कोहलपुरका वडाध्यक्ष खड्काको शव भारतको होटलमा भेटियो

-सिराज खान
नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका– १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्काको शव छिमेकी देश भारतको बहराइचस्थित शंकर होटलमा फेला परेको छ ।

वडाध्यक्ष कृष्णबहादुर खड्काको शव बहराइचस्थित शंकर होटलमा फेला परेको जानकारी भारतीय प्रहरीले गराएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

खड्का सुर्खेत जान भनि मंगलवार विहान घरबाट निस्किएको उनको परिवारले जानकारी गराएको जनाउँदै कसरी बहराईच पुग्नुभयो र उनको हत्या भए नभएबारे नेपाल प्रहरीले एक टोली पठाएर अनुसन्धान शुरु गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

भारतीय प्रहरीले विहिबार मात्र पोष्टमार्टम गरेर शव बुझाउने जानकारी गराएको प्रहरी उपरिक्षक ओलीले बताए । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भईरहेको जनाउँदै नगपालिकाकाको पनि एक टोली बहराईचतर्फ गएको नगरपालिकाका प्रवक्ता माधव रिजालले बताए ।

उनले बहराइच गएको टोलीले होटलमा गएर सबै कुरा बुझ्नुका साथै प्रहरीसंग पनि समन्वय गर्ने बताए । उनी कसरी बहराइच पुगे भन्नेबारे प्रहरीले भारतीय प्रहरीको सहयोगमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपाल–भारत सीमानामा रहेको जमुनाहा प्रहरीमा जडान गरिएको सीसी टीवि क्यामेरामा खड्का र उनीसंगै रहेका एकजना १० बजे सीमापारी रिक्सामा गएको देखिएको नेकपाका केन्द्रिय सदस्य मोहम्मद हारुनले बताए । मृतक खड्काका तीन छोरी र तीन छारो रहेको नेकपाका नेता बसन्ती अधिकारीले बताइन् ।

टिप्पणी थप्नुहोस्