विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा

भैरहवा । कक्षा ५ मा अध्ययनरत् विद्यार्थीलाई कुटेर फरार रहेका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको सम्मरीमाई गाउँपालिका–६ मा रहेको ज्ञानदीप बोर्डिङ्ग स्कूलका शिक्षक शैलेन्द्र बरईले ५ कक्षामा अध्ययनरत विद्यार्थी तौफिक धुनियालाई कुटपिट गरेका थिए ।

उनको कुटाईबाट बिद्यार्थी गम्भीर घाइते भएका थिए । उनको आँखामा चोट लागेको थियो । तर  शिक्षक बरई फरार रहेका थिए । फरार शिक्षक बरईलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक पोषणराज ढकालले जानकारी दिए ।

उनले शिक्षकलाई पक्राउ गरी भोली म्याद थपको लागी रुपन्देही जिल्ला अदालतमा पेश गरिने रुपान्तरणलाई जानकारी दिए । कानून अनुसार कारवाहीका लागि जिल्ला अदालतमा पेश गर्नेगरी प्रक्रिया अगाडी बढाईसकेको ढकालले बताए ।

शिक्षक शैलेन्द्र बरईले दिएको होमवर्क विद्यार्थी धुनियाले गर्न नसकेर विद्यालय जाँदा उनी माथी कुटपिट गरिएको थियो ।

शिक्षकको कुटाईबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भिर चोट लागेको छ । उपचार पछि विद्यार्थी धुनिया भने अहिले घर फर्किएको उनका हजुरवुबा मोहम्मद हुसेन धुनियाले बताए ।

टिप्पणी थप्नुहोस्