बाँके पश्चिम नेपालकै प्रमुख आर्थिक केन्द्र: अर्थमन्त्री

-सिराज खान

नेपालगन्ज । अर्थमन्त्री डा. युवराज खतिवडाले बाँके प्रशासनिक राजधानी नबनेपनि यो जिल्ला र नेपालगन्ज सहर यस क्षेत्रकै प्रमुख आर्थिक केन्द्र भएको बताएका छन् ।

उनले शुरुदेखि नै पश्चिम नेपालकै प्रमुख केन्द्र रहेको यो जिल्लालाई अब आर्थिक केन्द्र र औद्योगिक जिल्लाका रुपमा विकास गरिने बताए ।

नेपालगन्जमा मन्त्री खतिवडालाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको नेतृत्वको एक टोलीले भेटेर विभिन्न मागहरु राखेपछि उनले जवाफमा सो कुरा बताएका हुन् ।

नेपालगन्ज–दिल्ली उडानका लागि प्रयास भैरहेको जनाउँदै उनले त्यसका लागि यहाँको विमानस्थलमा केही पूर्वाधार निर्माण गर्नु परेकोले सो कार्य भैरहेकोमा निर्माणपछि मात्र अरु कुरा अगाडी बढ्ने बताए ।

‘नेपालगन्ज–दिल्ली उडानका लागि भारत सरकार सकारात्मक छ, तर हामीले नै केही काम गर्न बाँकी छ, त्यसैले अब पूर्वाधार निर्माण लगत्तै प्रक्रिया अगाडी बढ्ने छ–मन्त्री खतिवडाले भने ।

बाँकेको आर्थिक विकासका लागि अतिनै महत्व राख्ने नौबस्तामा निर्माण भैरहेको औद्योगिक क्षेत्रको निर्माण, सीमानामा निर्माण भैरहेको आइसीपी र नेपालगन्ज–कोहलपुर क्षेत्रलाई औद्योगिक करिडोर बनाउने कुरालाई तिव्र पार्न निर्देशन दिने उनले सो अवसरमा बताए ।

नेपालगन्जको सीमानापारीसम्म ब्राडगेज रेल लाइन बिछयाउन भारत सरकारले तयारी गरिसकेको जनाउँदै रुपैडिहासम्म ब्राडगेज लाइन आयो भने यसले दुबै देशविचको सम्पर्क र व्यापारलाई झनै बलियो बनाउने अर्थ मन्त्रीको भनाई थियो ।

उनले वर्तमान सरकारले आर्थिक विकासको क्षेत्रमा हालसम्म नभएका कामहरु गरेर महत्वपूर्ण उपलब्धीहरु प्राप्त गरेको जनाउँदै देशमा अहिले लगानीको वातावरण समेत तयार भएको प्रष्ट पारे ।

नेपाल भ्रमण बर्ष २०२० ले पनि देशको आर्थिक अवस्था सुधार्न ठुलो सहयोग पुर्याउने जनाउँदै उनले यसलाई सफल पार्न सबैले आआफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्नु पर्ने आवश्यकता औंल्याए ।

यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्ज–दिल्ली उडानमा भैरहेको ढिलाई, बाँकेलाई आर्थिक राजधानी र केन्द्र बनाउन विभिन्न योजना अघि सार्नु पर्ने, नौबस्ता औद्योगिक क्षेत्रको निर्माणमा भैरहेको ढिलाई र सीमानामा निर्माण भैरहेको आइसीपी अलपत्र परेको लगायतका बारेमा मन्त्री खतिवडाको ध्यानाकर्षण गराउँदै तत्काल पहल गरिदिन माग गरेका थिए ।

यसका साथै लामो समयदेखि नेपालगन्ज नाकाबाट घ्यू निकासीमा समेत समस्या भैरहेकोले व्यवसायीलाई घाटा भैरहेको जनाउँदै सो निकासीलाई सहज पारिदिन संघका अध्यक्ष वैश्यले मन्त्रीसंग आग्रह गरेका थिए । सो अवसरमा त्यहाँ रहेका नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौला र आन्तरिक राजस्व कार्यालयका प्रमुख प्रकाश पौडेललाई पनि मन्त्री खतिवडाले उद्योगी व्यापारीसंग सहज र सरल रुपमा प्रस्तुत हुन निर्देशन दिए ।

मन्त्री खतिवडाले नेपालगन्ज भन्सार कार्यालयको समेत निरीक्षण गरेर कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए ।

टिप्पणी थप्नुहोस्