अत्याधिक कुहिरोले बढ्यो दुर्घटना : ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

-राधेश्याम विश्वकर्मा
भैरहवा । तराई क्षेत्रमा लागेको अत्याधिक कुहिरोको कारण मंगलबार दुईवटा ट्रक एक आपसमा जुध्दा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य नौं जना घाइते भएका छन् ।

मंगलबार बिहानै भैरहवा–भुमही सडक खण्डको रोहिणी गाँउपालिका–४ छिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु१ख ६७४५ नम्बरको ट्रक र परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ ट्रक एक आपसमा ठोक्किदा तीन जनाको घटनास्थलमै ज्यान गएको र नौं जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका– ४ बस्ने लालु कुर्मी, सोही ठाउँ बस्ने ३५ बर्षीय भविकन कुर्मी र सुनसरी जिल्ला चतरा बस्ने अन्दाजी ३५ बर्षीय पूर्ण बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

सोही दुर्घटनामा परी अन्य नौं जना घाईते भएका छन् । घाइतेहरुको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज र भिम अस्पतामा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशव ज्ञवालीले जानकारी दिए ।

यस्तै सोही दुर्घटनामा ना ५ ख ७८५६ नम्बरको ट्रकमा सामान्य क्षति पुगेको प्रहरी निरीक्षक ज्ञवालीले जानकारी दिए । बिहानपख लागेको अत्याधिक कुहिरोले यस क्षेत्रमा दुर्घटना बढाएको छ । कुहिरो र तिव्र गतिका कारण यसै सडक खण्डको अन्य स्थानहरुमा पनि दुर्घटनाको खबरहरु आइरहेकोले होसीयारी पूर्वक सवारी हाँक्न प्रहरीले अनुरोध गरेको छ ।

टिप्पणी थप्नुहोस्