वडाध्यक्षको ‘सुसाइड नोट’: बैंकका कारण मर्न बाध्य भएँ

-सिराज खान
नेपालगन्ज । कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काले सिद्धार्थ बैंकका कारण मर्नु परेको ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् ।

कोहलपुरबाट मंगलवार विहान सुर्खेत जान्छु भनि हिडेका खड्काको शव बुधवार विहान भारत बहराईचको शंकर होटलको कोठा नम्बर ४ मा भेटिएको थियो । खड्काको शवसंगै फेला परेको २२ पेज लामो सुसाइड नोटमा उनले सिद्धार्थ बैंकलाई ‘चोर’को संज्ञा दिएका छन ।

वडाध्यक्ष खड्काले सिद्धार्थ बैंकबाट घर धितोमा राखेर २० लाख ऋण लिएका थिए । उक्त ऋण तिर्न नसकेपछि आफुले बैंकलाई लिलाम गर्न भनेको तर बैंकले लिलाम गर्न नमानेर उल्टै टर्चर गरेपछि बाध्य भएर आत्महत्या गर्नुपरेको खड्काले सुसाइड नोटमा खुलाएका छन ।

जीवनको अन्तिम क्षणमा सुसाइड नोट लेख्दै खड्काले सिद्धार्थ बैंकका कारण आफु मर्न बाध्य भएको खुलाएका छन । आत्महत्या गर्नुपुर्व खड्काले सिद्धार्थ बैंकलाई सम्बोधन गर्दै लेखेको सुसाइड नोट उनको शवसँगै होटलमा भेटिएको प्रहरीले जनाएको छ । सुसाइड नोटमा खड्काले विगत १६ महिनादेखी सिद्धार्थ बैंकले आफुलाई मर्नुपर्ने अवस्थामा पु¥याएको उल्लेख गरेका छन ।

बैंकलाई त्रैमासिक रुपमा किस्ता बुझाउँदा समेत बैंकले बारम्बार तनाव दिएकाले आफु मर्न बाध्य भएको सुसाइड नोटमा लेखिएको छ । तिन महिना पहिले समेत आत्महत्याको प्रयास गरेको र आत्महत्याका लागि उपयुक्त ठानेर बहराईचको शंकर होटल रोजेको खड्काले पत्रमा उल्लेख गरेका छन् ।

६८ बर्षका खड्काले भारतको रुपहिडियाबाट सल्फास नामक औषधी किनेर लगेको र सोही औषधी पिएर आत्महत्या गरेको समेत सुसाईड नोटमा लेखेका छन । यद्यपी प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । फेला परेको सुसाईट नोट र त्यसमा उल्लेख भएका विषय अनुसन्धान पछि मात्र पुष्टी हुने प्रहरीको भनाई छ ।

बिहिबार उनको शवको पोष्टमार्टम गरेर शव कोहलपुर ल्याईएको थियो । शुक्रवार बिहान कोहलपुर नजिकको डुडुवा खोला छेउमा उनको अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा जनप्रतिनिधि र विभिन्न दलका नेता कार्यकर्ता सहित ठुलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । खड्का गत स्थानीय तहको निर्वाचनमा कोहलपुर १२ मा एमालेको तर्फबाट वडा अध्यक्षमा बिजयी भएका थिए ।

टिप्पणी थप्नुहोस्