रहेनन् दुर्गानाथ शर्मा: आर्यघाटमा अस्तायो ‘विश्व घटना’

काठमाडौं । नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक तथा बरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको हो । उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट ग्रसित थिए ।

नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहेका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक थिए । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उनी पहिलो प्रस्तोता थिए । टेलिभिजनमा समाचार बाचक र ‘विश्व घटना’ कार्यक्रम चलाएर उनले आफ्नो उचाइ बनाएका थिए । त्यसबेला ‘विश्व घटना’ कार्यक्रम निकै चर्चित मानिन्थ्यो ।

उनी टेलिभिजनका अगुवाका रुपमा चिनिन्थे । उनी रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसकेका छन् । इलामको सूर्योदय नगरपालिका फिक्कलमा जन्मिएका शर्माको श्रीमती र दुई छोरा छन् । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आएका थिए ।

उनी पछिल्लो समय विभिन्न पत्रपत्रिकामा लेख रचनाहरु लेख्दै आएका थिए । उनको निधनप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले एक विज्ञप्तिमार्फत श्रद्धान्जली ब्यक्त गरेको छ । महासचिब बालकृष्ण अधिकारद्वारा जारी विज्ञप्तिमा एक अग्रणी पत्रकार तथा नेपालको टेलिभिजन पत्रकारिताको इतिहासमा अनुभवी अभिभावक गुमाएको उल्लेख छ ।

साहित्यकार डा. तारानाथ शर्मा, चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा, इन्जिनियर पुष्पनाथ शर्मा उनका दाजुभाई हुन । उनको पार्थिव शरीरलाई बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

टिप्पणी थप्नुहोस्