नवौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपः २० स्वर्णसहित नेपाल प्रथम

-राधेश्याम विश्वकर्मा

रुपन्देही । भारतमा सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप प्रतियोगितामा नेपाल २० स्वर्णसहित प्रथम भएको छ ।

भारतको कोलकता स्थित उलवरिया रविन्द्र भवनमा भएको प्रतियोगितामा अधिकांश खेलाडीहरुले स्वर्ण पदक जित्न सफल भएका हुन । नेपालले २० स्वर्ण २ रजत सहित प्रतियोगितामा २२ मेडल जितेर प्रथम भएको हो ।

नेपालका खेलाडीहरु शहिल गुरुङ्ग, प्रशुन शाही, गौरव पौडेल, आदित्य क्षेत्री, अमिसा पोखरेल, मिलन श्रीस, आशिष खड्का, सुमन परियार, नेहा श्रीस, सन्तु थारु, विपिन राना, रुपा राना, दिलमाया कोइराला, आश्विन खड्का, आकृति राना, रिमा कुमाल, जीवन पुन, सरोज पौडेल क्षेत्री, सुनिल रावतले स्वर्ण पदक प्राप्त गरेका हुन । त्यसैगरी रुपा राना र दिल बहादुर बुढाथोकीले रजत पदक प्राप्त गरेको नेपाल टिमका प्रमुख टिम कोच केवी राना काजीले बताए ।

प्रतियोगितामा श्रीलंका, भुटान, बंगलादेश, नेपाल र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपाली टोलीले १० वर्ष उमेर समुह देखि १९ वर्ष उमेर समुह माथि सम्मको समुहमा २१ जना खेलाडीले प्रतिस्पर्धा गरेको नेपाली टोलीका प्रमुख प्रशिक्षक केवी राना काजीले बताए ।

५ देशका ६ सय खेलाडीहरुको प्रतिस्प्रर्धा भएको प्रतियोगितामा नेपाली टोलीको नेतृत्व जापान गोजुरियो कराँते डो मिसन संघ नेपालले गरेको थियो । नेपाली खेलाडीले करातेको कुमुते र काता विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा ६ जना महिला र १५ जना पुरुष खेलाडीको सहभागिता रहेको मिसन गोजुरियोका केन्द्रिय उपाध्यक्ष सतिस चौधरीले बताए ।

यस अघि पुना, दिल्ली र पटनामा सम्पन्न भएको च्याम्पियनसिपमा टिम च्याम्पियनसिप भएको थियो । (भारतबाट शंकर पाण्डेको सहयोगमा)

टिप्पणी थप्नुहोस्