बाह्रबर्ष पछि घर फर्के सन्तोष

  • राधेश्याम विश्वकर्मा

भैरहवा । भारतमा हराउदा सन्तोष ७ बर्षको मात्र थिए । बाँकेको राप्ती सोनारी गाउँपालिकाको विकट क्षेत्रमा बस्ने अमर बहादुर सुनार आफ्ना बालबालिकाहरुको सुन्दर भविष्यको कल्पनागर्दै अनेक अवरोध छिचोल्दै भारतको लुधियानामा काम गर्न हिडेका थिए । कुनै चलचित्रको काल्पनिक दृश्य झै लाग्ने कहाली लाग्दो घटना पनि उनले लुधियानामै भोगे । लुधियाना पुगेका सुनारले ७ बर्षीय छोरालाई रेलमा चढाउदा चढाउदै पछाडि रहेकी उनकी पत्नी लक्ष्मी सुनार रेलमा चढ्न नपाउदै गुडेको रेलले उनको भविष्य पनि गुडाइ दियो ।

एक मात्र छोरा गुमाएका सुनार दम्पत्ति छोरा फिर्ता आउने आशमा लुधियानामै बसे । सक्दो प्रयास गर्दा पनि छोरा नपाए पछि उनिहरुले छोरा फेलापार्ने आश मारिसकेका थिए । तर अहिले तिनै दम्पत्तिका हराएका सन्तोष १९ बर्षको लक्का जवान भएपछि आमाबाबुलाई भेटेका छन् । ७ बर्ष हुदा हराएका सन्तोष १२ बर्ष पछि भेट्दा आमा लक्ष्मी सुनारका हर्षका आँशु थामिनसक्नु थियो ।

हराएका सन्तोष अन्ततः नेपालमै भेटिए । आमा बाबुले उनलाई भारतमा खोजी गर्दै गरेको र यता सन्तोष बस्ने अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले पनि आफ्नै तरिकाले सोधखोज गर्दै जाँदा १२ बर्ष पछि आमाबाबुको सुखद मिलन हुने संयोग जुरेको थियो ।
भारतमा हराएका सन्तोष कसरी नेपाल आई पुगे ? घटना रोचक छ । नेपालमा रहेको मानव कल्याण मित्र मञ्चले बिभिन्न कारणले भारतमा हराएका बालबालिकाहरुको खोजी गर्ने क्रममा भारत लखनऊको चाईल्ड वेलफेयर कमिटीमा रहेका ४ जना बालबालिकालाई गत बर्ष नेपाल ल्याएको थियो । भारतीय अनाथ आश्रमले नेपाली बालबालिकाहरुको उध्दार गरि दिन आग्रह गरेकोले आफुहरुले सबै प्रक्रिया पु¥याएर चार जनालाई नेपाल ल्याएको मानव कल्याण मित्र मञ्चका अध्यक्ष दुर्गा प्रसाद अर्यालले बताए ।

उनीहरुलाई ल्याएर रुपन्देहीको कोटिहवामा रहेको अविनाश अनाथ आश्रममा राखिएको थियो । हराएका बच्चाहरुमा बिजय तामाङ्ग, राजेश कुमार र सुमित कुमारका अभिभावक पहिले नै सम्पर्कमा आइ उनिहरुलाई घर लगि सकेका थिए । सन्तोषका अभिभावक भने भेटिएका थिएनन् । नेपाल आएको एक बर्ष पछि सन्तोषले पनि आफ्नो अभिभावक पाएका छन् । अविनाश अनाथ आश्रमले सन्तोष सुनार दम्पत्तिकै छोरा भएको एकिन गरेपछि उनिहरुलाई जिम्मा लगाई दिएको आश्रमका अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले बताए ।

सानैमा सन्तोषको गोडामा आगोले पोलेको थियो र खत बसेको थियो । त्यही खत नै उनको आमा बाबु भेट्टाउने मुख्य निशानी बन्यो । आमा लक्ष्मी सुनारले बताइन, सक्दो खोजी गर्दा पनि छोरा नभेटिए पछि मैले त आशा मारेको थिएँ । तर अहिले छोरा भेट्टाएपछि सबै दुःख भुलेकोछु ।

टिप्पणी थप्नुहोस्