नेपालगन्ज उद्योग वाणिज्य संघमा मन्सुरीको प्यानल विजयी

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा समावेशी प्यानलका अव्दुल वाहिद मन्सुरी २७६ मतान्तरले विजयी भएका छन् ।

मत गणनाको अन्तिम परिणाम अनुसार मन्सुरी नेतृत्वको प्यानलले बहुमतसहित विजय हासिल गरेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार समावेशी प्यानलका मन्सुरीले साझा प्रजातान्त्रिक समुहका ललितकुमार रौनियारलाई २७६ मतले पराजित गरे ।

१९ सदस्यीय कार्यसमितिको निर्वाचनमा अध्यक्षसहित एक जना उपाध्यक्ष र नौ जना सदस्य गरेर समावेशी प्यानलले प्रष्ट बहुमत प्राप्त गरेको छ । उद्योगतर्फको उपाध्यक्षमा समावेशी प्यानलका आदेशकुमार अग्रवालले साझा प्यानलका उनका प्रतिष्पर्धी तपेन्द्र शाहलाई ६ मतको झिनो अन्तरले पराजित गरेर विजयी भए ।

यस्तै वाणिज्य तर्फको उपाध्यक्षमा साझा प्यानलका अमित बस्नेतले उनका प्रतिष्पर्धी समावेशी प्यानलका ज्ञानेन्द्रकुमार श्रेष्ठलाई २६४ मतले पराजित गरेको निर्वाचन समितिले जनाएको छ । खुला १२ सदस्य मध्ये समावेशी प्यानलबाट आठ र साझा प्यानलबाट चार जना विजयी भएका छन् ।

सदस्यमा विजयी हुनेहरुमा समावेशी प्यानलबाट हरिलाल न्यौपाने, चिरञ्जीवी ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी (बासु), मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंक बहादुर धामी र भिम बहादुर रानाभाट हुनुहुन्छ भने साझा समुहबाट टंक प्रसाद शर्मा, बिन्दु चर्तीमगर, बिष्णु प्रसाद श्रेष्ठ र टेक बहादुर खड्का रहेका छन् ।

यसैगरी एशोसिएट्सतर्फको सदस्यमा साझा प्यानलका संजय अग्रवाल समावेशी प्यानलका दिपेन्द्र विष्ट विजयी भएका छन् । सोही प्रकारले वस्तुगततर्फको सदस्यमा साझा प्यानलका सलाउद्दिन जसगढ विजयी भएका छन् भने अर्को एक सदस्यका लागि साझा प्यानलका बद्री श्रेष्ठ र समावेशी प्यानलका भिमलाल कँडेलले १२–१२ मत प्राप्त गरेका छन् । वस्तुगततर्फ एक मत हराएको छ । उनीहरुलाई आधा आधा कार्यकाल दिने सहमति भएको प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिंहले बताए ।

अधिकृत सिहंका अनुसार संघमा तीन हजार ४६ मतदाता रहेकोमा दुई हजार ७९० मत खसेको थियो । विजयी भएपछि पहिलो प्रतिक्रिया दिंदै अध्यक्ष मन्सुरीले सबै व्यवसायीलाई संगै लिएर सबैको हितका लागि काम गर्ने तथा नेपालगन्जलाई आर्थिक हब बनाउन बिशेष ध्यान दिने बताएका छन् ।

सोही प्रकारले विजयी उम्मेदवारहरुले नेपालगन्ज बजारमा विजयी जुलुस निकालेर मतदाताको पसल पसलमा पुगेर आभार समेत व्यक्त गरेका छन् । बाजागाजासहित जुलुस निकालेर नगरका विभिन्न भागमा परिक्रमा गराईएको छ ।

सोही अवसरमा एक धन्यवाद सभाको समेत आयोजना गरिएको थियो । सो सभामा बोल्ने अधिकांश वक्ताले समावेशी प्यानललाई जिताउने मतदाताप्रति आभार व्यक्त गर्दै व्यवसायीको हकहितका लागि काम गरिरहने प्रतिवद्धता दोहोर्याएका थिए ।

टिप्पणी थप्नुहोस्