मुसाको मासु खानेको कथा

-प्रल्हाद गुरागाई
विराटनगर । ‘बहुतै मिठो हुन्छ दाजु, तपाईले खानु भएको छ ।’ मोरङ ग्रामथान गाँउपालिकाको मुसहर बस्तीमा मुसाको मासु पकाउँदै गरेका एकजनाले सोधे, ‘खानु भएको छैन होला है, हामीलाई त मुसा कै मासु मनपर्छ ।’ प्रष्टसँग नेपाली बोल्ने युवाहरु विराटनगर महानगरपालिकासँग जोडिएको गाँउपालिका ग्रामथानमा मुसाको मासु पकाएर खाने तरखर गर्दै थिए ।

नजिकैको कारखानामा काम गर्ने चार युवाले कारखाना मै मुसा फेला पारेका थिए । दिउँसोलाई खानासँगको तरकारी बनाउने लक्ष्यका साथ आँगेनीको चुलोमा मुसाको मासु पकाएर खानयोग्य बनाए । उनीले बडो मिठो मानी मानी मुसाको मासु र खाना खाए ।

स-सानो पराले झुप्रो घर, घरको छानोमा फट्टफुट्ट फलेको फर्सी । ग्रामथान कै पिडारबनीको मुसहर बस्तीका प्राय हरेक घरमा यस्तै दृश्य देखिन्थ्यो । कच्ची सडकको एकातर्फ मुसहर बस्ती, बस्तीको छेउछाउ भर्खर उर्मिएका गहुँको हरियाली । धान काटेर फुर्सदिला बनेका मुसहर बस्तीमा सबैको ध्यान मुसा र मुसाको दुलो मै केन्द्रीत हुन्थ्यो । दिउँसो १२ बजे बजिसकेको थियो । हरिराम ऋषिजन(मुसहर) हातमा कोदलो, गोबरको गुईठा र अलिकति पराल लिएर खेततर्फ लागे । उनलाई सघाउन श्रीमति शान्तिेदवी पछिपछि लागिन् । खेतको आली आली हुँदै केहीबेर हिडेपछि मुसाको गुँड पत्ता लाग्यो । हरिरामले भने,‘मालिक, यो मोटो छ नि(आलो माटो), यहिबाट पत्ता लाग्छ, यहाँ मुसा छ ।’

उनले वरपर भएका स-साना सहायक दुलाहरुलाई मज्जाले माटोले टाले । मुख्य दुलोको मुखलाई फराकिलो बनाए । फराकिलो बनेको दुलोमा परालले मज्जाले खाँदखुँद पारे । पराललाई वरिपरिबाट काँचो माटोले टालटुले गरे । टालेको ठाँउको बीचमा गोबरको गुईठा राखे । अनि त्यसमा सलाई कोर्दै आगो सल्काए । धुँवा बढ्दै गयो, मुसहर दम्पत्ति मुखले जोड जोडले धुँवालाई फुँक्दै गए । स्थानीय भाषामा तोपा लगाउने कार्यलाई उनीहरुले निरन्तरता दिए । उनीहरुले लगाएको आगोबाट निस्किएको धुँवा दुलोभित्र फैलदै गयो । हरिरामले भने,‘यही धुँवाले भुर(दुलो)मा भएको मुसा मर्छ ।’

अल्पसंख्यक गरिब महुसरहरु अहिलेपनि छाक टार्न मुसा मार्छन र मुसाको मुसालाई मिठो परिकारको रुपमा सम्झन्छन् । पूर्वी मोरङमा माटोको काम गर्ने मुसहर जातिको मुख्य आहरा रुपमा मुसाको मासु खाने गर्छन । गरिबी, अशिक्षामा जेलिएको मुसहर जातिको पहिचान कठोर मेहनत हो । उनीहरु जति मेहनत गर्छन् त्यति नै फजुल जीवन बिताउने गर्छन् ।

