अस्पतालको सिण्डिकेट विरुद्ध औषधी व्यवसायी आन्दोलित

-सिराज खान
नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजद्धारा नेपालगन्जमा संचालन गरिएको शिक्षण अस्पतालको औषधी विक्री सम्बन्धि प्रावधानलाई लिएर नगरका औषधी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

शिक्षण अस्पतालले त्यहाँ उपचारका लागि आउने विरामीले अस्पताल हाता भित्रको फार्मेसीबाट मात्रै औषधी किन्नुपर्ने प्रावधान लागु गरेपछि औषधी व्यवसायी आन्दोलित भएका हुन् । अस्पतालको आसपासमा रहेका करिव ३५ वटा औषधी पसल बन्द गरेर औषधी व्यावसायी संघ भेरीको अगुवाईमा व्यवसायीहरु आन्दोलनमा उत्रीएका थिए ।

शिक्षण अस्पतालले विरामीले अस्पतालको फार्मेसीबाट मात्रै औषधी किन्नुपर्ने बाध्यात्मक अवस्था सृजना गरेपछि उपभोक्ताको अधिकारलाई हनन् गर्ने काम भएको ठहर गरी आफुहरु आन्दोलन गर्न बाध्य भएको औषधि व्यावसायी संघ भेरीका अध्यक्ष अभय बस्नेतले बताए ।

उनले कुनैपनि विरामीले आफुलाई इच्छा लागेको जुनसुकै पसलबाट पनि औषधी किन्न पाउनु पर्नेमा त्यसो गर्न नदिएर भित्रै खरिद गर्न बाध्य पारेर सिण्डिकेट लागु गरेकोले सो अवस्था खारेज नगरिएसम्म आन्दोलन गर्ने बताए ।

यसैगरी औषधी व्यवसायी संघ बाँकेका अध्यक्ष बसन्त शर्माले उपभोक्ताको अधिकार नै कुण्ठित हुने गरी सिण्डिकेट लागू गरेको कारण बाध्य भएर पसल बन्द गरेर आन्दोलनको बाटो रोज्नु परेको जनाएका छन् । उनले देशको एने कानुनसंग बाझिने यस्ता प्रावधानहरु लागुगर्ने अधिकार कसैलाई पनि नभएको प्रष्ट पारे ।

उता नेपालगन्ज शिक्षण अस्पतालका सह-निर्देशक डा. नितेशकुमार कनोडियाले अस्पतालले सुलभ दरमा र विरामीलाई सहज हुनेगरी फार्मेसी संचालन गरेकाले सबैले त्यहीबाट औषधी खरिद गरेको दाबी गरेका छन् ।

यसैबीच आन्दोलनरत औषधी व्यावसायी र मेडिकल कलेज प्रशासनबीच वार्ता भएको छ । सो वार्तापछि तीन जना औषधी व्यावसायी संघका प्रतिनिधि र मेडिकल कलेजबाट दुईजना गरी पाँच जनाको अध्ययन समिति निर्माण गर्नुको साथै अस्पतालमा आउने विरामीले आफूखुशी औषधी खरिद गर्न पाउने सहमति पनि भएको छ ।

सो सहमति पश्चात आफुहरुले हालका लागि आन्दोलन स्थगित गरेको व्यवसायीहरुले जनाएका छन् । औषधी व्यावसायी संघ भेरीका अध्यक्ष बस्नेतले उपभोक्ता हित अनुसार उपभोक्तालाई बाध्यात्मक परिस्थिति नगर्नको लागि बाँकेका प्रमुख जिल्ला अधिकारी सहितको निर्देशन भएको र अस्पतालले पनि बाध्यात्मक अवस्था सृजना नगर्ने सहमति गरेको जानकारी दिए ।

टिप्पणी थप्नुहोस्