कृष्णदास सुटुक्क फर्के आश्रम

-प्रल्हाद गुरागाईं
विराटनगर । एक अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा जमानतमा थुनाबाट निस्किएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी(कृष्णदास) आइतवार सुटुक्क चतरा स्थित आश्रम फर्किएका छन् ।

विराटनगरस्थित विराट नर्सिङ होमको भीआइपी कक्षमा उपचारको वहानामा बसेका कृष्णदास आइतवार साँझ आफ्नै सवारी साधनबाट आश्रम फर्किएका थिए । अस्पतालको बसाईको क्रममा उनले सधै अस्पताल कै एम्बुलेन्स प्रयोग गर्दै आएका थिए । उनलाई अस्पतालले ३८ दिनपछि डिस्चार्ज दिएको थियो ।

डिस्चार्ज लिने क्रममा कृष्णदासका केही अनुयायी र विराटनगरका केही ब्यापारी अस्पताल पुगेका थिए । उनीमाथि सुनसरी प्रहरी र अस्पतालको समेत ‘सेटिङ’मा विरामीको बहाना बनाएर भीआइपी कक्षमा राखिएको आरोप लाग्दै आएको थियो ।

बलात्कारको आरोपमा जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेश लगत्तै उनी उपचारका लागि भन्दै पुनः विराट नर्सिङ होममा भर्ना भएका थिए । उपचारका क्रममा कति खर्च लागेको हो ? त्यस बारे अस्पताल प्रशासनले केही खुलाएको छैन । अस्पतालले उपचार खर्च बापतको रकमबारे हिसाव किताव भइरहेको जनाएको छ । अस्पतालका लेखापाल सुवास पोखरेलले कुल खर्च कति भएको हो, अन्तिम हिसाव निकाल्न बाँकी रहेको प्रतिक्रिया दिए ।

बलात्कारको जाहेरी दर्ता भएको खबर सार्वजनिक भएपछि उनी छात्ती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै अस्पताल भर्ना भएका थिए । अस्पतालले समेत उनको अवस्था गम्भीर बनेको भन्दै आईसीयूमा राखेर उपचार गरेको थियो । प्रहरीले कृष्णदासलाई मंसिर १६ गते आईसीयूबाटै पक्राउ गरेर अदालतबाट पहिलो पटक म्याद थप गरेको थियो । अनुसन्धानको क्रममा अदालतले चारपटकसम्म म्याद थप गरेको थियो । उनले अस्पतालको डिलक्स रुमबाटै प्रहरीलाई बयान दिएका थिए ।

कात्तिकको पहिलो साता दीक्षा दिने बहानामा मध्यरातमा बोलाएर बलात्कार गरेको भन्दै उनकी एक अनुयायीले उजुरी दिएपछि प्रहरीले उनीविरुद्ध जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले कृष्णदास बिरुद्धको मुद्दामा दिएको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा निवेदन परिसकेको छ ।

निवेदन उपर सुनुवाइ गर्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिन भित्रमा कैफियत प्रतिवेदन झिकाउन आदेश दिइसकेको छ । उच्च अदालतका रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले कृष्णबहादुर गिरीका लागि जारी आदेशको विषयमा ‘राय’ पनि बुझाउन उच्चले भनेको बताए ।

सरकारी वकिल कार्यालयले थुनामा राख्न पर्याप्त प्रमाण हुँदाहुँदै कृष्णबहादुरलाई धरौटीमा छाड्ने आदेश भएको भन्दै उक्त आदेश बदर गरी उनलाई थुनामा राखेर पुर्पक्ष गर्न माग गर्दै बिहीबार उच्चमा निवेदन दिएको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री