‘देशको नक्सा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो ?’

‘सीमा बचाऔ अभियान’ले सार्वजनिक गरेको नक्सा

काठमाडौं । कालापानी र लिम्पियाधुरा समेत समावेश गरी नेपालको नक्सा सार्वजनिक गरेको ‘सीमा बचाऔ अभियान’ले मंगलबार सुस्तासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको सम्पूर्ण भूभाग समावेश गरी नक्सा सार्वजनिक गर्दै अभियानले सरकारसँग आधिकारिक नक्सा सार्वजनिक गर्न माग गरेको छ ।

अभियानले नयाँ नक्सालाई देशव्यापी बनाउने जानकारी दिएको छ । तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नक्सा हस्तान्तरण गरी कुटनीतिक पहलबाट समस्या समाधान गर्न अनुरोध गर्ने निर्णय समेत गरिएको जानकारी दिइयो । सार्वजनिक गरिएको नक्सालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थीहरुका माझ वितरण गरिने अभियानले जनाएको छ ।

अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्सा जारी गर्न माग गरे । ‘कि त हामीले तयार पारेको नक्सा बेठिक भन्नुपर्‍यो कि सार्वजनिक गर्नुपर्‍यो,’ रिसालले भने, ‘देशको अतिक्रमित भूभाग समावेश गरी राज्यले तत्काल नक्सा सार्वजनिक गरोस् ।’

वर्तमान सरकारले आफ्नै देशको भू-भाग समेटेर नक्सा सार्वजनिक गर्न अलमल गरिरहेको भन्दै आलोचना गरे । उनले प्रश्न गरे, ‘देशको नक्सा सार्वजनिक गर्न सरकारलाई केले रोक्यो ?’ सरकारले नक्सा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने चेतावनी दिए । सरकारलाई जनस्तरबाट व्यापक दबाब सृजना गर्न आग्रह समेत गरे । यस विषयलाई लिएर गाँउ गाँउमा कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए ।

पूर्व सचिव द्धारिका डुंगेलले सरकासँग तत्काल अतिक्रमित भूभाग समावेश गरी नक्सा सार्वजनिक गर्न माग गरे । नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजकि गर्न माग समेत गरिसकेको बताए । नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिक नभएको बताए ।

परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित नगरकोमा प्रश्न गरे । सीमा बचाउने र आफ्नै नक्साजारी गर्ने मामलामा सरकार उदासिन रहेको भन्दै आलोचना गरे । प्रा.डा नरेन्द्र खनालले अभियानले जारी गरेको नक्सा सरकारलाई सार्वजनिक गर्नुपर्ने बताए ।

नेपाल र भारतबीचको सीमानामा रहेको सुस्ता ठूलो क्षेत्रफलको रहेको खुलाए । मेची क्षेत्रको सीमा विवादमा भारतले मानी सकेको उनको भनाई थियो । तर, पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको विषय अझै समाधान नभएको बताए ।

वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले सरकारले नक्सा सार्वजनिक नगरे देशव्यापी अभियानमा जाने बताए । देशको अतिक्रमित भूभागसहितको नक्साका लागि देशव्यापी आन्दोलनमा जान वाध्य हुने बताए । देशको भूमी एक इन्चपनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भू-भागसहितको नक्सा सरकारले जारी गर्नुपर्ने बताए ।

अभियानको नक्सा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्सा सार्वजनिक गर्नुपर्ने बताए । देशको भू-भाग अतिक्रमणमा परेरको छर्लंंग हुँदा पनि प्रतिरोध गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । भारतले नक्सा, भूमि अतिक्रमण हुँदै प्रशासनिक अतिक्रमण गरी तीन तरिकाले अतिक्रमण गरेको भन्दै नेपाल सरकारले पनि यसरी नै तीन तरिकाले प्रतिरोध गर्नुपर्ने बताए ।

टिप्पणी थप्नुहोस्