करिब २ घण्टाको मेहनतपछि हरिरामले थनिएको मुसाको दुलोलाई खनेर भत्काउँदै गए । कुनै दुलामा मुसाले जम्मा परेको धान थियो । हरिरामको पत्नी दुलोमा भेटिएको धान सोर्हन थालिन् । दुईवटा दुलोमा ६ वटा मुसा मरेको अवस्थामा फेला परे । तोपा लगाएका कारण निस्सासिएर मरेका मुसा पाएपछि उनीहरुको मेहनतले सार्थकता पाएको थियो । उनीहरु दुबै मरेको मुसा र केही अन्न लिएर घरतर्फ फर्किए ।

मुसहर बस्ती कै एक घरमा पुग्दा परिवारका एक सदस्य घरेलु मदिराको स्वाद रमाईरहेका थिए । उनीहरुलाई हामीले मुसा मार्ने कला र मुसाको मासुको बिषयमा कुरा गर्नासाथ मासुको स्वादको प्रशंसा गरे अनि भने,‘ यो त सबले खान जानिसक्यो, मालिक ।

आजकाल सबले मुसा खान्छ ।’ मुसहर जातिका बृद्धबृद्धा, जवान मात्र होइन, बालबच्चा पनि मुसाको शिकार गर्न खप्पिस हुन्छन् । खुल्ला खेतको आलीहरुमा बासस्थान बनाउँने मुसाले किसानलाई समेत उत्तिकै दुख दिएको हुन्छ । खेतको आलीमा दुलो बनाएर बर्खायाम सम्म बसोबास गर्ने मुसाले लामो समयसम्मका लागि आहार संचित गरेर राखेको हुन्छ ।

बिशेषगरि सुख्खायाम शुरु हुनासाथ धानखेतमा मुसाको चकचकी शुरु हुन्छ । हजारौको संख्यामा मुसाहरुले आफ्नो बासस्थान परिर्वतन गर्छन र खेतमा दुलो बनाएर बस्छन् । खेतको आलीमा मुसाहरुले गुँड बनाउने, बच्चा पाउने र लामो समयसम्मका लागि आहार संचित गर्ने गर्दछन् ।

मुसा यति चलाख हुन्छ कि, उसको असली बासस्थान कहाँ हो, भेउ पाउँन समेत गाह्रो हुन्छ । बिरालो, सर्प, चिल जस्ता जन्तुबाट सुरक्षित हुन, मुसाले जमीन मुनि बनाएको दुलो सयौको संख्यामा हुन्छ । बर्षायामको असारसम्मका लागि खेत मै लुकेर बस्ने मुसाका लागि धान पाकेसँगै किसानले लगाउने गहुँ अहार बन्छ ।

अहिले मुसहर जाति मात्र होइन, तराईमा बसोबास गर्ने थारु, बाँतर, राजबंशीहरु पनि मुसाको मासु खान थालेका छन् । मुसाको मासुको स्वाद अन्य मासुको तुलनामा मिठो हुने भएकाले उनीले खान थालेको किसन मसुहरको भनाई छ । मुसाको खोजी गर्नु र मार्नु, एक प्रकार रोमान्चकता, सँगसँगै लामो मेहनत र मेहनत पछिका उपलब्धि हो । मुसा जालमा परेपनि वा नपरेपनि उनीहरुमा निरासा हुन्न, किनभने त्यो उनीहरुको दिनचर्या हो ।

बिशेषगरि मुसहर जाति नेपालको तराई भू-भागमा बस्ने गर्छन । नेपालको अलावा भारतको बिहार, युपी लगायत बिभिन्न स्थानमा समेत मुसहरको प्रमुख बसोबास रहेको छ । सिमान्तकृत समुदायको रूपमा रहेका मुसहरहरुको आर्थिक,राजनैतिक र सामाजिक हैसियत भने कमजोर छ ।

पछिल्लो तथ्यांक अनुसार यो जातिको साक्षरता प्रतिशतपनि निक्कै तल छ । एक तंथ्याक अनुसार मुसहरको कुल जनसंख्या एकलाख ७२ हजार चार सय चौतिस रहेको छ । जसमध्ये ६ दशमलव ९ प्रतिशत मात्र साक्षर रहेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री