मधेश आन्दोलनका सात शहीद परिवारलाई सम्मान

-सिराज खान
नेपालगन्ज । मधेश र मधेशी जनताका हक अधिकारका लागि मधेश आन्दोलनको क्रममा बाँकेमा शहीद भएका सात जना शहीदका परिवारलाई समाजवादी पार्टी बाँकेले सम्मान गरेको छ ।

समाजवादी पार्टी बाँकेले पार्टी कार्यालयमा आइतवार आयोजना गरेको एक कार्यक्रममा शहीदहरुको योगदानको कदर गर्दै उनिहरुलाई श्रद्धान्जली अर्पण गर्नुका साथै शहीद परिवारलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले शहीदहरुका परिवारलाई अबिर लगाउनुका साथै दोसल्ला ओढाएर सम्मान गरे ।

सो अवसरमा उनले शहीद गुलजार खाँका पिता लाल खाँ, शहीद माता प्रसाद वर्माका छोरा सरस्वति प्रसाद वर्मा र शहीद कोइली कोरीका आफन्त छेदी कोरी लगायत शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख श्रीवास्तवले मधेश आन्दोलनको क्रममा जुन उदेश्यले शहीदहरुले प्राण दिनु भएको थियो त्यो उदेश्य अझै पनि पुरा हुननसकेकोले संघर्ष अझै पनि जारी रहेको बताए ।

शहीदहरुले बलिदान नदिएको भए आज मधेश र मधेशीले सम्मान र अधिकार नपाउने जनाउँदै उनले शहीदहरुको त्याग र बलिदानको जति प्रशंसा गरेपनि कम हुने बताए ।

यस्तै सोही अवसरमा बोल्दै समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुद्दिन राई र उपाध्यक्ष राजन राना मगरले शहीदहरुकै सपना पुरा नभएपछि समाजवादी पार्टीले सरकार छोडेर संविधान शंसोधनका लागि संघर्ष गर्ने निर्णय गरेको बताए ।

सो अवसरमा बोल्दै शहीद माताप्रसाद वर्माका छोरा सरस्वति प्रसाद वर्माले आफ्नो पिता लगायत बाँके र देशभरीबाटै शहीद भएका सयौं शहीदहरुको बलिदानले नै आज आफुहरु यस ठाउँमा पुगेको जनाए ।

सम्मान कार्यक्रममा शहीद गुलजार खाँका पिता लाल खाँले मैन बत्ती बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख श्रीवास्तव लगायतले शहीदहरुको तस्विरमा माल्यापर्ण गरेका थिए ।

०६३ सालमा मधेश आन्दोलनको क्रममा फागुन ५ गते नेपालगन्ज–१२ बेलासपुरका गुलजार खाँ, फागुन १५ गते बाँके पुरैनाका कोइली कोरी र सोही ठाउँका खोडहे गोडिया तथा कमल गिरी, फागुन २५ गते खजुरा–४ का तुलाराम त्रिपाठी र बेलहरी–२ का काशिराम हरिजन तथा चैत १४ गते बेतहनी–३ का माता प्रसाद वर्मा शहीद भएका थिए ।

सम्मान कार्यक्रममा समाजवादी पार्टीको केन्द्रिय संघिय परिसद सदस्य राशिद कुरेशी, प्रदेश नम्बर ५ का कोषाध्यक्ष अम्बिका काफ्ले, सदस्य माजिद अली सेख, उषा गौतम, अनीश शाह, असलम अंसारी, फेज हल्वाई, तबस्सुम अन्सारी, नदीम शाह लगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी थप्नुहोस्