उद्योगी व्यवसायीको निर्वाचनमा दलीय प्यानल: मन्सुरी र रौनियार मैदानमा

-सिराज खान

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले दलिय विचारधाराकै आधारमा प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

निजी क्षेत्रको महत्वपूर्ण संस्था नेपालगन्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि स्थानीय व्यवसायीहरुले दलीय विचारधारको आधारमा दुई वटा प्यानल निर्माण गरेर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

समावेशी र साझा प्रजातान्त्रिक प्यानल बनाएर उनिहरु प्रचार प्रसारमा जुटेका हुन् । नेकपा निकट उद्योगी व्यवसायीहरुले संघका निवर्तमान उपाध्यक्ष अब्दुल वाहीद मन्सुरीको नेतृत्वमा समावेशी प्यानल बनाएर उम्मेदवार घोषणा गरि प्रचार प्रसार शुरु गरेका छन् । सो प्यानललाई समाजवादी पार्टीको पनि समर्थन रहेको जनाइएको छ ।

सोही प्रकारले नेपाली काँग्रेस र राप्रपा निकट उद्योगी व्यवसायीहरुले ललित रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिक प्यानल बनाएर उम्मेदवार घोषणा गरेर प्रचार प्रसारमा जुटेका छन् ।

मन्सुरी नेतृत्वको समावेशी प्यानलबाट उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र आदेश अग्रवाललाई उम्मेदवार बनाईएको छ भने सदस्यमा टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे र भिम रानाभाटलाई उम्मेदवार बनाईएको छ । सोही प्रकारले बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ लाई उम्मेदवार बनाइएको छ ।

यसैगरी रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र अमित बस्नेतलाई उम्मेदवार बनाइएको छ । सो प्यानलका सदस्य पदका उम्मेदवारहरुमा अजय कुमार टण्डन, सुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार रहेका छन् ।

दुवै प्यानलले घोषणा पत्र सार्वजनिक गरेर व्यापारीहरुको घर घरमा पुगेर प्रचार प्रसार पनि शुरु गरेका छन् । अध्यक्ष पदका उम्मेदवार मन्सुरी र रौनियार दुबैले आआफ्नो प्यानल बलियो भएको दावी गरेका छन् । दुबैले संघको हितका लागि आफुनै उपयुक्त हुने तर्क पनि अघि सार्दै हिंडेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वर्तमान केन्द्रिय सहस्य कृष्ण प्रसाद श्रेष्ठ, पूर्व केन्द्रिय सदस्य दामोदर आचार्य र संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य मन्सुरीको पक्षमा देखिएका छन् भने महासंघका पूर्व केन्द्रिय सदस्य अच्यूत प्रसाई र संघका पूर्व अध्यक्ष सुनिल कुमार शर्मा रौनियारको पक्षमा देखिएका छन् ।  ३ हजार मतदाता रहेको संघको निर्वाचन ३ बर्षे कार्यकालका लागि हुने छ ।

टिप्पणी थप्नुहोस्