भैरहवाको सेजमा समस्यै समस्या

भैरहवा । बिशेष सुविधाहरु लिने उद्देश्यले भैरहवा स्थित बिशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएको ब्रिलियन्ट लाइटिङ्ग इन्डष्ट्रिज प्रालीको भारतबाट आयात हुँदै गरेको कच्चा पदार्थ भैरहवा भन्सार कार्यालयले रोकेको १२ दिन पुगेको छ ।

कच्चा पदार्थलाई भैरहवा भन्सारले तयारी बस्तु भएको भन्दै २० प्रतिशत कर लगाउन खोजेको उद्योगीहरुको गुनासो छ । यस्तै कच्चा पदार्थ आयत गर्दा ‘ड्यूटी फ्रि’ र भ्याटलगायतको समस्यामा पनि सेजले सहजीकरण गर्न नसकेको उद्योगीहरुको आरोप छ ।

सेजमै स्थापना भएको विस्तार ग्लोबल प्रालीले उत्पादन गरेर निर्यात सुरु गरेपनि त्यसमा पनि उस्तैखाले समस्याहरु देखिएका छन् । सेजमा तौल गर्ने धर्मकाँटा भएपनि त्यो संचालनमा आउन सकेको छैन । यसले निर्यातजन्य पदार्थहरुलाई सेज बाहिर तौल गर्न पठाउनुपर्ने बाध्यता छ । तौल गर्न लैजाँदा सुरक्षाकर्मीले रोक्ने गरेको उद्योगीहरुको अर्को महत्वपूर्ण समस्या छ ।

विद्युतको समस्या उस्तै छ । सेजमा विद्युत सब–स्टेशनको टेन्डर खुलाउने तयारीमै जुटेको तीन बर्ष भएको छ । उद्योगीहरु अहिले पनि जेनेरेटरकै भरपर्नु परेको छ । बिशेष आर्थिक क्षेत्रमा स्थापित उद्योग वा लगानीकर्तालाई एकै स्थानबाट सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित निकायमा इकाइ स्थापना सेजमै गर्ने बिशेष आर्थिक क्षेत्र ऐन २०७३ मा ब्यवस्था छ । तर अहिले अन्य कार्यालय स्थापनाको कुरै छाडौं सेजकै कर्मचारीहरु प्रयाप्त छैनन् ।

यी त नीतिगत ब्यवस्थामा देखिएका समस्याहरु हुन । उद्योग स्थापनाको लागि आधारभूत आवश्यकताहरु पनि सेजले पुरा नगरेको उद्योगीहरुको गुनासो रहेको छ । सेज परिसरमा भएको झाडीहरुमा बिषालु सर्पदेखि जंगली जनावरहरुसम्म पाइने गरेको छ । बिद्युतका पोलमा बत्ती त छन तर ती कहिल्यै बल्दैनन । सेजको आफ्नै पेट्रोल पम्प र धर्मकाँटा छन् तर घाँसैघासले छोपिएका छन । खानेपानीको ब्यवस्था उस्तै छ ।

पूर्णतया भारतीय लगानीमा स्थापित भएको विस्तार ग्लोबल प्रालीका ब्यवस्थापक निपूण जैनले सेजको लागि गरिएको परिकल्पना अनुसार कुनै पनि शर्तहरु पूरा नभएको गुनासो गरे । उनले सेजको आधारभूत आवश्यकता समेत पूरा नगर्दा आफूहरुले दुःख पाएको बताए । सेज अहिले संचालनकै प्रक्रियामा रहेको कारण बिस्तारै सबै सेवा सुविधा थपिदै गइरहेको बिशेष आर्थिक क्षेत्र प्राधिकरण, नेपालका प्रवक्ता सुन्दर थापाको भनाई छ ।

बिशेष सुविधासहित मुलुकमै पहिलो सेजको रुपमा स्थापना भएपनि आशतित कार्य नगर्दा अहिले सेजप्रति उद्योगीहरुको चासो घट्दै गइरहेको छ । आधारभूत आवश्यकता एवम सेजले परिकल्पना गरेको एकद्धार प्रणाली लगायतको सेवा दिन नसकेको कारण उद्योगीहरु सेजमा उद्योग स्थापना गर्न हच्किरहेको उद्योगीहरुकै गुनासो रहेको छ ।

६९ वटा प्लट रहेको सेजमा स्थापना हुने उद्योगले आफ्नो उत्पादनको ६० प्रतिशत विदेश निकासी गर्नै पर्ने प्रावधान छ । यस्ता उद्योगहरुलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ । यस्तै सेजमा आउने कच्चा पदार्थको लागि भन्सार महशुलमा समेत छुटको ब्यवस्था रहेको छ । सेजमा अहिले शक्ति मिनरल्स, ब्रिलियन्ट लाइट, विस्तार ग्लोबल प्राली र जय बुद्ध मेटर क्राफ्ट प्राली गरि ४ वटा उद्योग संचालनमा रहेका छन् ।

टिप्पणी थप्नुहोस्