हिमपात र बर्षाका कारण हवाई उडान रद्द

-सिराज खान
नेपालगन्ज, । पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा भैरहेको हिमपात र बर्षाले गर्दा शुक्रवार नेपालगन्जको राँझा विमानस्थलबाट पहाडी र हिमाली जिल्लामा हुने कुनैपनि हवाई उडान भएनन् ।

कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदुरपश्चिमको बाजुरा, बझांगमा हिमपात र बर्षाले मौसम खराब भएको कारण शुक्रवार ती स्थानका लागि हुने सबै हवाई उडान रद्द गरिएको नेपालगन्ज विमानस्थलले जनाएको छ ।

विहीवार रातीबाटै ती क्षेत्रमा कतै हिमपात र कतै बर्षा भैरहेको तथा नेपालगन्जमा समेत हुस्सु लागेकोले शुक्रवारका सबै हवाई उडानहरु रद्द गरिएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयले जनाएको छ । सोही प्रकारले संघीय राजधानी काठमाडौ र नेपालगन्जको विमानस्थलमा पनि मौसम खराब भएका कारण शुक्रवार तीनवटा मात्र उडान हुन सकेको सो कार्यालयले जनाएको छ ।

हिमाली र पहाडी जिल्लाको मौसम सफा नभएसम्म उडान सुचारु हुननसक्ने जनाउँदै नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले मौसमकै भरमा उडानको टुंगो लाग्ने बताए । पहाडी र हिमाली जिल्लाहरुमा प्रायजसो विहान मात्रै उडान हुने गरेको जनाउँदै उनले शनिवार पनि उडान हुने संभावना न्यून रहेको जनाएका छन् ।

नेपालगन्जबाट काठमाडौका लागि यति, बुद्ध र श्री एअरले दैनिक नौंवटा उडान गर्दै आएका छन् । तर, शुक्रवार दिउँसोसम्म तीन वटा मात्र उडान भएको र तीनवटा उडान रद्द गरिएको विमानस्थलले जनाएको छ ।

मौसमको खराबीले गर्दा पहाडी र हिमाली जिल्लाका उडान केही दिनयता अनियमित रहँदै आएको र शुक्रवार पूर्ण रुपमा बन्द भएकोले ती जिल्लाका सयौं यात्रु यहाँ अलपत्र परेका छन् ।

हवाई उडान नहुँदा पहाडी जिल्लाहरु तथा राजधानी काठमाण्डौ जानका लागि टिकट काटेर विमानस्थल पुगेका यात्रुहरु फर्किन बाध्य भएको हवाई कम्पनीहरुले जनाएका छन् । चिसोले गर्दा जहाजमा यात्रा गर्ने यात्रुको चाप बृद्धि भएकै बेला मौसमको खराबीले गर्दा यात्रुहरुलाई समस्या परेको एअरलाइन्सहरुको भनाई छ ।

उडान रद्द हुँदा कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदुरपश्चिमको बाजुरा, बझांग जाने र त्यहाँबाट अतिआवश्यक कामले आउने यात्रुहरु बढी समस्यामा परेका छन् । सोही प्रकारले नेपालगन्जबाट संघिय राजधानी काठमाण्डौका लागि हुने अधिकांश उडानहरु पनि शुक्रवार अवरुद्ध भएपछि धेरै यात्रु मर्कामा परेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री