लसताको माँ

-पुण्यसागर मरहट्टा

‘कुमाल्कोठी भन्ने एउटा कीरा हुन्छ, त्यसले हिलो माटो खोजेर ल्याउँछ र घर बनाउँछ । नेपाः भाषामा त्यसलाई खपिन्चा भन्छ रे, हाम्रो बाजेले भनेको । त्यही खपिन्चाले घर बनाउने ठाउँ भएकोले हाम्रो टोलको नाम खपिन्छें भएको रे । आज त बाजे पनि छैन, खें भायः बोल, नेपाः भायः नबोल भनेर भनेर गाली गर्ने बजै पनि छैन । माँ पनि छ भन्ने कि छैन भन्ने ? यति भनिसक्दा नसक्दै ‘क्याफे डु पाटन’को छत छेल्न एक टुक्रा बादल आयो, लसताको मिल्क टी माथि एक तहको तर जस्तो जमेछ, चिनी हाल्ने, घोल्ने चम्चाले पन्छाइन र सुरुप्प पारिन । सुरुप्पसंगै करिब करिब नसुनिने तर प्रष्ट बुझिने एउटा भित्री मनको घुँक्क थियो ।

‘बाजेले संस्कृति सिकायो, बजैले दुःख पाउला भनेर आफ्नो माँको भाषा नबोल भनेको होला । अहिले आधि संस्कृति आधि भाषा जान्नाले आफु नै आधा भयो जस्तो लाग्छ ।’ आज मैंले अन्तरवार्ता गरिरहेकी यी ३३ बर्षे यलेमैंचा (पाटने नारी) को नाम लसता अवाल । यिनको भाई लूजः अवाल । माँ मनदेवी अवाल । यिनले देखेको तर नचिनेको बा को नाम काजिमान अवाल । हजुरहरुलाई ३३ बर्षे लसतामा के देखिस् र अन्तर्वार्ता लिने निर्णय गरिस भन्ने लाग्दो हो । म त भुइँमा छरिएका कथा टिप्दै हिड्ने मान्छे, आकाशमा उडेका बतास डिब्बामा भरेर किन हिड्दो हुँ ? मलाई गल्ली, गल्छेडामा अड्केर त्यतै बिलाउन सक्ने शीतका थोपा मन पर्छन । तिनलाई समाजको तातोले पगाल्नु अघि नै कर्कलाको पातबाट हत्केलामा सारे झैं आफ्नो रेकर्डमा तिनलाई सार्नुपर्छ भन्ने सिकेको छु अनुभवबाट, त्यति मात्र हो । लसता मेरालागि त्यो शीतको थोपा हुन् । कति कथाहरु घाउका खाटा उक्काउने हुन्छन, कति खाटा बसाउने हुन्छन । शायद कुनै भने बर्षौं देखि पीप भरिएर टन्किएका तर ननिचोरिएका पनि हुन्छन । मलाई लाग्छ, यो अन्तरवार्ता त्यो पुरानो घाउ निचोर्ने कथा हो ।

कथा बंशमान अवालबाट शुरु हुन्छ । बंशमान अवाल, लसताको बाज्या यानेकि हजुरबुबा । पैतृक पेसा इँटा बनाउने भएपनि उनले कहिल्यै इँटा बनाएनन् । अन्न दिने माटो पोलेर ओत दिने इँटा बनाउन्न भनेर बिद्रोह गरे। किसानी गरे, बरु भैरव शमशेर, आनन्द शमशेरका क्याम्पामा मालीको काम गरे तर इँटा भट्टा चलाएनन् । आफ्नो संस्कृति उपर अगाध स्नेह थियो बाज्याको । आफुले सुनेका कथा कुथुन्ग्री राम्रो ढंगले सुनाउन सक्थे उनी । बाज्याले लसताको नामकरण गरेका हुन् । लसता यानेकी खुसी । नाम लसता भएपि उनलाई घरमा बोलाउने नाम मैंचा हो । तर नेपाः संस्कृतिमा मैयाँ शव्दको प्रवेश कहिले भयो ? कसरी मैयाँलाई माया गरेर चा थपियो र अन्तमा कसरी मैंचा भयो, बाज्याले पनि भनेनन, लसताले पनि जानिनन् । तथापि आफूलाई यलेमैंचा भनेर चिनाउन उनी गर्व गर्छिन्।

