संक्रमितलाई आइसोलेसनमा,स्वस्थलाई क्वारेन्टाइनमा

-आरती शर्मा
काठमाडौं । चीनबाट “उद्धार गरि” स्वदेश ल्याइने नेपाली विद्यार्थीको स्वास्थ्य जाँचपछि सरकारले उनीहरुको सुरक्षित व्यवस्थापनगर्ने भएको छ । व्यवस्थापनका लागि विभिन्न प्रस्तावित स्थानको अवलोकन गरि छलफल भइरहेपनि अझैं टुंगो लागेको छैन ।

स्वास्थ्य जाँचका आधारमा बिद्यार्थीमा नोबेल कोरोना भाइरस संक्रमण भएको पाइएमा विद्यार्थीलाई तोकिएको अस्पतालको आइसोलेसन वार्डमा राखिनेछ । संक्रमित नपाईएमा निगरानीको लागि छुट्टै स्थान (क्वारेन्टाइन)मा राख्ने पूर्व तयारी गरिएको छ । स्वदेश फर्कन लागेका विद्यार्थीलाई चीन र नेपालको विमानस्थलमा समेत स्वास्थ्य जाँच गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार, चीनबाट प्रस्थानगर्ने विमानस्थलमा विद्यार्थीको स्वास्थ्य परीक्षण हुने छ । त्रिभुवन विमानस्थलमा स्वास्थ्य परीक्षणगर्दा पोजेटिभ पाइएमा उपत्यकाका तोकिएका अस्पतालहरुमा बनाइएका आइसोलेशन वार्डमा उपचार हुने उनले जानकारी दिए । काठमाडौं, भक्तपुर र ललितपुरका मुख्य अस्पतालमा आइसोलेसन वार्ड व्यवस्थितगर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता श्रेष्ठले भने, ‘उद्धार गरि ल्याइएका विद्यार्थीलाई व्यवस्थापन गरिने ठाउँहरुको विभिन्न प्रस्ताव आएका छन । तर अहिलेसम्म टुंगो लागिसकेको छैन ।’

ललितपुर जावलाखेलस्थित स्टाफ कलेज, कीर्तिपुरस्थित आयुर्वेद तालीम केन्द्र, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तालिम केन्द्र, भक्तपुरस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बिरामी राख्ने प्रस्ताव आएको छ । यस्ता शिविरहरु वस्तीभन्दा अलि टाढा राख्ने गरि व्यवस्थापनगर्ने तयारी भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

संक्रमण नदेखिएका अन्य यात्रुलाई अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनका प्रावधान पालना गर्दै दुई साता निगरानीको लागि छुट्टै स्थानमा राखिने छ । बेइजिङस्थित नेपाली दूतावासले वूहानमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित तवरले ल्याउन फारमभर्ने सूचना जारी गरेको थियो । आइतबारसम्ममा १ सय ८० जना विद्यार्थीले स्वदेश फर्कन फारम भरेर बुझाइसकेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शनिवार बसेको बैठकले उद्धार र सुरक्षित व्यवस्थापनका लागि सम्बन्धित निकायहरुलाई थप गृहकार्य गर्न निर्देशन दिएको थियो ।

मास्क निर्यात बन्द गर्न निर्देशन
सरकारले नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन लगाइने मास्कको बजारमा अभाव हुन थालेपछि निर्यातमा रोक लगाएको छ ।
भन्सार र अध्यागमन विभागमा मास्कको निर्यातमा रोक लगाउन निर्देशन दिइसकिएको मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए ।

नेपालमा मास्क उत्पादन वृद्धिगर्न समेत औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । मास्क लुकाएर राखेको पाइएमा कारवाही गर्ने पनि उनले बताए । श्रेष्ठले भने, ‘मास्क लुकाएर कालोबजारी गरेको पाइएमा त्यसको नतिजा दुःखदायी हुनेछ । छापा मार्ने कार्य गरिने छ ।’

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री