सभामुखमा प्रम ओली प्रचण्डसंग सहमत

-आरती शर्मा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीलाई गलाउँदै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको सभामुखमा अग्नि सापकोटाको छनौटमा सहमत गराएका छन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको छलफलमा सापकोटालाई सभामुखको उम्मेदबार बनाउने सहमति भएको हो ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गरेको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई दुव्र्यवहार गरेको आरोपमा गत असोज १४ गते राजीनामा दिएका थिए । महरा जेल परेपछि सभामुखको लागि नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच रस्साकस्सी चलेको थियो । विवादकै कारण संसदको हिउदे अधिवेशन तीन पटकसम्म सूचना टाँसेर स्थगित भएको थियो । सभामुख पदका लागि प्रम ओलीले सुवासचन्द्र नेम्वाङको नाम प्रस्तुत गरेका थिए । लामो समय सभामुख भैसकेका नेम्वाङ राजनीतिका चतुर खेलाडी मानिन्छन ।

प्रचण्डले अग्नि सापकोटालाई सभामुखका रुपमा प्रस्तुत गरेका थिए । पार्टी एकीकरण हुनु पहिले नै सभामुखको पद माओवादीको भागमा परेकोले त्यसै अनुसार उक्त पदमा माओवादी सांसदकै हुनुपर्ने अडान लिंदै आएका थिए । दुई अध्यक्षबीचको यो खिचातानीमा संसद नै बन्धक हुन पुगेको थियो । प्रधानमन्त्री समेत रहेको ओली र प्रचण्डबीच सभामुख चयनमा मतैक्यता नहुँदा प्रतिनिधि सभा नेतृत्व विहिन हुन पुगेको थियो ।

उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुख पद आफूले पाउनुपर्ने दाबी गरेकी थिइन । नेकपा सचिवालयको शनिबार बसेको बैठकले सभामुखमा पार्टीको उम्मेदवारी दर्ता गर्नका लागि उप सभामुख तुम्बाहाङफेलाई राजीनामा गराउने निर्णय गरेपनि उनी अटेर गर्दै आएकी थिइन ।

तर, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुखको राजीनामा आएपछि सभामुखका लागि छलफलगर्ने निर्णय गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएकी तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएपछि संकट निम्तिएको थियोे । पार्टी एकिकरण अघि पूर्व एमालेको तर्फबाट डा. तुम्बाहाङफे उपसभामुख भएकी थिइन ।

तत्कालीन एमाले र माओवादी केन्दका बीच राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्ष एमालेलाई दिने भागवण्डा भएको थियो । त्यस्तै उपराष्ट्रपति र सभामुख पद माओवादीले पाउने गरि भएको भागवण्डा पार्टी एकीकरणपछि पनि लागू गर्नुपर्ने दाहाल पक्षको तर्क थियो । प्रतिनिधि सभाको आगामी बैठक सोमबार बोलाइएको छ । उक्त बैठकमा सभामुख निर्वाचन प्रक्रिया अगाडि बढनेछ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री