फत्तेबालको सफलता: ३३ बर्षमा २२ लाख विरामीको आँखा उपचार

-सिराज खान
नेपालगन्ज । ३३ बर्षको अवधीमा नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले करिब २२ लाख आँखाका विरामीहरुको उपचार गरेको छ । ती मध्ये ६० प्रतिशतजति भारतीय विरामी रहेको अस्पतालले जनाएको छ ।

शुरुका केही बर्षसम्म अधिकांश भारतीय विरामी मात्रै उपचारका लागि आउने सो अस्पतालमा गत केही बर्षदेखि नेपालका विरामीहरु पनि धेरै आउन थालेका छन् । भारतीय विरामीले राम्रो उपचार पाएको देखपछि पश्चिम नेपालका पनि विरामीहरु सो अस्पतालमा आउन थालेको अस्पताल व्यवस्थापनले जनाएको छ ।

२०४३ सालमा स्थापना भएको सो अस्पतालले हालसम्म २१ लाख ९२ हजार विरामीको उपचार गरेको अस्पतालका प्रवन्धक डा. कौशलकुमार बर्माले बताए ।

३३ बर्षका अवधीमा सो अस्पतालबाट आँखाको उपचार गराउने विरामीहरु मध्ये ६० प्रतिशतजति भारतीय विरामीहरु रहेको जनाउँदै उनले अन्य रोगका विरामी भारत जाने चलन भएपनि आँखाका अधिकांश विरामीहरु भारतबाट यहाँ आउने गरेको बताए ।

डा. बर्माका अनुसार उक्त अस्पतालले वार्षिक डेढ लाखबढी आँखाका विरामीको उपचार गर्दै आएको छ । अस्पतालमा आउने विरामीहरुमा अधिकांश भारतीय रहने गरेका छन् भने अस्पतालले गाउँ गाउँमा गएर शिविर सञ्चालन गर्न थालेपछि नेपाली विरामीको पनि संख्या बढेको छ ।

कप्तान फत्तेजंग शाहले प्रदान गरेको घरजग्गामा १० बेडबाट अस्पतालको शुरुवात गरिएको जनाउँदै उनले अहिले सो अस्पताल २ सय ५० बेडमा पुगेको बताए । सो अस्पताल अन्तर्गत विभिन्न जिल्लामा ६ वटा आँखा उपचार केन्द्र सञ्चालित रहेका छन् ।

३३ बर्षअघि स्थापना भएको पहिलो वर्ष नै ४ हजार ५ सय ६९ जना विरामीको उपचार गरेको उक्त अस्पतालले २०७५–०७६ सालमा आइपुग्दा बर्षमा एक लाख ४५ हजार ९ सय ३० जनालाई सेवा दिएको अस्पतालले जनाएको छ ।

शुरुमा विभिन्न दातृ निकायको सहयोगमा संचालन गरिएको सो अस्पताल गत १८ वर्षदेखि दातृ निकायको अनुदान बिनानै चलिरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रतन कुमार टण्डनले बताए । विरामीको चाप बढ्दै गएपनि अस्पतालले सेवामा निरन्तर सुधार, बिस्तार, आधुनिकीकरण र विविधिकरण गर्दै लगेको उनले जनाए ।

अस्पतालले यस वर्ष आँखाको पर्दा एक्सरे, शल्यक्रियालाई भिडियो रेकर्ड गर्न माइक्रोस्कोपमा भिडियो रेकर्डर, पैथोलोजीका लागि आधुनिक माइक्रोस्कोपजस्ता उपकरणहरु जडान गर्नुका साथै आधुनिक फेको प्रविधिबाट गुणस्तरीय मोतिविन्दु अप्रेसन समेत शुरु गरेको छ ।

नेपालमा अझै पर्याप्त दक्ष र अनुभवी नेत्र विशेषज्ञको अभाव रहेकाले यस अस्पतालमा पनि केही थप विशेषज्ञ चिकित्सकहरुको आवश्यकता परेको अस्पतालका प्रबन्धक डा. बर्माले बताएका छन् ।

विशेषज्ञ विभागहरुका लागि आधुनिक महंगा उपकरणहरुको आफ्नै आयस्रोतबाट व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको जनाउँदै उनले अस्पतालको खर्च निरन्तर बढिरहेको र अनुदानसमेत रोकिएकाले चुनौती बढ्दै गएको बताए । सो अस्पताल आँखाको उपचारका लागि भारत र नेपालका विभिन्न जिल्लामा निकै प्रसिद्ध हुँदै गएको छ ।

टिप्पणी थप्नुहोस्