एमसीसीमा पार्टी गुटको गन्ध आउनु दुर्भाग्य

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले निर्विरोध निर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य र मान्यताअनुरुप सभा सञ्चालन गर्नुहुने विश्वास व्यक्त गरेका छन् । समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद् सञ्चालनमा सभामुख सापकोटाले कुशल व्यक्तिका रुपमा भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गरे ।

“प्रतिनिधिसभा लोकतन्त्रको शक्तिशाली अङ्ग हो, हामी सबैले जनप्रतिनिधिसभालाई उच्च स्थानमा राख्ने गरेको भए पनि राज्यका तीन अङ्गको स्थान उदारवादी लोकतन्त्रले आफ्नो उदारता भुल्दै गएको छ, समाजवादी लोकतन्त्रले पनि लोकतन्त्रका कतिपय विषय छाड्दै गयो”, उनले भने ।

प्रतिनिधिसभाको स्थान तल परेको उल्लेख गर्दै नेता भट्टराईले राज्यको प्रमुख राष्ट्रपति, उपराष्ट्रपतिपछि सभामुख उच्च स्थानमा हुनुपर्नेमा जोड दिए । “हामीले प्रधानमन्त्रीलाई माथि राख्यौँ, तर अहिले प्रधानन्यायाधीश जसले संसद्ले बनाउने कानूनको व्याख्या गर्छ, उसलाई सभामुखभन्दा माथि राखिएको छ, यसमा सभामुखको ध्यान जाओस्, संसद् भनेको मूलतः प्रतिपक्षकै हो, विश्वका धेरै देशको संसद् सञ्चालन यसरी नै भएको देखेको छु”, उनले भने ।

अन्य देशका सभामुखले प्रतिपक्षको आवाजलाई प्राथमिकता दिने गरेको नेता भट्टराईले सुनाए । झिनामसिना विषयमा संसद् अलमलिएर राष्ट्रिय मुद्दामा जीवन्त हुन नसकेकोउनले बताए ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) विषयमा अहिले भइरहेको छलफल राष्ट्रिय मुद्दाका रुपमा नभई पार्टीको गुटका आधारमा हुनु गलत रहेको उनको भनाइ थियो ।

“अहिले एमसीसीमा जस्तो कुरा आइरहेको छ । राष्ट्रिय कोणबाट भन्दा पनि एउटा पार्टीको गुटहरूको द्वन्द्वको गन्ध त्यसमा देखापरिरहेको छ । यो सुखद् विषय होइन । यस्तो विषयमा गहन छलफलको नीति हुनुपर्छ,” उनले भने ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री