राजपा नेपाल सरकारमा जाँदैनः महेन्द्र राय यादव

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्र राय यादवले आफ्नो पार्टी केन्द्रीय सरकारमा जानेबारे कुनै छलफल नभएको स्पष्ट पारेका छन् ।

उनले भने,‘सरकारमा सहभागी हुनेबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन् । त्यसैले सरकारमा जाने सम्भावना छैन् । सरकारमा जानेबारे हामीसँग नैतिक धरातल छैन । असोज ३ गतेलाई हामी कालो दिवसको रुपमा मनाउँछौं । अर्को कुरा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन् ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले सरकारमा सहभागी हुने कुरा आफूहरुको प्राथमिकता नभएको जिकिर गरे ।

उनले भने,‘राष्ट्रिय जनता पार्टी नेपाल सरकारमा जानको लागि ईच्छुक छैन् । तर, हाम्रा माग र मुद्दा सम्बोधन गरियो र एउटा वातावरण सहज बन्यो भने र हाम्रा सबै काम सम्पन्न भए भने हामी त्यतिवेला विचार गर्न सक्छौं । हाम्रा विगतका मुद्दा र मागलाई यो सरकारले सम्बोधन गरोस् । तर, अहिले सरकारमा जाने स्थिति छैन् ।’

साक्षात्कारमा बोल्दै उनले आफ्नो पार्टीले प्रतिनिधिसभाको लागि उपसभामुख नमागेको स्पष्ट पारे । उनले भने,‘हामीले उपसभामुख हाम्रो पार्टीलाई देउ भनेर मागेका छैनौं । यो सरकारले हामीलाई उपसभामुख किन दिन चाहेको छ ? हामीले बुझ्न सकेका छैनौं ।’

वर्तमान सरकारले संविधान संशोधन गर्छ भन्ने कुरामा आफूहरु अझैपनि विश्वस्त रहेको संयोजक यादवको भनाई छ । मधेश आन्दोलनका घाइतेहरुको अझैपनि उपचार हुन नसकेको र मुद्दा लागेका कार्यकर्ताहरु फरार रहेको सुनाउँदै उनीहरुको माग पूरा गर्नुपर्ने उनले सुझाए ।

यादवले राजपा नेपाल र समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढिरहेकोले एकता हुने विश्वास दिलाए । यादवले प्रदेश नम्बर २ को राजपा नेपाल–समाजवादी पार्टीबीचको सरकारको वर्तमान गठबन्धन नटुट्ने पनि दाबी गरे ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री