‘लोकतन्त्रमा विरोध भइरहन्छ’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई आइतबार पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट शपथ लिएका हुन ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।

सपथग्रहणपछि सभामुखका सपरिवारले सामुहिक तस्बिर खिचाए । प्रतिनिधिसभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

पदभार ग्रहणपछि बोल्दै सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसलाई पारित गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिए । सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सभामुख सापकोटाले एमसीसीबारे बहस छेडिएको र सबैले अध्ययन गर्नुपर्ने भन्दै पारित गर्न हतारिन आवश्यक नरहेको टिप्पणी गरे ।

अर्को एक प्रसंगमा सभामुख सापकोटाले आफ्नो विरोधमा भइरहेको प्रदर्शनलाई लोकतन्त्रको अंगको रुपमा लिएको बताएका छन् ।

‘लोकतन्त्रमा विरोध भइरहन्छ । यसलाई अन्यथा लिएको छैन’–उनले भने । उनले आफूविरुद्ध अदालतमा रहेको मुद्दा प्रक्रियामा रहेकाले त्यसबारे बोल्नु मनासिब नहुने बताए ।

आफूविरुद्ध उठेका प्रश्नहरुको निरुपण हुँदै जाने भन्दै सभामुख सापकोटाले के सही हो र के गलत हो भन्ने कुरा करोडौं जनतामा गएकाले हतारित आवश्यक नरहेको प्रतिक्रिया दिए । प्राथमिकताका आधारमा संसदका कामलाई अगाडि बढाउने पनि उनले बताए ।

सभामुख सापकोटाले जननिर्वाचित संसदको प्रतिष्ठालाई माथि उठाउने गरी काम गर्ने भन्दै प्रतिपक्षलाई समेट्न निकै राम्रो आधार तयार भएको उल्लेख गरे ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री