बज्यै अर्थात हजुरआमा, पुन्माया अवाल। काली न काली, थसुल्ली, उमेर मैं पनि डरलाग्दी देखिन्थिन होला बज्यै। बिफरले ‘गोवरमा असिना परेका जस्ता’ गाला भएपनि पुर्णिमा नाम थियो बज्यैको । मान्छेको मान्छे जाँच्ने पहिलो अस्त्र हो रुप, त्यो रुपले बज्यैलाई धोका दिएको हो तथापी बज्यैको गुणको जसले चाख्न पायो, उ धन्य भयो । ख्वा जक अथे..(अनुहार मात्र त्यस्तो) बानी, व्यहोरा त आल्कोहिटीको पानी जस्तो गुनिलो नि । भन्थे बज्यैलाई भित्रै देखि चिन्नेहरु । लसतालाई सम्झना छ अलिअलि, बज्यै राणाजीका दरबारका रानीसाहेबहरुको संगतले होला पर्वते कुरा गर्न मन पराउथिन । चालढाल पनि रानीसाहेबहरुको जस्तो गर्न खोज्थिन रे । लूजले कहिले काहीं बज्यैसँग पैसा ठग्न पर्दा ‘मूव़ा’ भनेर बोलाउँथ्यो र पाँचको साटो बीस रुपियाँ पाउँथ्यो । कति नै भयो र बज्यै बितेको ? कथा तर बाज्याको पनि होइन, बज्यैको पनि होइन । कथा त माँ र लसताको पो हो त ।

“माँ को कथा बा सँग गाँसिएर आउँछ । बा नहुँदा माँ कसरी हुन्छ र ? देउताको पालामा मात्र हुन्छ त्यस्तो जस्तो कि कुन्ती । हाम्रो माँ लाई त हाम्रो बाज्याले सुनागुथीसम्म गएर ल्याएको रे । हामी नेपालीहरुको बिहेमा पहिले पहिले दुलही लिन दुलाहा जाँदैन, दुलाहाको बाले ल्याइदिन्छ नि । अलिपछि पर्वतेहरुको सङ्गतले स्वयम्बर गर्न सिक्यो अनि मात्र दुलाहा पनि जान थाल्यो । हाम्रो बा-माँ को स्वयम्बर भएन । सिधै बाज्याले बुहारी ल्यायो अनि बालाइ जिम्मा लगाइदियो । यो अठ्तीस सालको कुरो रे । म जन्मेको थिएन नि उ बेला, अनि रे भनेको। उनले मेरो प्रश्न अघि नै जवाफ दिइन । मानौं चोरको खुट्टा काट् भन्दा उचालेझैं गरी । हामी दुवै हास्यौं । यतिखेर घुँक्क अनुभूत भएन । लसताले फेरी एकबाजी चिया सुरुप्प पारिन ।

एउटा किसानको परिवार, त्यसमाथि एक्लो छोरो मेरो बा-तल च्यासल तिर चार रोपनी खेत, खपिन्छेंको घर घडेरी, राष्ट्रिय वाणिज्य बैङ्कको जागीर । बालाई घरपायक जस्तै थियो जागिर पनि, चापागाउँ उबेला पनि दुर्गम त होइन नि । घरमा केही कचकच पनि थिएन । त्यही हो बेलाबेलामा माँ ले अलि कस्तो कस्तो ब्यबहार गर्दथ्यो । रिसाउने, झर्किने, कराउने होइन, हेर्दै डर लाग्ने जस्तो गरी मेकअप गर्ने । पुरै बिहे गर्न तयार पारेको दुलही जस्तो भन्या ल । त्यो चाहिं मैंले पनि बच्चा बेलामा देखेको, अहिले पनि सम्झना छ । अनि त्यस्तो बेलामा बाज्याले, बज्यैले, बाले कसैले भनेको टेर्दैन माँ ले। कतै कनेक्ट नै नहुने कुरा गर्छ । सुनागुथीको कुरा, ठैवको लाखेनाच हेर्न गएको कुरा, बाडेगाउँ, झरुवारासी, बुखेल कहाँ कहाँको कुरो गर्छ त्यस्तो बेला ।

