एक सय एक जोडीको निःशुल्क विवाहका लागि महायज्ञ

भैरहवा । दाईजो एवम बालविवाहबाट ग्रसित मधेशी समाजमा दाईजोरहित तथा बालविवाह मुक्त विवाहबारे जनचेतना फैलाउने उद्देश्यका साथ मर्चवारमा सामुहिक विवाहको आयोजना हुने भएको छ ।

मर्चवारको म्मरीमाई गाउँपालिका–५ रोइनिहवामा एक सय एक जोडीको निशुल्क विवाह गर्ने उद्देश्यसहित निरामय एवम जगत कल्याणर्थ महामृत्युन्जय मन्त्रजाप एवम रुद्राभिषेक यज्ञ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सामुहिक विवाहबारे जानकारी दिएका छन् ।

फागुन ३ गतेदेखि सुरु हुने यज्ञमा १ सय १ जोडीको विवाह गर्ने लक्ष्य राखिएका आयोजकले बताए । आयोजकका तर्फबाट स्थानिय अशोक तिवारीले दाईजोरहित एवम बालविवाह मुक्त सामुहिक विवाहको आयोजना गर्ने बताए ।

उनले यसको लागि दुई लजोडी हिन्दु तथा एक जोडी मुस्लिम समुदायका बरबधु सम्पर्कमा समेत आईसकेको बताए । फागुन ८ गते हुने उक्त विवाह क्षेत्रकै नमूना विवाहको रुपमा हुने आयोजकले दावी गरेका छन् । हिन्दुहरुको विवाहको लागि भारतको अयोध्याबाट तथा मुस्लिम समुदायको स्थानिय मौलानाहरुद्धारा बिवाह बिधी सम्पन्न गरिनेछ ।

विवाहमा आयोजकका तर्फबाट नै एक थान पलङ्ग, दराज, बाकस, मेच आदि दैनिक उपभोगका घरायसी सामाग्री प्रदान गरिने छ । यस्तो सामाग्रीको लागी स्थानिय दाताहरु समेत तयार गरिएको आयोजक समितिका अध्यक्ष बंश गोपाल पाठकले जानकारी दिए । आदर्श एवम मर्यादाको स्थापनासंगै नारी सम्मानको लागी सचेतना र प्रकृति र संस्कृतिको रक्षाको लागी यज्ञ आयोजना गरिएको स्थानीय अशोक तिवारीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभा सदस्य अष्ठभुजा पाठकले यस्तो नमूना सामुहिक विवाह कार्यक्रम देशमै नमूना योग्य हुने बताए । उनले हिन्दु र मुस्लिम समुदायको बर बधुको विवाह एउटै मण्डपमा आयोजना हुनु नै यस क्षेत्रमा रहेको धार्मिक सहिष्णुताको नमूना योग्य रहेको सन्देश दिने जिकिर गरे ।

फागुन ३ गते देखी साताब्यापी रुपमा हुने यज्ञमा १ लाख २५ हजार महामृत्युञ्जय यज्ञ, रामनाम लिखित ११ हजार वटा बेलपत्र अर्पण, सातै दिन रुद्राभिषेक, सन्त भण्डारा, सामुहिक विवाह एवम भण्डारा तथा प्रसाद ग्रहण कार्यक्रम रहेको सम्मरीमाई गाउँपालिका– ६ का वडा अध्यक्ष श्रवण कुमार यादवले बताए ।

टिप्पणी थप्नुहोस्