेपालको भ्रमण योग्य गन्तब्यको बारेमा जानकारी लिन आउने पर्यटकलाई पर्यटक प्रहरीले जेनतेन सहजीकरण गर्ने गरेका छन् ।

बाटो बिग्रेर उस्तै बिजोग छ । प्रवेश बिन्दुमै फोहोरका चाङ देखिन्छन् । नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२० औपचरिक घोषणा गरि सकेको छ । तर स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहियाको अवस्था भने बिजोग छ । तेस्रो देशका नागरिकले यसमा पनि केही सहज महशुस त गर्लान तर भारतीय पर्यटकको लागी नेपालीहरु ठग्न बसे जस्तै भएको छ ।

नेपाल सरकारको नीतिदेखि यहाँको सरकारी कार्यालयहरुमा हुने चरम भ्रष्टाचारले भारतीय पर्यटकहरु पाईला पाईलामा ठगिदै आएका छन् । बेलहिया छिर्ने बित्तिकै नेपालमा रहेको पार्किङ्ग स्थलबाट नै भारतीयहरु ठगिने श्रृंखला सुरु हुन्छ । पार्किङ्ग स्थलमा खटिएका कर्मचारीले पर्यटकबाट मनोमानी रुपमा शुल्क उठाउने गरेका छन् ।

मागेको शुल्क नदिए कुटपिट नै गर्ने गरेको बिगतको बिभिन्न घटनाले देखाएको छ । कर्मचारीहरुले भारतीय गाडीबाट प्रतिघण्टा ४० रुपैयाँको दरले रकम लिने गरेको बताए पनि त्यस सम्बन्धि सूचना दिने कुनै सूचना बोर्ड नै छैन । जसले भारतीय पर्यटकबाट मनोमानी रुपमा उनिहरुलाई रकम उठाउन प्रोत्साहन गरेको छ ।

यसको साथै पर्यटकले पाईलैपिच्छे कर तिर्न बाध्य पारिएको पर्यटन ब्यवसायीहरुको गुनासो रहेको छ । भारतीय पर्यटकहरु भैरहवा भन्सार कार्यालयमा आफ्नो गाडीको भन्सार गराएपछि त्यसको करिब ४ किलोमिटर पर भैरहवा आएर रुट परमिट लिनुपर्छ ।

भैरहवा आउँदा सिद्धार्थनगर नगरपालिकाको क्षेत्र पर्दछ । नगरपालिकाले भारतीय नम्बरका गाडीहरुबाट भौतिक पूर्वाधार बापत शुल्क उठाउने गर्दछ । यसको लागी नगरपालिकाले ठेक्का दिएको ठेकेदारहरुबाट पटक पटक पर्यटकलाई दुब्र्यहार गरेको घटनाहरु बाहिर आउने गरेको छ ।

यी सबै करहरु पर्यटकबाट लिनै छ भने एकद्वार प्रणालीबाट लिनु पर्ने पर्यटन ब्यवसायीहरुको सुझाव रहेको छ । नाट्टा प्रदेश ५ का संस्थापक अध्यक्ष बिष्णु शर्माले नेपालका सबै कानून बारे पर्यटकहरु जानकारी हुन नसक्ने बताउँदै यसकालागि करहरुको एकद्वार प्रणाली लागु गर्न सकिने बताए ।

यसको साथै भारतीय पर्यटकहरुको लागि भारतमा प्रर्याप्त सूचना नभएको कारणले पनि उनीहरुले दुःख पाएका छन् । नेपालमा १ सय भन्दा माथीको भारतीय रुपैयाँ प्रतिबन्ध रहेको अधिकांश भारतीयलाई थाहा छैन् । रुट परमिट, भन्सार लगायतबारे जानकारी नहुँदा नेपालमा उनिहरुको गाडी नै सिज हुने समस्या अधिकांशमा देखिएको छ । यी सबै समस्याको समाधानको लागि भन्सार बिन्दुमै भारतीय पर्यटकहरुले बुझ्ने गरी प्रर्याप्त सूचना राखिदिन भारतीय पत्रकार आलोक जोशीको भनाई छ ।

नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने हो भने तेस्रो मुलुकसहित भारतीय पर्यटकलाई पनि उत्तिकै सुविधा प्रदान गर्नुपर्ने पर्यटन ब्यवसायीको सुझाव रहेको छ । यसको साथै सीमा क्षेत्रमा भ्रमण बर्षकै अवसरमा सरसफाईमा उत्तिकै ध्यान दिनु उनीहरुले सुझाव दिएका छन् ।

टिप्पणी थप्नुहोस्