अपराध नियन्त्रण गर्न प्रहरी र समाजबीच हातेमालो आवश्यक

-राधेश्याम विश्वकर्मा

भैरहवा । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक सुरेन्द्र बिक्रम शाहले समाजमा भईरहेको गलत क्रियकलापको सूचना प्रहरीलाई दिन आग्रह स्थानीयसँग गरेका छन् । प्रहरी एकल प्रयासले मात्र समाजमा रहेको अपराधिक क्रियाकलाप नियन्त्रण हुन असम्भव भएकाले समाज र प्रहरीले हातेमालो गर्न आवश्यक रहेको उनले औंल्याए ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा रहेको ईलाका प्रहरी कार्यालय मर्चवारको नवनिर्मित भवनको उद्घाटन गर्दै डिआईजी शाहले समाजलाई शान्त राख्न प्रहरी र स्थानीयको सहकार्य आवश्यक रहेको बताए । कार्यक्रमबाट नै उनले जिल्लाका प्रहरीलाई आफ्नो आचरणमा सुधार ल्याउन निर्देशन समेत दिए । उनले नागरिकलाई पीडा दिने क्रियाकलाप नगरी नागरिकमैत्री काम गर्न समेत निर्देशन दिए ।

मर्चवारमा जिर्ण रहेको प्रहरी कार्यालयहरुबाट पनि प्रहरीले उत्कृष्ट सेवा प्रदान गरेको र अहिले सुविधा सम्पन्न भवन प्रहरीले प्राप्त गरेको हुँदा सोही अनुसारमा सेवा पाउने नागरिकको कर्तब्य रहेका कार्यक्रमका वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र नाथ शुक्ल तथा मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको बताए । उनीहरुले अहिले प्रहरी र नागरिकबीच भाइचाराको सम्बन्ध बलियो हुँदै गएको बताए । प्रहरीको क्षमता सुधार गर्न आवश्यक पर्ने सबै सहयोग गाउँपालिकाहरुले गर्ने प्रतिवद्धता समेत जनाए ।

शान्तीका लागी पुनः निर्माण अभियान अन्र्तगत शान्ती तथा पुनः निर्माण मन्त्रालय, शान्तिकोष सचिवालय र प्रहरी प्रधान कार्यालयबीचको पियुआरपी पहिलो चरण अन्र्तगत क्षतिग्रस्त प्रहरी इकाईहरुको पुनःनिर्माण गर्ने सम्झौता अनुसार ईलाका प्रहरी मर्चवारको भवन निर्माण गरिएको हो । रुपन्देही प्रहरी प्रवक्ता डिएसपी खडक बहादुर खत्रीका अनुसार २०७१ साल माघ १३ गते निर्माण सम्झौता भई श्री प्राकृतिक राईजिङ्ग स्टार जेभीले भवन निर्माणको लागि ठेक्का लिएको थियो ।

कार्यालय र ब्यारेक भवन भवन गरी १ बिगाहा तीन कठ्ठामा निर्माण भएको भवनको लागत १ करोड ५५ लाख ८३ हजार ६ सय ९ रुपैयाँ रहेको उनले बताए । नव निर्मित भवनमा कार्यालय प्रयोजन, इन्चार्जको आवासको साथै शौचालयसहित दुई वटा महिला तथा पुरुष हिरासत कक्ष गरी १३ कोठा रहेको छ ।

टिप्पणी थप्नुहोस्