सिद्धबाबा प्रतिष्ठान संकटमा

-प्रल्हाद गुरागाईं
विराटनगर । सिद्धबाबा भनिने कृष्णदास गिरीले सञ्चालन गर्दै आएका चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका महासचिवले पीठबाट राजिनामा दिएका छन् ।

प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरुले राजिनामा दिन थालेपछि बलात्कारको अभियोग लागेका कृष्णदास नैतिक संकटमा गहिरोसंग गाडिदै गएकाछन । आफूलाई जगतगुरु बताउने गिरीले त्रिदण्ड धारण गरेपनि महिला तथा युवतीहरु प्रति नकारात्मक सोच राखेको भन्दै महासचिव भेषराज घिमिरेले राजिनामा दिएका हुन । यस अघि कृष्णदास विवादमा मुछिए लगतै प्रतिष्ठानका सचिव युवराज भट्टराईले राजिनामा दिइसकेका थिए ।

महासचिव घिमिरेले जारी गरेको बिज्ञप्तिमा जगतगुरु रामानन्दाचार्य सेवा पीठका प्रमुख संरक्षक कृष्णदासले चतरालाई धार्मिक, आयुर्वेदिक र योग ज्ञानमा पारंगत बनाउने कुरामा आर्कषण रहेपनि पछि त्यो हराउँदै गएको उल्लेख छ । बिहिबार चतरामा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले २०६७ सालमा स्थापित पीठका प्रमुख संरक्षक कृष्णदासले बिस्तारै चतरा क्षेत्रका बासिन्दाको उपेक्षा गर्दै बाहिरका मानिसहरुलाई संरक्षण दिदै आएको जनाए ।

घिमिरेद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘स्थानीयहरुले केही तर्क गर्दा हनुमानको श्रापले तिमीहरुलाई ध्वस्त पारिदिन्छु भन्न थालियो । कार्यक्रमको आयोजना र आर्थिक कारोबारको जिम्मा अविवाहित महिलालाई दिन थालियो । वहाँले बोलेको सुन्दा एउटा सन्त हैन, एउटा रिसाहा ब्यापारी जस्तो लाग्दथ्यो ।’

पत्रकार सम्मेलनमा उनले आश्रम भित्र संञ्चालन हुने कुनैपनि कार्यमा आफु सहभागी नहुनेमा प्रतिबद्धता जाहेर गरेका थिए । आश्रम भित्र महिलामाथि भएको जघन्य घटनालाई सरकार, न्यायालय र प्रहरीको बलमा मिलाएपनि चतरावासी र समग्र हिन्दु आस्था राख्ने जो कोहीको लागि यो आश्रम अब मान्य नहुने उनको भनाई थियो ।

कार्तिक ६ गते आफ्नो एक अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेर जिल्ला अदालत सुनसरीबाट तीन लाख रुपैया धरौटीमा रिहा भएका कृष्णदास बिरुद्धको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । विराटनगरको विराट नसिङ होमबाट उनी केही दिन अघि मात्र चतराधाम पुगेका थिए ।

टिप्पणी थप्नुहोस्