रोल्वालिङमा हिउँ चितुवा र रेडपाण्डासहित सात संरक्षित प्रजाति

-शम्भु गौतम
दोलखा । दोलखाको रोल्वालिङ क्षेत्रमा हिउँ चितुवा र रेडपाण्डा लगायत संरक्षित सूचिमा रहेका सात प्रजातिका जीवजन्तु रहेको पुष्टी भएको छ ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रयापिङको क्रममा संरक्षित सूचीमा रहेका २० जीवजन्तुमध्ये सात प्रजातिका जीवजन्तुहरु रोल्वालिङ क्षेत्रमा पाइएको हो ।

गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको गौरीशङ्कर गाँउपालिका–९ रोल्वालिङ उपत्यकामा विगत पाँच महिनामा विभिन्न १२ वटा क्यामेरा ट्रयाप गर्दा सो कुरा पुष्टी भएको हो ।

यसअघि दोलखाकै विगु गाँउपालिका–१ को लप्ची क्षेत्रमा गरेको क्यामेरा ट्रयापिङबाट हिउँ चितुवा रहेको पुष्टि भएको थियो । तर त्यतिबेला राखिएको क्यामेराले हिउँ चितुवाको तस्वीर राम्रोसँग लिन नसके पनि योपटक हिउँ चितुवा, रेड पाण्डा लगायतका अति दुर्लभ तथा संरक्षित बन्यजन्तुको तस्वीर स्पष्ट रुपमा देखिएको गौरीशङ्कर संरक्षण क्षेत्र प्रमुख सत्यनारायण शाहले जानकारी दिए । लामाबगरको लप्ची क्षेत्रमा गरिएको क्यामेरा ट्रयापिङमा हिउँ चितुवाका साथै चरीबाघ र सुनौलो विरालो समेत फेला परेको थियो ।

गौरीशङ्कर संरक्षण क्षेत्रले २०७६ असार १५ देखि भाद्र २२ गतेसम्म रोल्वालिङ उपत्यका क्षेत्रको ३७४२ मीटर देखि ५०९१ मिटरसम्मको उचाइमा गरिएको क्यामेरा ट्रापिङबाट वयस्क हिउँ चितुवा, ब्वाँसो, कस्तुरी मृग, रेडपाण्डा र डाँफे फेला परेको अध्ययनले देखाएको छ ।

त्यसैगरी उक्त क्षेत्रमा प्रत्यक्ष अवलोकनबाट मुनाल र आसामी रातो बाँदरसमेत भेटिएको अध्ययनका टोली प्रमुख विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यसरी दोलखाको रोल्वालिङ क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूचि १ मा रहेको २७ संरक्षित प्रजातिमध्ये सात प्रजातिका बन्यजन्तु रहेको तथ्य पुष्टि भएको गौरीशंकर संरक्षण क्षेत्रका अधिकृत विष्णुप्रसाद पाण्डेले बताए ।

गौरीशङ्कर संरक्षण क्षेत्रले दोलखाको रोल्वालिङ उपत्यकाको विभिन्न १२ स्थानमा बुसनेल ट्रोफी क्याम नामको इन्फ्रारेड क्यामेरा राखेको थियो । अनुसन्धानमा संलग्न संरक्षण अधिकृत पाण्डेका अनुसार क्यामेरा ट्रयापिङबाट पहिलो पटक ब्वाँसो र रेडपाण्डाको तस्वीर लिन सकिएको हो ।

रोल्वालिङ उपत्यकामा रातो फ्याउरो, झारल, घोरल, थार, मलसाप्रो, पितोदर मलसाप्रो लगायत १५ प्रजातिका स्तनधारी जनावर, डाँफे, मुनाल, चिलिमे, हिउँ कुखुरा, हाडफोर लगायत १२ प्रजातिका चराहरु समेत क्यामेरामा कैद भएका छन् ।

क्यामेरा ट्रयापिङमा च्छो रोल्पा हिमताल क्षेत्रमा तीन पटक हिउँ चितुवाको तस्वीर खिचिएको थियो । त्यसैगरी च्छो रोल्पा, दुधकुण्ड र येलुङ क्षेत्रमा पटकपटक ब्वाँसोको तस्वीर खिचिएको थियो । त्यसैगरी ना गाँउ क्षेत्रमा कस्तुरी र मृग, बेदिङ गो टाकुरा क्षेत्रमा रेडपाण्डा, गौरीशङ्कर बेस क्याम्प र बेदिङ गो टाकुरा क्षेत्रमा डाँफेको तस्वीर खिचिएको संरक्षण क्षेत्रले जनाएको छ ।

दोलखाको उच्च हिमाली क्षेत्रमा धार्मिक एवं सांस्कृतिक रुपमा समेत वन्यजन्तु तथा जडिबुटीहरुको संरक्षण हुँदै आएकोले पनि अति दुर्लभ तथा दुर्लभ संरक्षित प्रजातिका वन्यजन्तुहरु पाइएको गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहले जानकारी दिए ।

संरक्षण क्षेत्रले पनि स्थानीय बासिन्दा, धार्मिक गुरुहरु, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैसँग समन्वय गरी संरक्षणको काम गर्दै आएकोले पनि संरक्षण क्षेत्र स्थापनाको १० वर्षको अवधिमा वन्यजन्तु संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल भएको आयोजना प्रमुख शाहको धारणा छ ।

जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोलखामा विशेष गरी हिउँ चितुवा, रेडपाण्डा र कस्तुरीको उल्लेख्य उपस्थिति रहेकोले यस्ता अति दुर्लभ वन्यजन्तुको संरक्षणको लागि स्थानीय तहलगायत सबै क्षेत्रले सहयोग गर्नुपर्ने र सरकारले दोलखाको रोल्वालिङ उपत्यका तथा लामाबगर लप्ची क्षेत्रलाई हिउँ चितुवा, रेडपाण्डा र कस्तुरी संरक्षण विशेष क्षेत्र घोषण गरी थप कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।

टिप्पणी थप्नुहोस्