सम्बन्धनको लबिंगमा प्रसाईं

विशेष संवाददाता 
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई मार्सी चामलको भात खुवाएर चर्चामा आएका झापा बिर्तामोडमा रहेको बी एण्ड सी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले मेडिकल कलेजलाई सम्बन्धन दिलाउन मिडियाकर्मीलाई मेजमानी खुवाएर लविंगको पहिलो चरण शुरु गरेका छन । लविंगकै भरमा मेडिकल कलेजलाई सम्बन्धन दिलाउने र माओवादीका पूर्व नेताको तेजोबध गर्ने अभियानमा उनी सक्रिय देखिएका छन ।

अंग्रजी नयाँ वर्षको पूर्वसन्ध्यामा काठमाडौंका अठार जना निम्छरा संचारकर्मीलाई प्लेन टिकट थमाएर पूर्वी नेपालको भ्रमण गराउन सफल भएका प्रसाई अहिले राजधानीमा बिभिन्न संचार माध्यममा अन्तर्वार्ता दिन व्यस्त छन । यही क्रममा उनले गत बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरिले आफूसँग २० करोड रुपैयाँ घुस मागेको दावी गरेका छन ।

विवादास्पद पृष्ठभूमि भएका प्रसाईंले आयोगको उपाध्यक्ष बनेका डा. गिरीलाई विवादमा तानेका छन । डा. गिरी गत भदौंमा उपाध्यक्षमा नियुक्त भएका हुन । बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि गत मंसीर १५ गते चिकित्सा आयोगमा निवेदन दिन पुगेपछि घुस माग्न थालिएको प्रसाईको दावी छ ।

प्रसाईका अनुसार सम्बन्धनका लागि आफूले दिएको निवेदन अस्वीकार गरेपछि साँझ व्दारिका होटलमा बोलाएर डा. गिरीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोेखरेल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बुझाउनु पर्ने भन्दै २० करोड घुस मागेका थिए । त्यतिखेर ‘अहिले धेरै रकम दिन सक्दिन, एक, दुई करोड भए दिन सकिन्थ्यो’ भनेपछि डा.गिरीले कलेजको १० प्रतिशत शेयर झापामा रहेका आफन्तको नाममा राखिदिन माग गरेको पनि प्रसाईको भनाई रहेको बताइन्छ ।

उता डा. गिरीले भने २० वर्षयता आफू व्दाारिका होटलमा प्रवेश नै नगरेको बताएका छन । उनले भने, म व्दारिका होटलमा गएको भए सिसिटिभीमा मेरो होटल प्रवेशको फुटेज पक्कै हुनु पर्दछ । त्यसैलाई हेरेर मेरा बिरुध्द कारवाही गरे हुन्छ । अन्यथा जे मन लाग्यो त्यही आरोप लगाउन पाईंदैन । मेरो सार्वजनिक छविमाथी आघात पर्ने गरि आरोप लगाएकोमा म कानुनी उपचारका लागि अदालत जान बाध्य भएकोछु ।

एमाले र माओवादी पार्टीको एकीकरणपछि सत्तारुढ नेकपाभित्रका पूर्व माओवादी नेताहरुको अस्तित्व एकपछि अर्को गर्दै नामेटगर्ने पात्रको खोजी भै रहेको अवस्थामा दुर्गा प्रसाई त्यस्तै खलपात्रका रुपमा देखिएको चर्चा नेकपाभित्रै गर्न थालिएको छ । रोशनी काण्डमा पूर्व सभामुख कृष्णबहादुर महरालाई रोशनी लगाएर जेलबास गराएपछि २० करोड घुसको नयाँ अध्याय रचेर बर्तमान सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम त्यसमा मुछने काम भएकोछ ।

प्रसाईंको मेजमानीमा रमझम

नयाँ वर्षको पूर्वसन्ध्यामा व्यवसायी प्रसाईले केही अनलाईनका संचालक/संचालिकालाई मेजमानी खुवाएका थिए । उनले काठमाडौंका १८ जना संचारकर्मीको प्लेन टिकटको खर्च व्यहोरेर पूर्वी इलाम र दार्जिलिङको शयर गराए । लन्च। डिनरसँगै मदिरापानको समेत व्यवस्था गरे । काठमाडौं फर्कने क्रममा उनले ती पत्रकारहरुलाई ट्याक्सी खर्च भन्दै प्रतिव्यक्ति दश हजार रुपैंया समेत दिएको जानकारी एक अनलाइनकर्मीले दिए । प्रसाईको यो हर्कतले पूर्वी क्षेत्रका संचारकर्मी रुष्ट बनेका छन । स्रोतका अनुसार, काठमाडौंका संचारकर्मीले बीएण्डसी मेडिकल कलेजकों सम्बन्धनका लागि लविङ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रसाईको प्रयोगमा मिडिया

प्रसाईले दिएको पकेट खर्चले चलेका मिडियाहरु अहिले उनको हरेक गतिविधि फैलाउने ध्याउन्नमा छन । घटनाक्रमलाई समाचारयोग्य बनाउन उनले स्वतन्त्र युवा संगठनको उपयोग गरेका छन । युवा संगठनको नाउँमा पटक पटक जेल गएका विजय थापालाई प्रयोग गरेका छन ।

प्रसाईं निकट स्रोतका अनुसार, बी एण्ड सीको सम्बन्धनका लागि उनले सानोठिमिस्थित चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि स्वतन्त्र युवा संगठनको नाममा सयौं बेरोजगारहरु भेला गराएर नाराबाजी गर्न निर्देशन दिएका छन । भाडाका युवाहरुको काम डा. गिरीलाई भ्रष्टाचारीको संज्ञा दिंदै पम्प्लेट, पर्चा वितरण गर्ने रहेको छ । काठमाडौं बसुन्धरास्थित डा. गिरीको निवास वरपर पर्चा टाँस्ने र सामाजिक बहिष्कार गर्न आव्हान गर्ने अर्को जिम्मेवारी पनि थप गरिएको स्रोतको दावी छ ।

प्रसाईले खडा गरेका पात्र विजय थापाले पत्रकार सम्मेलन आगामी माघ १६ गतेभित्र डा. गिरीमाथी छानविन गर्न अल्टिमेटम दिएका छन । थापाले गरेको पत्रकार सम्मेलनलाई प्रसाईंको मेजमानीमा संलग्न संचारकर्मीले भाइरल बनाएका छन । डा. गिरीमाथी कारबाही नभए माघ २२ गतेदेखि चिकित्सा शिक्षा आयोगको मुख्यालय अघि अनशन बस्ने चेतावनी थापाले दिएका छन ।

प्रसाई को हुन ?
व्यवसायी प्रसाई छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न सफल व्यक्तिका रुपमा परिचित छन । नेकपाका नेताहरुलाई चन्दा दिएर रिझाउन सफल प्रसाइले झापाको बिर्तामोडमा ३ सय शैयाको पूर्वान्चल क्यान्सर अस्पताल समेत संचालन गरेका छन ।

चार अर्ब लगानीमा संचालनमा ल्याइएको क्यान्सर अस्पतालको उदघाटनको अवसरमा काठमाडौंका संचारकर्मीलाई प्लेन टिकट सहित मेजमानीका लागि निम्त्याइएको थियो । उनीहरु पुस १४ गते बिर्तामोड पुगेका थिए । एकसाताको रमझम पछि राजधानी फिर्ता भएका ती संचारकर्मीको काम अहिले प्रसाईको हितहुने समाचार सम्प्रेषण गर्नु रहेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री