ताल प्रवद्र्धनका लागि महोत्सव

-राधेश्याम विश्वकर्मा

भैरहवा । गौतम बुद्धकै जन्मस्थल लुम्बिनी नजिकै रहेपनि ओझेलमा परेको गैडहवा ताल प्रवद्र्धनको लागी गाउँपालिकाले प्रयास सुरु गरेको छ ।

लुम्बिनी आउने बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षितगरी गैडहवा गाउँपालिकाको आयोजनामा फागुन १ गते देखि पहिलो गैडहवा ताल महोत्सवको आयोजना हुँदैछ ।

गाउँपालिकाकै प्रमुख गन्तब्य स्थान भएपछि गैडहवा गाउँपालिका अहिले गैडहवा ताल संरक्षण अभियानमा जुटेको छ । तालमा भएका झार फालेर अहिले ताल सुन्दर बनाईएको छ । यति मात्र हैन पर्यटकलाई लोभ्याउने गरी तालमै चारवटा डुङ्गाको माध्यमबाट डुङ्गा शयरको पनि ब्यवस्था मिलाइएको छ ।

लुम्बिनी आउने पर्यटकलाई ताल घुमाउने उद्देश्य सहित गैडहवा गाउँपालिकाले सिमसार क्षेत्रमा सूचीकृत र मानव निर्मित तालको जानकारी दिन र पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले बताए । लुम्बिनी आउने पर्यटकलाई लक्षित गरि जल पर्यटनको प्रयास थालिएको केवटले बताए । यहाँबाट १२ किलोमिटर र जिल्ला सदरमुकाम भैरहवाबाट करिब ३० किलोमिटरको दूरीमा छ ।

गाउँपालिकाका प्रमख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले अहिले तालको गुरुयोजना बनाई संघ, प्रदेश र स्थानियको लगानी लगाउने प्रयास भै रहेको बताए । यसको लागी डिपिआर समेत तयार भई सकेको छ । यसमा करिब ४० करोड खर्च अनुमान भएको उनले जानकारी दिए । गुरुयोजनामा बहुउद्देश्यीय हल, पानीका फोहरा सहितका आकर्षक पार्क, तालको चारैतर्फ बाटो, फुटपाथको परिकल्पना गरिएको उनले बताए ।

०२० मा स्थानीय बलिराम यादवले ताल बनाएका थिए । ८४ बिघा क्षेत्रफलमा फैलिएको तालको ५० बिघा जलाशय क्षेत्र छ । पर्यटन मन्त्रालयले गरेको अध्ययनअनुसार तालमा २ सय प्रजातिका चराचुरुंगी पाइन्छन् । घस्रने प्रजातिका २० छन् । नेपालका अन्य ठाउँमा नपाइने इन्डियन आई टटल पनि तालमा पाइन्छ ।

तालको उत्तरपट्टि जटायु रेस्टुराँ छ । त्यसमा हिमाली गिद्ध, सुन, राज, सानो खैरो, खैरो, गोब्रे लगायत लोपोन्मुख गिद्ध संरक्षण गरिएको छ । धार्मिक मात्रै होइन, लुम्बिनीमा अध्ययन र मनोरञ्जनका लागि आउने पर्यटकहरुका लागी पनि सम्भावन बोकेको स्थल हो ।

ताललाई तीनतिरबाट जंगलले घेरेको छ । तालको संरक्षण संगै यहा गर्मी र कोलाहल छल्न जाने आन्तरिक पर्यटक बढ्नेछन् । ताल आसपासमा चौधरी र मगर बस्ती छ । यी बस्तीलाई होमस्टे बनाउने अर्को योजना छ । पर्यटकलाई गाउँमै बास बसाल्न र बसाइँ अवधि बढाउन गाउँपालिकाले यस्तो योजना अघि सारेको छ ।

टिप्पणी थप्नुहोस्