एकदिन त बा अफिसबाट आउँदा माँ मेकअप गरेर ‘ल आज मनकामना आमाले बोलायो, आज जानैपर्छ’ भनेर ढिपी गर्‍यो । भनुँ न, झगडै गर्‍यो । उ बेला अचेल जस्तो प्राइभेट गाडी पनि छैन उतिसारो । बाले मानेन होला । अलिअली रुवाबासी भएको सम्झना छ मलाई । म त्यो बेलामा आदर्श कन्या निकेतनमा एक कक्षामा भर्ना भइसकेको थिएँ । बाले भ्याउन्दैन इस्कुल पुर्‍याउन अनि बाज्याले आफ्नो साइकिलको डन्डीमा सानो सीट हालेको थियो, त्यसमै बसाएर लान्छ । मलाई त अहिले पनि बाज्याको साइकिलको त्यो सिट बिझाउँछ भने-फेरी एकपल्ट मैंचा उन्मुक्त हाँसिन ।

बा-माँहरु त्यसपछि भोलिपल्ट बिहानै मनकामना त गए कि गएनन्, घरबाट गए । किन हो, लूजलाइ पनि लगेनन् । जबकी लूज त्यो बेलामा डेढ बर्षको छ कि ? माँको दुध खाँदै गरेको हुनुपर्छ । उनीहरु केहि दिन पछि फर्केर आए । स्थिति सामान्य भयो, कुरो सकियो त्यो बेलाको । तर एकदिन अफिसबाट आउने बेलामा बा आउनु भएन । बाज्याले एउटा ठिकैको रंगिन टिभी (स्यान्यो जस्तो लाग्छ) किनेको थियो । म होमवर्क गर्दै थिएँ टिभी अगाडी बसेर, लूजलाई कम्मरमा बोकेर माँ आएर बज्यैलाई भन्यो-‘व छें मवल नि माँ’, कहाँ गइराखेको होला यो बेला सम्म ? खोज्न जानुपर्ने हो कि ? बज्यैले पनि सामान्य हिसाबले हुर्के बढेको जागिरे छोरो खोज्न म कहाँ जाने ? आइहाल्छ होला नि । चिन्ता नगर भनेको सुनेको हो मैंले । तर, अचम्म त्यो रात बा आउनु भएन । चार दिनपछि बज्यैले निकै खोजखबर गर्नुभयो । आफुले चिनेजानेका ठुला मान्छे, पुलिसका हाकिम, बैंकका हाकिम, नेता, सबैकहाँ हारगुहार गर्नुभयो । अहँ, केहि पत्ता लागेन । त्यसको एक महिना पछि बा आउनुभयो । घरमा बाज्या सिकिस्त बिरामी छ भन्ने थाहा पाएर होला कि ? एकाएक लसताका आँखा आँशुले भरिए । लामो कुरो गरिनन् । शायद त्यसै छेक बाज्या बितेका हुनु पर्छ । त्यो सन्नाटा चिर्न एउटा भँगेरा रुफ टप रेस्टुरेन्टको प्यारापेट वालमा बुरुक बुरुक गर्दै चिर्बिरायो ।

बज्यैको रवाफ, माँ को अस्वाभाविक ब्यबहार र बाको मौनतासँगै म हुर्कँदै थिएँ, भाई हुर्कंदै थियो । एकदिन बाज्या बित्ने बेलाताका जस्तै बा अफिसबाट घर आउनु भएन । यो चाहिं त्रिपन्न सालको कुरा हुनुपर्छ । म त्यो बेलामा सात कक्षा पढ्ने भैसकेको थिएँ । यो बेला पनि बज्यैले निकै खोजखबर गर्नुभयो । आफुले चिनेजानेका ठुला मान्छे, पुलिसका हाकिम, बैंकका हाकिम, नेता, सबैकहाँ हारगुहार गर्नुभयो । अहँ, केही पत्ता लागेन । फरक यति थियो हिजो केशरबहादुर बिष्टसँग खोजखबर गर्नुभयो, यो बेलामा सिद्धीलाल सिंहसित । बा भेटिनुभएन । बा आउनु पनि भएन त्यसपछि । मान्छे केही सीप नलागेपछि ‘हेराउन’ जान्छ । यतिखेर त म सात क्लास पढ्ने भैसकेको थिएँ, म जान्थें, के भैराखेको छ भन्ने ? भाई पनि अब टु क्लास पढ्ने भैसकेको थियो ।

