चीनबाट आएका युवामा कोरोना भाइरस, हङकङबाट आएका निगरानीमा

-आरती शर्मा
काठमाडौं । चीनको युवान क्षेत्रबाट स्वदेश फर्किएका नेपाली युवामा नोबेल कोरोना भाइरस पाइएको छ । ३१ वर्षीय ती युवाको निश्चित निदानका लागि हङकङस्थित प्रयोगशालामा पठाइएकोमा कोरोना भाइरस भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपाली युवामा भाइरस पाइएको पुष्टि गरे । नेपालमा प्रारम्भीक जाँच गरि थप निदानका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोलाबोरेटिङ सेन्टरमा पठाइएको थियो । सेन्टरले विहिवार नेपालमा प्रयोगशाला परिक्षणको रिपोर्ट पठाएपछि स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समन्वय महाशाखाका प्रमुख श्रेष्ठले भने,‘ एउटा व्यक्तिमा जाँच गर्दा पोजेटिभ आएको छ । अहिले ती व्यक्तिमा लक्षण देखिएको छैन । प्रत्यक्ष निगरानीमा राखिएको छ ।’ भाइरस संक्रमित भएको रिपोर्ट चौबिस घण्टाभित्र डब्लुएचओमा सरकारले पठाउने उनले जानकारी दिए ।

३ माघमा डिस्चार्ज गरिएका ती युवाको बारेमा व्यक्तिगत गोपनियताको ख्याल गर्दै अन्य विवरण सार्वजनिक गरिएको छैन । कोरोना भाइरस भएको पुष्टि पछि परिवारका अन्य सदस्य, सम्पर्कमा रहेका स्वास्थ्यकर्मी र साथीहरुको पनि बारेमा पनि रिपोर्ट लिइएको छ । ज्वरो आउने लगायतका कोरोना भाइरसका कुनै लक्षण देखिएको छैन । शुक्रराज ट्रपिकल अस्पतालमा जँचाउन आउँदा ती युवाले ज्वरो आएको र श्वासप्रश्वासमा गाह्रो भइरहेको बताएको एक चिकित्सकले बताए ।

हङकङबाट आएका निगरानीमा

हङकङबाट स्वदेश आएका अर्का एक विरामीलाई कोरोना भाइरसको आशंकामा चिकित्सकले प्रत्यक्ष निगारानीमा राखेका छन ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार, ती विरामी शंकास्पद नभए पनि निगरानीमा राख्न आवश्यक ठानिएको छ । ‘ एक विरामीलाई अब्जरभेसनमा राखिएको छ । हङकङबाट आएको हुनाले जोखिम केहि छ की भनेर निगरानीमा राखिएको हो ।

ज्वरो आउने, श्वासप्रश्वासमा कठिनाई हुने लगायतका लक्षण केहि देखिएको छैन ।’ ती विरामीलाई ग्राण्डि इन्टरनेशनल अस्पतालले रेफर गरेको थियो । अस्पतालका निर्देशक डा. पाण्डेले ती विरामीको पनि थप निदानका लागि स्याम्पल पठाइने बताए । उनले भने,‘जतिसक्यो छिटो परिक्षणको लागि बाहिर पठाउँछौं ।’

विमानस्थलमा उच्च सतर्कता

कोरोना भाइरसको पुष्टि भएको र अर्का व्यक्तिलाई निगरानीमा राखिएपछि सरकारले त्रिभुवन विमानस्थलमा उच्च सतर्कता अपनाएको छ । विमानस्थलमा रहेको हेल्थ डेस्कलाई चौबिसै घण्टा सक्रिय बनाइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठका अनुसार, तीन जना चिकित्सक,तीन जना नर्स सहित ८ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । त्यस्तै विमानस्थलमा स्वास्थ्य जाँचका लागि ५ वटा उपकरण पनि जडान गरिएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार, विमानस्थलमा विशेष स्वास्थ्य निगरानी अघि बढाइएको छ । थर्मल स्क्यानर जडान गरिएको छ । थर्मल स्क्यानरले शंकास्पद विरामीलाई छुटुयाउन सजिलो हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले यसको हेल्प डेस्कलाई अझ उन्नत, व्यवस्थित र परिमार्जित गर्दैै राज्यको तर्फबाट ध्यान दिने प्रतिबद्धता व्यक्ति गरे ।

के हो कोरोना भाइरस ?

यो नयाँ प्रजातिको भाइरस हो । यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीब्र श्वासप्रश्वाससम्म गराउन सक्दछ । कोरोना भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्छ । जनाबरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हालसम्म छैन । मानिसमा कसरी यो भाइरसबाट संक्रमित भएका भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

सन् २००३मा देखिएको सार्स र नोबेल कोरोना भाइरस एउटै प्रजातिका भाइरस हुन । दुवै भाइरसले विरामीलाई गम्भीर बनाउन सक्छन । नोबेल कोरोना भाइरस मानिसहरुबीच सजिलै सर्न सक्छ भनेर अझैं पुष्टि भएको छैन

मानिसमा कसरी यो भाइरसबाट संक्रमित भएका छन भन्ने बारे आजसम्म वैज्ञानिक तबरले पुष्टि भएको छैन । यस विषयमा हाल अनुसन्धान भइरहेको छ । सामान्यतः यस भाइरसको संक्रमण कसरी हुन्छ भन्ने बारेमा यकिन छैन । तथापि, रुघाखोकी र श्वासप्रश्वासका विरामीको नजिक नजाने र हातको सरसफाई नियमित गरेमा संक्रमणको संभावना कम रहन्छ । यस भाइरसले गर्दा हुने रोगको खास उपचार छैन । यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ । विरामीको उपचार लक्षणको आधारमा गरिन्छ । यस भाइरसको विरुद्ध कुनै खोप उपलब्ध छैन ।

रोगको सीमा छैन-
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल

अरु भन्दा यो विषय अत्यन्तै संवेदनशील हो । तपाईं ,हाम्रो असावधानिले पनि मान्छेमा धेरै भय, त्रास, आतंक सिर्जना हुन सक्छ ।रचनात्मक सहयोग गर्ने खालको वातावरण बन्यो भने आम नागरिकलाई सचेत गराउने र यो रोगबाट बचाउने कुराको लागि सहयोगी बन्न सक्छौं । अन्तर्राष्टिय त्रिभुवन विमानस्थलमा जे व्यवस्थापन गर्दै छौं । यसको भोलिको रुप हेरेर अझ उन्नत, व्यवस्थित र परिमार्जित गर्दैै राज्यको तर्फबाट ध्यान दिने छौं ।

यहाँहरु सबैको सजगताले यो रोगबाट बच्ने कुराको लागि र फैलन नदिनका लागि निम्ति, जनतामा चेतना ल्याउनका लागि तपाईहरुको भूमिका सकारात्मक होस । यो आग्रह गर्न चाहन्छु । रोगहरुको सीमा छैन । सबैतिरबाट आउँछ । आवश्यक सावधानिमा रहने हो । क्षमताले भ्याएसम्म राज्यको तर्फबाट रोगको भय आतंक प्रवेश गर्न नदिन र रोग निर्मूलका लागि हाम्रो सजग प्रयत्न रहने छ ।

(मन्त्रालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा व्यक्त अभिव्यक्ति )

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री