वीरेन्द्रनगर दिनभर तनावग्रस्त, प्रदर्शन चर्किएपछि कर्फ्यु

-सिराज खान
नेपालगन्ज । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा टिप्परले किच्दा मंगलवार विहान एक जनाको मृत्युु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ । विरोध प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा बेलुका साढे ६ बजेदेखि बुधवार विहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

वीरेन्द्रनगर–४ मुलपानी चोक नजिक मंगलबार बिहान करिब सवा आठ बजे भे १ ख २२४२ नम्बरको ट्रिप्परले टक्कर दिंदा भे ६ प २१७८ नम्बरको मोटरसाइकल चालक कालिकोट महावै गाउँपालिका–३ घर भैइ हाल वीरेन्द्रनगरमा रहेका २० वर्षीया केशर सिंहको मृत्यु भएको थियो ।

टिप्पर चालकलाई कडा कारबाहीका साथै क्षतिपूर्तिको माग गर्दै आन्दोलन शुरु गरिएको थियो । आन्दोलनकारीले प्रहरी बिटमा समेत आगजनी गरेका थिए । प्रहरीले भीडलाई तितरवितर पार्न अश्रु ग्यास, रबरको गोली हाने पनि भीड नियन्त्रण गर्न सकेको थिएन । केही राउण्ड हवाई फायर समेत गरेको थियो ।

टिप्पर चालकले लापरवाही गरेर मोटरसाइकललाई टक्कर दिएको भन्दै स्थानीयले विरोध शुरु गरेपछि दिनभरी त्यहाँ प्रदर्शनहरु भएका थिए । वीरेन्द्रनगरका विभिन्न भागहरुमा दिनभरी प्रहरी र आन्दोलकारीहरुबीच दोहोरो झडप भएका थिए ।

भीडलाई नियन्त्रणमा लिनको लागि प्रहरीले एक दर्जन भन्दा बढी रबरको गोली चलाएको तथा दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार दोहोरो झडपमा आधा दर्जन बढी प्रर्दशनकारीहरु घाइते भएका छन् ।

स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत आठ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि स्थानीय अस्पतालमा लगिएको जनाइएको छ ।

आन्दोलनले उग्ररूप लिंदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको र अज्ञात समूहले गोली चलाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) डिल्लीराज पन्तले बताए । उनले प्रहरीले गोली चलाएको अस्वीकार गरे ।

आन्दोलनले उग्ररुप लिंदै गएर नियन्त्रण भन्दा बाहिर जान थालेपछि स्थानीय प्रशासनले सुरक्षा समितिको निर्णय बमोजिम मंगलवार बेलुकी साढे ६ बजेदेखि बुधवार विहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले बताए ।

उनले विरेन्द्रनगरको पूर्वमा इत्राम खोलासम्म, पश्चिममा बांगेशिमलसम्म, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर दक्षिणसम्म कर्फ्यु लगाइएको बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री