हाम्रो परिवारमा एउटा झारफुकेले एउटा आशाको त्यान्द्रो फालिदिएको थियो । छपन्न सालको असार नौं गते काजीमान घर आउनेछन । आशा जीवनमा त्यस्तो जडी तत्व हो जसले बाँच्न प्रेरित पनि गर्छ, बाध्य पनि गराउँछ । हामी त्यही आसले बांचिरह्यौं बिशेषतः बज्यै, तर त्यो मिति आयो, बा आउनु भएन । त्यो मितिले हाम्रो परिवारमा ठूलो बज्रपात पो भयो । भाकल गर्ने, पुजा गर्ने, हेराउने, झारफुक गर्ने सबै काम गरेर थकित भएको बज्यै त्यो मितिदेखि सिकिस्त हुनुभयो । त्रिसठ्ठी सालमा बज्यै जाने दिन हुनुपर्छ, माँ ले फेरी असामान्य ब्यबहार देखायो ।

उही त्रासद मेकअप, नव दुलही जस्तो । आज पनि माँ ले फेरि रातो सारी, चुरा, पोते, तिलहरी, रातो लिपिस्टिक लाएछ । अब मेरो इकोनोमिक्सको एक्जाम के हुनेहोला ? हेत्तेरी ! मेरो मुखबाट अनायास यो वाक्य निस्कियो । अबोध लूजः आँखाभरी आँशु बनाएर मलाई हेरीरह्यो । बज्यैको निस्प्राण शरीरलाई हामीले त्यसैरात गुठियारहरुको रोहवरमा सद्गत गरिदियौं ।

अब घरको रखवाला मैं भएं । मेरा परिक्षा, रिजल्ट, पढाई, मेरा यौवन माफीकका फूर्तिफार्ति, बदमासी, रमाइला सबै सिथिल भए । अब म सँग हुर्किंदै गरेको भाई थियो र दिइँदै गरेकी मलाइ जन्म दिने तर मेरो कर्मले बनाएकी एक प्रौढ अवस्थाकी मेरी छोरी जसलाई मैंले आज पर्यन्त माँ भन्ने गरेकी छु । माँ लाई आजकल आफ्नै होस् छैन । सुद्दीबुद्धी छैन । लुगा फ़ेराइदिनु पर्छ । खाना खुवाइदिनुपर्छ । नुहाइदिनुपर्छ । दिसा पिसाब गराइदिनुपर्छ । माँ को चालढालमा कत्ति पनि परिवर्तन छैन । जे परिवर्तन छ, मेरोमा छ, भाइकोमा पनि छ । माँ त बर्षमा १० महिना सद्दे हुँदैन, अवचेतनमा आफू बिधवा भएको त्रासले हो कि कुनैबेलाको अव्यक्त चाहले हो ? अचेल पनि माँ त्यसै डरलाग्दो मेकअप गरी गर्छ । हाम्रो संस्कृतिमा इही गरेको नारी कहिल्यै बिधवा हुँदैन । तर, कताकता बज्यैले पर्वतेको सङ्गतले घुसाइदिएको सधवा र विधवाको पराया कुरोले हो कि जस्तो पनि लाग्छ, माँ  बिधवा हुन मन पर्दैन । विधाताले मलाई र मेरो माँ लाई जस्तो द्विविधा कसलाई दियो होला र ? के म र लूज अनाथ हौँ ? टुहुरा हौँ ? हाम्रो माँ बिधवा हो ? होइन भने हरेक पल हामीले मेरो इकोको, म्याथको, इङ्लिसको नेपालीको भन्दा कडा एक्जाम दिरहनु परेको ?

