हिन्दी दिवसमा नेपाली र हिन्दी भाषाका कृति लोकार्पण

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्र्तगतको हिन्दी केन्द्रीय विभागले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री  हृदयेश त्रिपाठीले नेपाल–भारत सम्बन्धका बारेमा चर्चा गरेका छन् ।

विश्व हिन्दी दिवसको अवसरमा मन्त्री त्रिपाठीले, कार्यभार राजदूत डा. अजय कुमारले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा साहित्यिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको बताए । सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश डा. अजय कुमारले पढेर सुनाए ।

वीपी कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरियो ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘अश्वत्थामा’ बाह्रखरी बुक्सको ‘उत्कृष्ट कथा–२०७६’, युगकवि सिद्धिचरण श्रेष्ठको ‘काव्यसाधना’, त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागका दुईवटा प्रकाशन ‘साहित्य लोक’ र प्रेम चन्दका ‘पाँच कथा’ पनि लोकार्पण गरियो ।

ती पुस्तकहरुमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीहरुद्वारा नेपालीमा अनुवाद गरेका हुन । विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथाहरु एवम् नेपालीमै अनुवाद गरिएको स्वामी विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश छन् ।

कार्यक्रममा ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरुद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरुको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण गरियो । यी कथाहरु बाह्रखरी मिडियाले नेपालभर आयोजना गरेको कथा लेखन प्रतियोगीताबाट छानिएका थिए ।

समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौंका कलाकारहरुले हिन्दी कविहरुका रचनाको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखक, पत्रकार, हिन्दी तथा नेपाली बुद्धिजीवी, प्राज्ञ र विद्यार्थीहरुको उपस्थिति थियो ।

टिप्पणी थप्नुहोस्