कोरोनाको प्रभावले चीनमै रोकिए कामदार

-राधेश्याम विश्वकर्मा

भैरहवा । चीनबाट फैलिएको कोरोना भाइरसको प्रभाव भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थललाई पनि परेको छ । कोरोनाकै कारण अहिले जुन गतिमा बिमानस्थल निर्माण हुनुपर्ने त्यो गति लिन नसकेको बिमानस्थल निर्माण परियोजनाले जनाएको छ ।

विमानस्थल निर्माणको लागी आवश्यक प्राविधिक जनशक्ति चीनबाट आउन नसक्दा विमानस्थलमा उपकरण जडानको काम प्रभावित भएको छ । निर्माणको अन्तिम चरणमा रहेको बिमानस्थल कोरोना भाईरसको प्रभाव यस्तै रहने हो भने थपिएको म्याद भित्र सम्पन्न गर्न कठिनाई आउन सक्ने आयोजनाको भनाई छ ।

आईसीबी–२ अन्र्तगतका करिब ९५ प्रतिशत उपकरण तथा आईसीबी–१ अन्र्तगतको ८५ प्रतिशत बढी समान आइसकेको छ । दक्ष प्राविधिक जनशक्तिकै अभावमा सो उपकरणहरु जडानमा चुनौति थपिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले जम्मा १ सय ८५ जना कामदारले निर्माणको काम गरिरहेका छन् । ४० जना चिनियाँ कामदारको टोली अहिले फिल्डमा हुनु पर्नेमा २० जना मात्र रहेकोले उपकरण जडानमा समस्या देखिएको छ ।

यसको साथै चीनबाट आयात गर्नुपर्ने उपकरणहरु ल्याउन चुनौती थपिएको विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीले बताए । उनले अहिले चीनबाट हवाई उडान हुन नसक्दा रनवेमा प्रयोग हुने केही बत्ती तथा ब्यागेज ह्याण्डिलिङ्ग सिस्टम आउन नसकेको बताए ।

३१ डिसेम्बर २०१४ मा काम शुरु भएको आयोजनाको सूरुवाती चरणमा केही ढिलो भए पनि पछिल्लो २ वर्षमा गति लिएको छ । बिमानस्थलको रनवेको काम करिब सकिएको छ । यस्तै एप्रोनको काम पनि सकिएको छ भने फिनिसिंङ्गको काम ४ प्रतिशत मात्र बाँकी रहेको छ ।

विमानस्थल सुदृढीकरण कार्य आयोजना इकाई रुपन्देहीका प्रमुख प्रवेश अधिकारीले भने आयोजना अहिले पनि थपिएका म्यादमा सकिने संभावना रहेको बताए । उनले मार्चको मध्य सम्म पनि चीनबाट आउने समान र जनशक्ति आउन सके पनि मार्चको अन्तिम सम्ममा बिमानस्थललाई आवश्यक संचालन योग्य भौतिक संरचना तयार गर्न सकिने दावी गरे ।

यसअघि ३ पटक म्याद थप गरी सकेको विमानस्थलले चौथो पटक मार्च ३१ २०२० सम्मको लागी पुनः म्याद थपिएका छ । सरकारले ६ अर्ब ८२ करोड रुपैयाँमा ‘आइसिबी–एक’ अन्तर्गत विमानस्थलको ३ हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो । यस्तै आईसिबी–२ अन्र्तगत बिमानस्थलमा जडान हुने उपकरणहरुका लागि ५० करोड बिनियोजन भएको छ ।

टिप्पणी थप्नुहोस्