खोइ बा भन्दा पनि किन चाहियो र भन्ने लाग्छ मलाइ अचेल ? यही कालखण्डमा नेपालमा ठूलो राजनैतिक द्वन्द्व भयो । क्ँेह्लिाई राज्यले बेपत्ता बनायो, कसैलाई विद्रोहीले । हाम्रो बा न बिद्रोही थिए न राज्य, सिर्फ उनी त बैंकको साधारण सुब्बा सरहको कर्मचारी । कसले हाम्रो बालाई बेपत्ता बनायो ? अब त मलाई त्यो सोच्ने जाँगर समेत छैन । अलि अघि हरिद्वार तीर्थयात्रा गर्न गएको कोन्तिको माँ पुचः को तरिमाया तताजुले भनेको पत्याउने हो भने त हाम्रो बा त जोगी भएर बसेको छ रे । उनीहरुले चिन्ला भनेर भाग्यो रे । मलाई लाग्यो- होस्, भए होस् । त्यसको स्वास्नीको माया लाग्दैन भनेपनि छोरा र छोरी के गरेर बसेको होला भनेर पनि त आउन सक्छ नि ? सक्दैन भने पनि मलाइ छु मतलब ? जीवनको करिब छब्बीस बर्ष मैंले बा नभएर गुजारें, झन्डै तेह्र बर्ष माँ को आमा भएर गुजारें, भाइको अभिभावक भएर गुजारें भने अब मलाई त्यो बा आए पनि, जोगी भएपनि, मरेपनि केहि फरक पर्ला र ? आफ्नो ठाने पो आफ्नो हुन्छ, बच्चा त कुकुरले पनि पाउँछ नि । लसता एक सिर्को बर्सिन । त्यसपछि फेरी मिल्क टी सुरुप्प पारिन । एकछिन फेरी सन्नाटा छायो ।

एक महिना अघिको कुरा हो। माँ अकस्मात फेरी नवदुलही बन्यो । उही त्रासद मेकअप, रातो न रातो साडी, ठुलो रातो टिका, गहनाले जगमग । अचम्म लाग्छ, अरुबेला पुरै बेडमा हुन्छ माँ, तर जब उनलाई बेहुली बन्ने भूत स्वर हुन्छ, सबै आफैं गर्छ । मलाई लाग्दै थियो फेरी के अनर्थ हुने हो घरमा आज । खै अनर्थ भयो कि भएन, थाहा भएन, लूजले मलाई एसेमेस पठायो- मेरो पिआर आयो दिदी । अब च्यासलको बाँकी भएको दुइ रोपनी मध्ये एक रोपनी जग्गा बेच्नुपर्ने भयो। बेचियो पनि, उ गयो पनि । अब त माँ को म र मेरो माँ मात्र बाँकी रह्यौँ । गहिरो उच्छवाससँगै लसताले यो प्रसंग तोड्दै भनिन् । कालो अस्कोट र भादगाउंले लगाएको दाप्चा तिरको तामाङ्ग जस्तो लाग्ने बेराले आएर सर, अरु केही ल्याऊँ कि भनेर नसोधुन्जेल एकतमासको गरुङ्गो बातावरण थियो, मैले भने, होइन अब त निस्किन्छौँ पनि होला । उ गयो ।

यतिखेर मैंले मौका छोपें र सोधें-लसताजी, तपाईं स्तुत्य त हुनुहुन्छ नै । तपाईंले भोगेर उठे जस्तो जति अप्ठेरोमा म भए त किचिइसक्ने थिएँ तर पनि तपाइंको अनुभवले खारिएको ज्ञानले के भन्छ त ? माँ लाई भएको के हो ? उनले भनिन-स्तुत्य स्तुत्य केही होइन । परेपछि गर्छ मान्छेले । मैंले गरेको त्यहि हो । चाहना त थियो नि क्वालखुको सुरेनचाको पल्सरमा बसेर धूलिखेल नगरकोट जाने, अथवा पिम्बहाः को नानीशोभासँग बैशाख पुर्णिमामा बालाजु नुहाएर जामाच्वः जाने, चाहना मात्र जीवन होइन, चाहनासँग सम्झौता गर्न सक्नु पर्ने रहेछ । हेर्नुस् बन्धु, बैधव्य, कौमार्य, चाहना, इच्छा, यी त्यस्ता कुरा हुन् जसले जो कोहीलाई पनि द्रविभूत बनाइदिन सक्छन । शायद माँलाई त्यस्तै कुनै मानसिक अवसाद थियो जसले हरप्रहर लखेटिरहेको थियो ।

