भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन भयो, विराटनगरको आईसीपी

विराटनगर । विराटनगरमा रहेको नेपाल भारत एकीकृत जाँच चौकीको (आईसीपी) विधिवत शुभारम्भ मंगलबार भएको छ । विराटनगर महानगरपालिका १८ बुधनगरमा निर्माण भएको आईसीपीको नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गरे पश्चात शुभारम्भ भएको हो । एकीकृत जाँच चौकी पूर्ण क्षमतामा सञ्चालन हुन अझै ११ दिन लाग्ने बताइएको छ ।

भिडियो कन्फ्रेन्स मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईसीपी हस्तान्तरण गरे पछि दुबै देशका प्रधानमन्त्रीले स्वीच दवाएर संयुक्त रुपमा उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले काठमाडौं र भारतीय प्रधानमन्त्री मोदीले नयाँ दिल्लीबाट आईसीपीको उद्घाटन गर्दा आईसीपी निर्माण गरिएको स्थानमा डिसप्ले बोर्ड राखिएको थियो ।

आइसीपीको उद्घाटन गरे पछि आयोजित समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अब नेपालतर्फ मालवस्तु लिएर आउने मालवाहक सवारी दुई–दुई हप्तासम्म सीमापारि बाटामा थन्कनु पर्ने अवस्थाको अन्त्य हुने विश्वास ब्यक्त गरे । जसका कारण उद्यमी ब्यवसायीलाई फाइदा पुग्ने उनको भनाई थियो ।

कार्यक्रममा वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकाल, नेपालस्थित भारतीय राजदूतावासका प्रथम अर्थ सचिव प्रभजितसिंह गुलाठीले आइसीपीका कारण दुबै मुलुकलाई फाइदा पुग्ने उल्लेख गरे । आईसीपीमा इमिग्रेसन, बैंकिङ, क्वारेन्टाइन, सुरक्षा र नापतौल लगायतका सबै सुविधा रहने छ । यद्धपि अहिले बैंकिङ, इन्टरनेटको नेटवर्किङ र भन्सार एजेन्ट बस्ने स्थानको प्रबन्ध भने भईसकेको छैन ।

आइसीपीको परामर्शदाता राइट्स कम्पनीका जनरल म्यानेजर बीएस रावलका अनुसार भन्सार जाँचपास, इमिग्रेसन र सुरक्षा गरी तीन प्रकारका मुख्य काम आइसीपीबाट हुने छ । आइसीपी परिसरभित्र ५ सय ट्रकहरू अट्ने र यहाँ एअर कन्डिसनर कार्गो पनि आउनेछन् ।
सन् २००५ मा नेपाल र भारतबीच भएको समझदारी अनुसार वीरगञ्ज र विराटनगरमा आइसीपीको निर्माण भएर सञ्चालनमा आईसकेको छ । नेपालगञ्ज र भैरहवामा आइसीपी निर्माण कार्य बाँकी रहेकोछ । नेपालको आइसीपीमा ५० हजार वर्ग फिटका भवनहरू, २ लाख वर्गफिटको पार्किङसहित क्वारेन्टाइन र डर्मेटरी लगायतका सुविधा रहेको छ । विराटनगरको आइसीपी १ सय २९ बिघा क्षेत्रफलमा रहेको छ ।

टिप्पणी थप्नुहोस्