भ्रष्टाचार विरुद्ध विशेष प्रशिक्षण लिन अख्तियारका कर्मचारी भारतमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २१ जना अधिकारीको भ्रष्टाचार विरुद्ध विशेष कोर्षका लागि भारतको गुजरात पुगेका छन् ।

गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा ‘ठगी, घूसखोरी र भ्रष्टाचार निवारण’ विषयमा उनीहरुले पुस २१ देखि ६ दिने प्रशिक्षण सुरु गरेका छन् ।

यसअघि आयोगकै २१ जना अधिकारीको पहिलो ब्याचले प्रशिक्षण लिइसकेका छन् । भारतका अनुभवी सदस्यहरुबाट संचालित सो प्रशिक्षण नेपाली अधिकारीहरुका लागि फलदायी हुने बताइएको छ ।

नेपाल सरकारको आग्रहमा आयोगका कूल ४२ कर्मचार तथा पदाधिकारीहरुका लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपालमा भ्रष्टाचारका गतिविधिहरुमा अंकुश लगाउन एवम् सुशासन कायम राख्न यो कोर्षले आयोगको संस्थागत क्षमतालाई सुदृढ पार्ने भारतीय पक्षले जनाएको छ ।

मुख्यतः भ्रष्टाचारका कारकहरुको पहिचान, अर्थतन्त्रमा यसको प्रभाव तथा यसको पहिचान र रोकथामका लागि प्रयोग हुने विधिहरुमा यो कोर्ष केन्द्रित छ । सूचना प्रविधिमा आधारित अनुसन्धानका लागि यो कार्षले अधिकारीको सीप अभिवृद्धि गर्नुका साथै उनीहरुको विश्लेषणात्मक क्षमताको बृद्धि गरी नयाँ विधिहरु सिक्नलाई मद्दत गर्ने भारतीय पक्षको दावी छ ।

फरेन्सिक विज्ञान, अपराध अनुसन्धान, सुरक्षा तथा व्यवहार विज्ञान र अपराध विज्ञान क्षेत्रमा फरेन्सिक विज्ञलाई प्रशिक्षण दिनका लागि प्रख्यात गुजरातको गान्धीनगरस्थित गुजरात फरेन्सिक साइन्सेस युनिभरसिटीमा अधिकारीलाई प्रशिक्षण दिइएको हो । भारत सरकारको पूर्ण सहयोग रहेको कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत संचालित छ ।

टिप्पणी थप्नुहोस्