हुनसक्छ, स्वयम्बर नै नगरी भित्रिएकी मेरी माँ लार्इ कसैले सोधेन- तिमी सुनागुथीबाट खपिन्छें जान तयार छौ ? कसैले उनलाई शायद सोधेन-तिमीलाई दुलही बन्दा कस्तो लुगा लगाउने रहर छ ? अथवा, अझ गाढा प्रश्न त कसैले सोध्दै सोधेन-तिमी काजिमान अवालको जहान भएर बाँच्न मन्जुर छ ? म नजन्मेको बेला देखि म बुढी कन्या हुन्जेलसम्म मेरो माँ लाई सधैं यही प्रश्नले कुटुकुटु खान्छ शायद, त्यसैले, जुन दिन त्यो बिद्रोहले सोचाईबाट गराइको हद छुवाउछ, माँ फेरी बेहुली बन्छ । एकबाजी सुनागुथी जाँदा माँ को बच्चा बेलाको साथी शर्मिला आन्टी भेट भएको थियो । शर्मिला आन्टीको ठुलोबाको छोरा बिनोद थापाको कुरा गर्‍यो कि मसक्क हुन्थ्यो रे हाम्रो माँ । होला नि त, मलाई पनि पहिले पहिले सुरेन्चाको पल्सर सम्झेर नै कस्तो मजा आउछ । अहिले पो सुरेन्चा पनि हेर्दैन त, उबेला त कस्तो पच्छ्याउछ नि ? त्यस्तो हुन्छ, सबैलाई हुन्छ जस्तो लाग्छ ।

तर कोही व्यक्त गर्न सक्छ, बोल्छ, झगडा गर्छ, कोही मन मनमा पाक्छ अनि कुहिन्छ । मैंले त भन्ने मौका नै पाएन, भन्न सक्ने बेलामा जे भयो, त्यस परिस्थितिले भन्ने ठाउँ नै दिएन । पछि समय नै रहेन । बरु लूजको बिहे भयो, उसले सानेपाको बिष्टसँग बिहे गर्‍यो । खुशी छ उनीहरु। यति भनि सकेर लसता उठिन । मैंले पनि उठ्दै सोधें-कतै आफैंले आफैंलाई ढाँटी त रहनुभएको छैन तपाईं ? समय छ तपाईंसंग, बिहे गर्नुहोस लसताजी । जवाफ मुखैमा थियो उनको- मैंले बेलसंग बिहे गरिसकेकी छु । थप बहस नगरौं-मेरो माँलाइ पिसाब गराउने बेला भयो । उनी हतार हतार क्याफेको छतबाट ओर्लिन, मैंले बेरालाई बिल ल्याउन इशारा गरें ।

बिल तिरेर गाबहालको छेड़ोमा पार्किङ्ग गरेको मोटरसाइकल लिन पुगुञ्जेलसम्म मैले सोचें-समाजमा कोही छोरी आमा बन्न बाध्य हुन्छन, कोही आमा छोरी । धेरै तर शीतको थोपा जस्तै समाजको तातोले पग्लिन्छन । शायद जगतको रीत यही हो । तर कोही लसता जस्ता पनि हुन्छन जो मोती बन्न काबिल हुन्छन त हुन्छन तर त्यसका लागि कर्कलाको पातको पानी टिपिदिने जस्तो हात चाहिन्छ । एउटा पत्रकारको नाताले मैंले यो हात बन्ने एउटा जमर्को गरेको मात्र हुँ। अब बिनोद थापा खोज्न निस्कन्छु । माघको साँझ आज अनायास मीठो घाम लाग्यो ।
फेब्रुअरी २-२०२०

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री