कोरोनाका लागि सर्तकता बढाइयो, सीमामा दुवैतर्फ ‘हेल्थ डेस्क’

-राधेश्याम विश्वकर्मा

भैरहवा । चीनबाट फैलिंदै गएको कोरोना भाइरसको जोखिममा नेपाल पनि पर्ने भएकोले सीमामा सर्तकता अपनाउन थालिएको छ । स्थल नाका हुँदै सबैभन्दा बढी पर्यटक भित्रयाउने बेलहिया सीमा नाकामा कोरोनाबारे चेकजाँच तथा यसको सचेतनाको लागी हेल्थ डेस्क स्थापना गरिएको छ ।

यस्तै भारतले पनि आफ्नो देशमा आउने बिभिन्न पर्यटकहरुलाई लक्षित गरि हेल्थ डेस्क स्थापना गरेको छ । बेलहिया–सुनौली नाका भएर दैनिक सयौंको संख्यामा पर्यटक आवागमन हुने भएकोले यस क्षेत्रमा सर्तकता बढाइएको हो । भारतमा गत मंगलबारदेखि नै हेल्थ डेस्क राखी सेवा प्रदान भईरहे पनि नेपालतर्फ विहीबारबाट मात्रै डेक्स खडा गरिएको छ ।

अध्यागमन कार्यालय नजिकै राखिएको हेल्थ डेस्कमा सर्वप्रथम भिसाको लागी आउने बिदेशी पर्यटकहरुलाई परामर्शको लागी क्याम्पमा पठाउने गरिएको छ । क्याम्पमा रहेका स्वास्थ्यकर्मीहरुको परामर्शपछि शंकास्पद पर्यटकलाई नजिकैको अस्पतालमा थप चेकजाँचको लागि पठाउने ब्यवस्था गरिएको छ ।

अध्यागमन कार्यालय भैरहवाका प्रमुख गिरीराज खनालका अनुसार अध्यागमन कार्यालयमा बिभिन्न देशबाट आउने पर्यटक र टुर गाईडहरुलाई भिसा दिनु अगावै हेल्थ क्याम्पमा परामर्शको लागि पठाउने गरेको बताए ।

यसरी परामर्शका लागि आएका पर्यटकहरु मध्ये शंकास्पद र असल समस्या भएको ब्यक्तिको पहिचान गरी भैरहवाको भीम अस्पताल अथवा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पठाउने ब्यवस्था भएको अनमी गंगा कंडेले जानकारी दिइन ।

विहीबार बाट सुरु भएको डेस्कमा अहिलेसम्म शंकास्पद बिरामी भने भेटिएका छैनन । नेपाल मात्र हैन भारततर्फ पनि मंगलबार नै डेस्कको स्थापना भए पनि अहिलेसम्म त्यस्तो बिरामी देखिएका छैनन् । भारतमा पहिलो दिन ११ दोस्रो दिन ६७ र तेस्रो दिन २० जना बिरामीलाई परामर्श दिइएको थियो । नेपालमा जस्तै भारतमा पनि अध्यागमन कार्यालय मार्फत आउने पर्यटकलाई परामर्श गरी शंकास्पदलाई सरकारी अस्पतालमा पठाउने ब्यवस्था गरिएको डा. शेफाली गुप्ताको भनाई छ ।

हेल्थ क्याम्प बिहान ७ बजेदेखि साँझको ८ बजेसम्म संचालन हुदैछ । सार्क मुलुक लगायत अन्य राष्ट्रबाट पनि यहि नाका हुँदै पर्यटकहरु भित्रिने गरेका छन् । भैरहवामा स्थापना भएको हेल्थ डेस्कमा सिद्धार्थनगर नगर पालिका कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय, स्वाथ्य कार्यालय, भिम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, सुरक्षा निकायहरुको समन्वयात्मक भुमिका रहेको छ ।

टिप्पणी थप्नुहोस्